Comments Add Comment

एथ्लेटिक्सबाट ओलम्पिकका लागि सरस्वतीको नाम सिफारिश, गोपीचन्द्र पार्कीको के होला ?

काठमाडौं । अर्को महीनादेखि जापानमा शुरु हुने टोकियो ओलम्पिकका लागि नेपालबाट अहिलेसम्म ५ खेलाडीले खेल्ने पक्का भएको छ । जसमा एथ्लेटिक्सबाट म्याराथन खेलाडी गोपीचन्द्र पार्कीको नाम पनि छ ।

तर पछिल्लो समय एथ्लेटिक्ससका अर्का खेलाडीको नाम पनि ओलम्पिकमा जाने चर्चामा छ ।

एक सय मिटर दूरी दौडमा महिला खेलाडी सरस्वती चौधरीको नाम पनि टोकियो ओलम्पिकका लागि सिफारिश भएको छ ।

गत वर्ष नेपालगन्जमा भएको नेपालगन्ज म्याराथन जितेपछि गोपीचन्द्र पार्की टोकियो ओलम्पिक खेल्ने पक्का भएको थियो । गोपीचन्द्रले नेपागन्ज म्याराथनमा निर्धारित दूरी २ घण्टा १८ मिनेट ५९ सेकेण्डमा पूरा गरेका थिए ।

ओलम्पिक खेल्ने पक्का भएपछि उनले लेजेण्ड बैकुण्ठ मान्नधरको कीर्तिमान तोड्ने लक्ष्य रहेको बताएका थिए । मानन्धरले सन् १९८७ मा भएको तेस्रो साउथ एसियन गेम्समा राखेको २ घण्टा १५ मिनेट ३ सेकेण्डको कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पौडी र एथ्लेटिक्सका आफ्ना सदस्यहरुलाई अनिवार्य कोटामार्फत खेलाडी सहभागिता गराउने अवसर दिँदै आएको छ । त्यस अनुसार पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपीचन्द्र पार्की टोकियो जाने भएका हुन् ।

यसअघि एथ्लेटिक्सको पनि दुई कोटा रहँदै आएकोमा यस पटक एक खेलाडी मात्र कोटा रहेको हो ।

टोकियो ओलम्पिक खेल्न जाने खेलाडीहरु बुधबारदेखि राजधानीको सोल्टी होटलमा क्लोज क्याम्पको रुपमा बसेका छन् । पौडीकी गौरिका सिंह हाल बेलायत रहेकोले उनी भने यहाँ छैनन् । यस्तै गोपीचन्द्र पार्की भने अहिले सोल्टीमा नभएर आफ्नै कोठामा छन् ।

टोकियो ओलम्पिक खेल्न जाने पक्का भएका खेलाडी किन घरमै ? “मलाई अहिलेसम्म बोलाउनु भएको छैन । एक दुई दिनमा केही थाहा होला,” गोपीचन्द्रले भने ।

गोपीचन्द्र बाहेक पौडीका गौरिका र एलेक्स अनी अनिवार्य कोटामा ओलम्पिक खेल्न लागेका हुन् । यस्तै वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट छानिएका छन् ।

बेलायत रहेकी गौरिका र गोपीचन्द्र बाहेक अन्य खेलाडी र प्रशिक्षक अहिले सोल्टी होटलमा छन् ।

ओलम्पिकका लागि गोपीको नाम पक्का भए पनि केही दिन अघि नेपाल ओलम्पिक कमिटीले नेपाल एथ्लेटिक्स एसोसिएसनसँग महिला स्प्रिन्टर खेलाडीको नाम मागेको थियो । त्यसमा संघले सरस्वतीको नाम सिफारिश गरेको छ ।

एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले पनि केही दिन अघिमात्र ओलम्पिक कमिटीबाट महिला स्प्रिन्टरको नाम माग भएको पुष्टि गरे । “त्यसमा हामीले सरस्वती चौधरीको नाम पठाएका छौँ । अब बाँकी सबै ओलम्पिक कमिटीलाई नै थाहा हुन्छ ।” शाहले भने । गोपीचन्द्रको बारेमा सोध्दा उनले आफूलाई त्यसबारे केही जानकारी नभएको बताए ।

एथ्लेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङले महिला स्प्रिन्टरको माग भएपछि राम्रो समय भएको आधारमा सरस्वती चौधरीको नाम पठाएको बताए । “दोहामा वर्ल्ड च्याम्पियनसिप खेलेको र उत्कृष्ट समय भएकोले सरस्वतीको नाम सिफारिश गरेको हो । महिला स्प्रिन्टर नाम माग भएकोले उसैको नाम सिफारिश भएको हो । उनको उत्कृष्ट सयम १२:४८ सेकेण्ड हो ।”

गोपीचन्द्रले आफूले लामो समय मिहिनेत गरेको तर अन्तिम समयमा किन यस्तो भयो थाहा नभएको बताए । “मैले पनि अर्कै खेलाडीको नाम सिफारिश भएको भन्ने सुनेको छु । कतैबाट केही आधिकारिक निर्णय आएको छैन ।”

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई यसबारे सोध्दा उनले अहिले सबै निर्णय नभएको बताए । “यसबारे अहिले केही निर्णय भइसकेको छैन । जुलाई ५ तारिखसम्म इन्ट्री डेट छ त्यसपछि कति खेलाडी जाने थाहा हुन्छ,” उनले भने ।

टोकियो ओलम्पिककै लागि भनेर गोपीचन्द्रले सबै तयारी गरेको बताए । तर के विषय नमिलेको उनले पनि बुझ्न सकेका छैनन् ।

नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले एथ्लेटिक्स अनिवार्य कोटा भएपनि म्याराथनका लागि छुट्टै क्राइटेरिया रहेको हुनसक्ने बताए । “मलाई पनि अहिले सबै जानकारी आइसकेको छैन । गोपीचन्द्रले पनि लामो समय तयारी गरेका छन् । उनले खेल्न पाएनन् भने हामीलाई कस्तो होला झन् ,” उनले भने ।

ओलम्पिक जाने मध्ये गौरिका बेलायतमा तयारी गरिरहेकी छन् । उनी उतैबाट जापान जाने पौडी प्रशिक्षक शंकर कार्कीले जानकारी दिए । एलेक्श शाह भने हाल नेपालमा छन् । उनी लिंकन स्कुलमा प्रशिक्षण गरिरहेका छन् ।

जुडोका सोनिया भट्टले महाराजगंजस्थित नेपाल पुलिसको एकेडेमीमा  र सुटिङका कल्पना परियारले सातदोबाटोस्थित सुटिङ रेन्जमा प्रशिक्षण गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment