Comments Add Comment

पेगासस निर्माता कम्पनी भन्छ : दुर्घटनाको दोषी कार कम्पनी होइन मापसे गर्ने ड्राइभर हो

पछिल्लो समयमा संसारभर एक प्रकारको आतंक मच्चाइरहेको जासुसी सफ्टवेयर पेगाससको अन्तर्राष्ट्रिय स्तरमै तीव्र आलोचना भैरहेको छ । तर पेगासस स्पाइवेयर बनाउने इजरायली कम्पनीले भने ह्याकिङका घटनामा आफूलाई नभई आफ्ना ग्राहकहरुलाई दोष दिनुपर्ने जिकिर गरेको छ ।

पेगासस निर्माता इजरायली सर्भिलान्स कम्पनी एनएसओले भनेको छ : ह्याकिङका लागि आफ्नो कम्पनीलाई दोष दिनु भनेको मादक पदार्थ सेवन गरेर गाडी चलाउँदा भएको दुर्घटनामा कार निर्माता कम्पनीलाई दोष दिनु जस्तै हो ।

पछिल्लो समयमा पेगासस सफ्टवेयरलाई विभिन्न व्यक्ति, कम्पनी तथा सरकारहरुले समेत ठूलो संख्याका नेताहरु, पत्रकार, समाजसेवीलगायतको जासूसी गर्न प्रयोग गरिरहेको तथ्यको खुलासा भैरहेको छ ।

५० हजार फोन नम्बरको सूची लिक भएसँगै यो घटनाको छानविन सुरु भएको थियो ।

विज्ञहरुका अनुसार पेगाससले आइफोन र एन्ड्रोइड कुनै पनि खाले फोनको जासुसी गर्न सक्दछ ।

यो स्पाइवेयरले फोनमाथि कब्जा जमाउँदछ र जासुसी गर्नेले यस्ता फोनमा आउने मेसेज, फोटो, इमेल, कल रेकर्डका साथै फोनको क्यामरा र माइक्रोफोनमा पनि पहुँच प्राप्त गर्दछ ।

पेगासस बनाउने कम्पनीले भने यो स्पाइवेयरको निर्माण अपराधी तथा चरमपन्थीहरुको जासुसीका लागि गरिएको दाबी गर्दै आएको छ ।

यो सफ्टवेयर मूख्यत: विभिन्न देशका सेना तथा सरकारी एजेन्सीहरुलाई बिक्री गरिएको र मानव अधिकारको अवस्था सुदृढ भएका मुलुकहरुका मात्र यो जासुसी सफ्टवेयर बेचिएको कम्पनीको दाबी छ ।

तर फ्रान्सेली मिडिया समूहको नेतृत्वमा रहेका अन्तर्राष्ट्रिय मिडियाहरुको एक समूहले प्रकाशित गरिरहेका श्रृंखलाबद्ध रिपोर्टहरुले चाहिँ पेगाससको प्रयोग अन्तर्राष्ट्रिय स्तरमै जासुसीका लागि गरिँदै आएको खुलासा गरेका छन् ।

रिपोर्टअनुसार पेगाससले फ्रान्सका राष्ट्रपति इम्यानूएल म्याक्रोनको फोन नम्बरलाई पनि निसाना बनाएको छ ।

पेगाससको साइप्रसस्थित सर्भरबाट ती फोन नम्बरहरुको सूची प्राप्त भएको दाबी गरिएको छ । तर पेगाससले भने साइप्रसमा आफ्नो कुनै सर्भर नरहेको जिकिर गरेको छ ।

साथै पेगाससले आफ्नो सर्भरमा ग्राहकको कुनै डाटा नरहने भन्दै आफ्ना ग्राहकहरु एक अर्काबाट सम्बन्धित नहुने र सबै ग्राहकको आ-आफ्नो डाटाबेस हुने बताएको छ ।

साथै जुन ठूलो संख्यामा टेलिफोन नम्बरको हवाला दिइएको छ त्यतिठूलो संख्यामा पेगाससले काम नगर्ने पनि कम्पनीले दाबी गरेको छ ।

एनएसओका प्रवक्ताले भनेका छन् : हाम्रो जानकारी अनुसार हाम्रा ग्राहकको निसामा हरेक वर्ष जासुसीका लागि झण्डै एक सयजति टार्गेट हुन्छन् । कम्पनी शुरु भएयता अहिलेसम्म पनि हाम्रो कुल टार्गेट संख्या ५० हजार पुगेको छैन ।

सुरक्षा सेवा

पछिल्ला केही वर्षमा कैइन् पटक यो कम्पनीमाथि जासुसी गर्नमा सहयोग गरेको आरोप लाग्दै आएको छ । कम्पनीले कतिपय दमनकारी सरकारहरुलाई समेत पेगासस बिक्री गरेको र त्यसबाट ती सरकारहरुले सामान्य तथा निर्दोष नागरिकहरुको जासुसी गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर एनएसओ भने यस्तो आरोपको खण्डन गर्दछ । कम्पनीका प्रवक्ताले आफुहरुले ग्राहकहरुबाट को टार्गेट बनेको छ भन्ने कुराको नियमित रुपमा जाँच नगर्ने भएता पनि आफुहरुसँग त्यस्तो संयन्त्र पनि रहेको बताए ।

आफूहरुले सरकारहरुलाईर् पेगासस बिक्री गरिरहेको भन्दै उनले यो कार्य आफूहरुले पूरा जिम्मेवारीका साथ गर्ने र सबै कुरा कानूनी प्रक्रिया पूरा गरेर गर्ने गरेको बताए ।

साथै कुनै ग्राहकले पेगाससको गलत प्रयोग गरेको थाहा भएमा त्यो आफ्नो ग्राहक रहन नसक्ने भन्दै उनले पेगाससको दुरुपयोग भएमा त्यसको जिम्मेवारी ग्राहकले नै लिनुपर्ने बताउँछन् । पेगासस दुरुपयोगका सबै घटनामा ग्राहकमाथि नै औँला ठड्याउनुपर्ने उनको तर्क छ ।

उनी भन्छन् : मानौँ म एक कार निर्माता हुँ र तपाईंले मसँग बाट कार खरीद गर्नुहुन्छ । त्यसपछि तपाईंले आफूले किनेको गाडी मादक पदार्थ सेवन गरेर चलाउनुहुन्छ र कार दुर्घटना गराउनुहुन्छ वा किचेर कसैलाई मारिदिनुहुन्छ । यस्तोमा पीडित पक्षले कार निर्माता कम्पनीलाई समाउँदैन, ड्राइभरलाई समाउँछ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment