Comments Add Comment

नेदरल्याण्ड्सलाई हराउँदै चेक रिपब्लिक क्वाटरफाइनलमा

१४ असार, काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै चेक रिपब्लिक युरोकप २०२० को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार हंगेरीको बुढापेस्टस्थित पुस्कास एरेनामा भएको खेलमा चेकले १० खेलाडीको नेदरल्याण्ड्सलाई २-० ले पराजित गरेको हो । चेकका लागि टोमस होल्स र प्याट्रिक सिकले गोल गरे ।

समूह ‘डी’ को तेस्रो बन्दै अन्तिम १६ मा पुगेको चेकले समूह ‘सी’ मा तीनवटै खेल जित्दै विजेता बनेको नेदरल्याण्ड्सलाई पराजित गरेको हो ।

चेकले अब क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ । हारपछि नेदरल्याण्ड्स बाहिरिएको छ ।

पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा चेक रिपब्लिकले दुई गोल गरेको थियो । ५५औं मिनेटमा नेदरल्याण्ड्सका माथिस डि लिग्टले रातो कार्ड पाएपछि त्यसैको फाइदा उठाउँदै चेकले दुई गोल गर्‍यो ।

त्यसअघि ५२औं मिनेटमा नेदरल्याण्ड्सले गोल गर्ने सुन्दर अवसर गुमाएको थियो । नेदरल्याण्ड्सका डोनयेल मालेन वान भर्सेस वानमा गोल गर्न चुकेका थिए ।

५५औं मिनेटमा माथिस डे लिग्ट रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि नेदरल्याण्ड्स १० खेलाडीमा समेटिएको थियो । बल ह्याण्ड गरेकोले भिएआर रिभ्युपछि डे लिग्टलाई रातो कार्ड देखाइएको थियो ।

नेदरल्याण्ड्सको एक खेलाडी कम हुँदा चेकलाई फाइदा पुग्यो । ६८औं मिनेटमा टोमस होल्सले टोमस क्लासको पासमा हेडरमार्फत गोल गर्द अग्रता दिलाए ।

८०औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै चेकको अग्रता दोब्बर पारे । उनले पहिलो गोल गरेका होल्सको क्रसमा गोल गरेका हुन् । जारी युरोकपमा सिकको यो चौथो गोल हो ।

१६ टिमको युरोकप हुँदा सन् २०१२ मा क्वाटरफाइनल खेलेको चेक त्यसपछि पहिलो पटक क्वाटरफाइनल पुगेको हो । सन् २००४ को समूह चरणमा चेकले नेदरल्याण्ड्सलाई ३-२ ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment