२६ जेठ, काठमाडौं । एथ्लेटिक्सको १० हजार मिटरको महिला दौडमा विश्व कीर्तिमान दुई दिनमै तोडिएको छ ।
इथोपियन धाविका लेटेसेनबेट गिडेले मंगलबार नयाँ विश्व कीर्तिमान बनाएकी छिन् ।
ओलम्पिक ट्रायल अन्तर्गतने दरल्यान्ड्सको हेन्गेलोमा मंगलबार भएको दौडमा उनले २९ मिनेट ०१.०३ सेकेण्डको समयमा निर्धारित दूरी पूरा गर्दै दुई दिनअघि नेदरल्याण्ड्सकी सिफान असनले बनाएको कीर्तिमान भंग गरेकी हुन् ।
सिफानले आइतबार त्यही ट्रयाकमा २९ मिनेट ०६.८२ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।
२३ वर्षीय गिडेले विश्व कीर्तिमान बनाउने आशाका साथ दौडिएको बताइन् । ‘म विश्व कीर्तिमानको अपेक्षासहित दौडिएको थिएँ । म फेरि विश्व कीर्तिमान तोड्ने चाहन्छु र २९ मिनेटको कीर्तिमान बनाउँछु,’ उनले भनिन् ।
उनी इनग्रिड क्रिस्टिएनसेनपछि ५ हजार १० हजार मिटरमा विश्व कीर्तिमान बनाउने पहिलो महिला खेलाडी हुन् । नर्वेकी क्रिस्टिएनसेनले १९८६ देखि १९९३ सम्म उक्त कीर्तिमान बनाएकी थिइन् ।
लेटेसेनबेटको नाममा ५ हजार मिटरको दौडमा समेत कीर्तिमान रहेको छ । उनले गत वर्ष स्पेनको भ्यालेन्सियामा ५ हजार मिटर दौड १४ मिनेट ०६.६२ सेकेण्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।
उनले सन् २०१९ मा दोहामा भएको वर्ल्ड च्याम्पियसिपमा रजत जितेकी थिइन् ।
प्रतिक्रिया 4