Comments Add Comment

साताका १० गीतः ‘तिम्रो मन बदलिएछ’देखि ‘यो रातो गाला’सम्म

कोरोना महामारीका कारण चलचित्र क्षेत्र ठप्प छ । तर, निषेधाज्ञा खुकुलो भएसँगै म्युजिक भिडियोको छायाँकन भने धमाधम भईरहेको छ । हरेक दिनजसो नयाँ–नयाँ गीतका म्युजिक भिडियोहरु युट्युबमा सार्वजनिक भईरहेका छन् । यस साता पनि दर्जनौं गीतका म्युजिक भिडियोहरु सार्वजनिक भए । सार्वजनिक भएका दर्जनौ गीतमध्ये केहीले दर्शकको माया पाए भने केही बजारमा आएको नै दर्शक तथा श्रोताले थाहा पाएनन् । अनलाइनखबरले अब हरेक साता बजारमा आएका गीतहरुलाई ‘साताका १० गीत’ स्तम्भमा प्रस्तुत गर्नेछः

२० वर्षपछि फर्किएको ‘तिम्रो मन बदलिएछ’
यश कुमारको दुई दशक अगाडिको हिट गीत ‘तिम्रो मन बदलिएछ’ गत शुक्रबार नयाँ स्वरुपमा सार्वजनिक भयो । यश कुमारको शब्द तथा संगीत रहेको गीत पहिले यश र सपनाश्रीले गाएका थिए । नयाँ स्वरुमा यश र मिलन नेवारको स्वर छ । निकेश खड्काको निर्देशनमा तयार भिडियोमा सागर लम्साल ‘बले’, प्रिज्मा–प्रिन्सी खतिवडाले अभिनय गरेका छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् । नयाँ स्वरुपमा आएको गीतलाई स्रोता एवं दर्शकले उत्तिकै रुचाएका छन् । गीतको भिडियोले एक सातामै युट्युबमा २६ लाख भन्दा बढी भ्यूज पाएको छ ।

आकाश र पूजाको ‘धर्ती आकाश’
प्रेमिल गीत दिन माहिर अर्जुन पोखरेलको शब्द एवं संगीत रहेको ‘धर्ती आकाश’ बोलको गीत पनि गत शुक्रबार सार्वजनिक भएको हो । दुर्गा खरेल र रोशन अधिकारीको स्वर रहेको गीतको भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठको अभिनय छ । विधान कार्कीको निर्देशनमा गीतको भिडियो तयार भएको हो । उत्सव दाहालको छायाँकन रहेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् ।

यस गीतको भिडियोलाई पनि दर्शकले निकै रुचाएका छन् । सार्वजनिक भएको एक सातामा यसको भिडियोले २३ लाख बढी भ्यूज प्राप्त गरेको छ । गीत युटयुब ट्रेन्डिङको एक नम्बर स्थानमा ६ दिनदेखि बसिरहेको छ ।

रत्यौली गीत ‘स्यानी माया’
मौलिक रत्यौली गीत ‘स्यानी माया’ चार दिनअघि युटयुबमा सार्वजनिक भएको हो । चन्द्रा सुवेदीको लय संकलन र शब्द रचना रहेको गीतलाई स्रोता दर्शकले रुचाएका छन् । गीतमा चन्द्रा सुवेदी, सुनिता बुढा क्षेत्री, जानसका कँडेल, बसन्त थापा, उमेश अधिकारीको स्वर छ । बसन्त थापाले सुर्खेतकी चन्द्रालाई काठमाडौं बोलाएर यस गीतको अडियो एवं भिडियो तयार पारेका हुन् ।

गीतको भिडियोमा दुर्गेश थापा, ओबी रायमाझी, बसन्त थापा, दीपाशा बिसी, बिना विश्वकर्मा, युनिशा खज्ञीको अभिनय छ । कुमार केसीको निर्देशन, यम गुरुङको कोरियोग्राफीमा अजय रेग्मीले भिडियोको छायाँकन गरेका हुन् भने टेकेन्द्र शाहले भिडियोको सम्पादन गरेका हुन् । भिडियोले ४ दिनमा ११ लाख भन्दा बढी भ्यूज पाएको छ ।

राजु–कमलाको ‘बाउआमा ३ सजायँ’
तीजको गीत ‘बाउआमा ३ सजाय’ ६ दिनअघि युट्युबमा सार्वजनिक गरिएको हो । डीआर सुजनको शब्द तथा संगीत रहेको गीतलाई बिनोद बाजुरालीले एरेञ्ज गरेका हुन् । गीतमा राजु परियार, पूर्णकला बिसी, अमृत सापकोटा, सुनिता बुढा क्षेत्री, कमला घिमिरे, सचिन परियार, रविना बसेलको स्वर छ । डिआर सुजनकै निर्देशनमा बनेको गीतको भिडियोमा सुरवीर पण्डित, रमा थपलिया, बेगम नेपाली, रियाशा दाहाल, कमला घिमिरे, सचिन परियार, रबिना बसेल लगायतको अभिनय छ । रेशम दर्लामीको छायाँकन रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । यो गीतलाई सार्वजनिक भएको ६ दिनमा २६ लाख ६५ हजार भन्दा बढी पटक हेरिएको छ ।

पशुपति र सम्झनाको रि–रेकर्ड ‘मेरो माया बसेको गाउँमा’
पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत ‘मेरो माया बसेको गाउँमा’ केही वर्षअघि सार्वजनिक गरिएको थियो । गीतलाई स्रोता एवं दर्शकले रुचाएका थिए । अहिले सो गीतलाई रि–रेकर्ड गरेर सार्वजनिक गरिएको छ । गीतमा पशुपति शर्माको शब्द तथा संगीत छ ।

विक्रम चौहानको निर्देशनमा तयार भएको भिडियोमा सरोज राना र बिना राउतले अभिनय गरेका छन् । सुरेश श्रेष्ठको छायाँकन रहेको भिडियोलाई शिव पौडेलले सम्पादन गरेका हुन् । गत शनिबार सार्वजनिक गीतको भिडियोले युट्युबमा झण्डै ११ लाख भ्यूज प्राप्त गरेको छ ।

कुमारको पहिलो गीत ‘मञ्जुरी’
हाँस्य कलाकार कुमार कट्टेलले पहिलोपटक रेकर्ड गराएको गीत हो, ‘मञ्जुरी’ । भीम बिसीको शब्द–संगीतमा कुमार र मेलिना मैनालीले यो गीत गाएका छन् । दीपक आचार्यको निर्देशनमा बनेको गीतको भिडियोमा कुमार र रक्षा श्रेष्ठले अभिनय गरेका छन् । म्युजिक भिडियोमा कुमार र रक्षाले पहिलोपटक स्क्रिन शेयर गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । चार दिनअघि सार्वजनिक गरिएको गीतको भिडियोले ४ लाख ६७ हजार भ्यूज बटुलेको छ ।

समीक्षाको स्वरमा ‘बीच्च बीच्चमा २–यसपालीको तीज’
दुर्गेश थापाले ‘बीच्च बीच्चमा २’को फिमेल भर्सन सार्वजनिक गरेका छन् । फिमेल भर्सन ‘यसपालीको तीज’लाई समीक्षा अधिकारी र अस्मिता जुरेलीले गाएका छन् । दुर्गेश थापा र राम खत्रीको शब्द रहेको गीतमा दुर्गेश थापाकै संगीत छ । काजिश श्रेष्ठको निर्देशनमा रहेको यस गीतको भिडियोमा दुर्गेश थापा, अस्मिता जुरेलीको अभिनय छ । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । गत शुक्रबार सार्वजनिक गीतको भिडियोले ८ लाख भ्यूज प्राप्त गरेको छ ।

एलिनाको ‘यो रातो गाला’
एलिना चौहान, रचना रिमाल, समीक्षा अधिकारी र बेनिशा पौडेलको स्वरमा ‘यो रातो गाला’ बोलको तीज गीत सार्वजनिक भएको हो । गीतमा दीपक शर्र्माको शब्द एवं संगीत छ । विक्रम चौहानको निर्देशनमा तयार भिडियोमा गीता ढुंगाना, गरिमा शर्मा, समारिका ढकाल र स्मारिका ढकाल फिचर्ड छन् । प्रकाश खड्काको छायाँकन रहेको यस गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । तीन दिनअघि एलिना चौहानको आफ्नै युट्युब च्यानलमा सार्वजनिक गीतको भिडियोलाई ४ लाख बढी पटक हेरिएको छ ।

किरण र अस्मिताको ‘आँखा आँखा जुधि’
‘आँखा आँखा जुधि’मा किरण गजमेर र अस्मिता अधिकारीको स्वर छ । गीतमा धु्रव प्रसाद अम्गाँइको शब्द, लेखु सहयात्रीको संगीत छ । सोनाम पाख्रिनको निर्देशनमा तयार भएको भिडियोमा सन्तोष बाँनिया र श्रेया सिटौलाले अभिनय गरेका छन् । बुद्ध थापाको छायाँकन रहेको गीतलाई विकास दाहालले सम्पादन गरेका हुन् । दुई दिनअघि सार्वजनिक गीतले युट्युबमा २ लाख ३५ हजार भ्यूज प्राप्त गरेको छ ।

ईन्दिराको ‘जिम्माल बाको छोरो’
गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रोमान्टिक गीत ‘जिम्माल बा को छोरो’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा प्रकाश सापकोटाको शब्द रचना छ भने भिम बहादुर श्रेष्ठको संगीत छ । सुव्रत आचार्यको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । बिहीबार मात्रै यो गीत सार्वजनिक भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment