Comments Add Comment

एसियन कप छनोट खेल्न उत्साहित छौं : प्रशिक्षक फिलिप्स

११ असार, काठमाडौं । एफसी महिला एसियन कप फुटबलको छनोट खेललाई लिएर नेपाली महिला टिम उत्साहित देखिएको छ । नेपाली महिला टिमका प्रशिक्षक ग्यारी फिलिप्सले छनोट खेललाई लिएर टिम उत्साहित रहेको बताएका हुन् ।

‘हामीले एसियन कप क्वालिफायरको ड्र देखिसक्यौं । यसबाट हामी उत्साहित छौं र आयोजना गर्न पाउँदा पनि उत्साहित छौं,’ अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको भिडियोमा फिलिप्सले भनेका छन् ।

एन्फाले गत फागुनमा फिलिप्सलाई महिला टोलीको प्रशिक्षक नियुक्त गरेको थियो ।

एएफसीले बिहीबार सार्वजनिक गरेको ड्र अनुसार नेपाल समूह एफमा परेको छ । यो समूहमा नेपालसहित हङकङ र फिलिपन्स रहेका छन् ।

छनोट चरणको खेल आगामी सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछ । छनोटमा २८ टिमलाई ८ समूहमा विभाजन गरिएको छ भने हरेक समूहका विजेता एसियन कपका लागि छनोट हुनेछन् ।

समूह एफका खेलहरु नेपालमै हुने भएकाले पनि आफूहरु थप उत्साहित बनेको फिलिप्सले बताए । उनले अगाडि भने, ‘हाम्रो लागि समूह विजेता बन्ने ठूलो अवसर छ र एसियन कपमा छनोट हुने अवसर पनि छ । यसो भए नेपाली फुटबलका लागि ऐतिहासिक क्षण हुनेछ ।’

नेपालको समूहमा रहेको दुई टोलीको वरीयतामा दुई टोलीमाथि रहे पनि आफू कन्फिडेन्ट रहेको फिलिप्सले बताए । ‘दुवै टोली फिफा वरीयतामा माथि छन्, तर हामी यस खेललाई लिएर कन्फिडेन्ट छौं,’ उनले भने ।

फिलिपिन्स ६८औं र हङकङ ७६औं स्थानमा छ भने नेपाल वरीयतामा १०१औं स्थानमा छ ।

फिलिप्सले प्रशिक्षक नियुक्त भएपछि नै नेपालमा युवा र क्षमतावान् खेलाडीहरु रहेको भन्दै एसियन कपमा छनोट हुने सम्भावना रहेको बताएका थिए । आयोजक भारतपछि पछिल्लो संस्करणमा शीर्ष तीन टोली जापान, अष्ट्रेलिया र चीन सीधै छनोट भइसकेका छन् ।

फिलिप्सले पुरुष टिमले कुवेतमा विश्वकप र एसियन कप छनोटमा गरेको प्रदर्शनबाट आफू प्रभावित भएको समेत बताए । उनले भने, ‘त्यो खेलले हाम्रो गल्र्सलाई पनि अर्को लेभलमा खेल्न प्रभावित गर्छ ।’

नेपालले यसअघि तीन पटक एसिया कप खेलिसकेको छ । सन् १९८६ मा पहिलो पटक सहभागिता जनाएको नेपालले १९८९ र १९९९ मा पनि एसियन कप खेलेको थियो र तर एक खेल पनि जित्न सकेको थिएन ।

एन्फाले महिला राष्ट्रिय लिगपछि नै उत्कृष्ट खेलाडीहरु छनोट गरेर गत चैतमा प्रशिक्षण सुरु गर्ने जनाएको थियो । तर कोरोना महामारीका कारण प्रशिक्षण हुन सकेन । एन्फाले अब छिट्टै महिला टिमको प्रशिक्षण समेत सुरु गर्ने योजना बनाएको छ ।

लिगमै घाइते भएकी नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारीले भने चोटका कारण घरेलु मैदानमा हुने छनोट खेल गुमाउनेछिन् । घुँडाको शल्यक्रियाका लागि सावित्रा शनिबार कतार जाँदैछिन् । त्यहाँ एप्सटर अस्पतालमा उनको उपचार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment