Comments Add Comment

ल्यापटप किन्दै हुनुहुन्छ ? यी चार कुरामा ध्यान दिनुहोस्

जतिधेरै शक्तिशाली र सुपथ स्मार्टफोन उपलब्ध भएतापनि ल्यापटप तथा डेस्कटप कम्प्युटरको महत्व र आवश्यकता घटेको छैन । कतिपय कामका लागि तपाईलाई ठूलो स्क्रिन तथा फिजिकल किबोर्डसहितको राम्रोसँग काम गर्ने पर्सनल कम्प्युटर अथवा सजिलोका लागि ल्यापटप नै चाहिन्छ । दशौँ लाख विद्यार्थीहरु, कार्यालयका कामकाजी मानिसहरु तथा अन्य विभिन्न खाले प्रयोगकर्ताहरुका लागि ल्यापटप अनिवार्य आवश्यकता जस्तै बन्दै गएको छ, पछिल्लो समयमा । त्यसैले कस्तो ल्यापटप किन्ने ? र ल्यापटप खरीद गर्दा राम्रो मूल्य र गुणस्तरको सुनिश्चितता कसरी गर्ने ? भन्ने प्रश्न पेचिलो बन्नु स्वभाविकै हो ।

बजारमा विभिन्‍न ब्राण्ड र मूल्यका ल्यापटपहरु उपलब्ध हुन्छन् । कतिपय ल्यापटपहरु विशेष काम तथा प्रयोगकर्ताका लागि भनेरै डिजाइन गरिएका हुन्छन्, जुन अन्य आम प्रयोगकर्ताका लागि खासै उपयोगी नहुन सक्दछन् । बजारमा कतिपय पुराना मोडलका ल्यापटप पनि हुन्छन्, जुन खरीद गर्नु उपयुक्त हुँदैन । त्यसैले कुन कामका लागि ल्यापटप खरीद गर्ने हो ? अनि आफ्नो काम र दामका लागि सुहाउँदो ल्यापटप छनोट कसरी गर्ने ? यसका लागि यी चारवटा कुरामा ध्यान दिनुपर्दछः

१. पहिलो चरण : आफ्नो बजेट निर्धारण गर्नुहोस्

तपाईले कति बजेट (पैसा)मा कम्‍प्‍युटर किन्‍ने हो त्‍यो सबैभन्दा महत्वपूर्ण पक्ष हो । आफूसँग कति पैसा छ र ल्यापटप/डेस्कटपका लागि कतिसम्म खर्च गर्न सक्दछु भन्ने कुराको सुरुमै निधो गर्न सक्नुभयो भने बजारबाट खरीद गर्ने ल्यापटपका विकल्पहरु छनोट गर्न सजिलो हुन्छ । यसले तपाईलाई आफूले खरीद गर्ने ल्यापटपबाट राखिएका अपेक्षाहरु सुरुबाटै निश्चित गर्नमा पनि सहयोग मिल्छ ।

यद्यपि, सस्तो मूल्यका ल्यापटपहरुमा टचस्क्रिन, ब्याकलिट किबोर्ड, युएसबी सी पोर्ट तथा उच्च स्पीडयुक्त एसएसडी नहुन सक्दछ । कम मूल्यका ल्यापटपहरु आकारमा ठूलो तथा तौल पनि बढी हुनसक्दछ । तर यदि तपाईसँग ल्यापटप खरीदका लागि बजेट नै सीमित छ भने तपाईले यस्तैखाले सुपथ मूल्यका ल्यापटप हेर्नुपर्ने हुन्छ, जसमा तपाईले अपेक्षा गरे अनुरुपका फिचर, स्पीड, साइज र डिजाइन नहुन सक्दछ ।

तर पनि तपाईले सामान्य प्रयोगका लागि ल्यापटप खरीद गर्दै हुनुहुन्छ भने यस्तो प्रारम्भिक चरणका मूल्य सूचीका ल्यापटपहरु उपयोगी नै हुन्छन् । ल्यापटप खरीदका लागि पैसाको अभाव नै छ भने तपाईले नयाँका अतिरिक्त मर्मत गरिएका पूराना ल्यापटप पनि खरीद गर्न सक्नुहुन्छ । त्यस्तो रिफर्बिस्ड ल्यापटपहरु विभिन्न अनलाइन साइटहरुबाट पनि किन्न सकिन्छ ।

तर यदि तपाईले विशेष खालका फिचरहरुयुक्त ल्यापटप जस्तै कम वजन, स्टाइलस, हाइ सेटिंग्समा विभिन्न गेम खेल्न मिल्ने ल्यापटप खरीद गर्न चाहनुहुन्छ भने यसका लागि बढी मूल्य तिर्नुपर्ने हुन्छ । सामान्य अफिस तथा स्कुल प्रयोगजनका लागि, सामान्य इन्टरनेट चलाउन तथा हल्का मनोरञ्जनको प्रयोजनका लागि मात्रै ल्यापटप किन्दै हुनुहुन्छ भने मध्यम मूल्यका ल्यापटप उपयुक्त हुन्छन् । तर गेमिङ ल्यापटपहरु, टचस्क्रिनयुक्त र अत्याधुनिक प्रविधि र उच्च क्षमतायुक्त ल्यापटहरुलाई बढी मूल्‍य पर्दछ ।

२. दोश्रो चरण : ल्यापटपको साइज र वजन निधो गर्नुहोस्

ल्यापटपहरु साधारणतया स्क्रिनको साइज अनुसार वर्गीकरण गरिएका हुन्छन् । जसमा ११ इन्चदेखि १५ तथा १७ इन्चको स्क्रिन सम्मका ल्यापटप बजारमा आमरुपमा पाइन्छन् । स्क्रिनको साइज ठूलो हुँदै गर्दा मूल्य पनि बढ्छ भन्ने ठान्नुहोला । तर त्यसो होइन । बजारमा स्लिम, हलुका तथा उच्च मूल्यका अधिकांश ल्यापटहरु १३ इन्च स्क्रिन मोडेलका हुने गरेका छन् । त्यस्तै अधिकांश सुपथ मूल्‍यका ल्यापटपहरु १५ इन्च स्क्रिन भएका हुने गरेका छन् ।

हुन त ल्यापटपको स्क्रिन कत्तिको कामकाजी छ भन्ने कुरा यसको स्क्रिनको आकारले मात्र निर्धारण गर्दैछ, यसको स्क्रिन रिजोलुशन महत्वपूर्ण हुन्छ । न्यून मूल्यका ल्यापटपको स्क्रिन रिजोलुसन पनि कम अर्थात् १३६६ x ७६८ पिक्सेल सम्म हुन्छ । यस्तो रिजोलुसन १३ इन्च सम्मका ल्यापटपमा ठिकै हुने भएपनि १५ इन्चका ल्यापटपका लागि खासै उपयुक्त हुँदैन ।

तपाईले ल्यापटप खरीद गर्दा सकेसम्म फूल एचडी अर्थात् १९२० गुणा १०८० स्क्रिन रिजोलुशन भएका ल्यापटप खरीद गर्नु राम्रो हुन्छ ।उच्च मूल्यका ल्यापटपमा फोर को रिजोलुसनयुक्त स्क्रिन पनि सामान्य भैसकेका छन् । गेमिंग ल्यापटपमा भने स्क्रिन रिजोलुसन धेरै हुँदैन ।

ल्यापटप किन्दा जति स्लिम र हलुका भयो त्यति नै धेरै मूल्य पर्दछ भन्ने पनि होइन । ल्यापटपको स्पेसिफिकेसन महत्वपूर्ण हुन्छ । कतिपय मोडेलमा ल्यापटपलाई हलुका बनाउनका लागि कमजोर प्रोसेसर पनि राखिएको हुन्छ । यदि ल्यापटपको मोडेल नेम मा सीपीयूलाई अंग्रेजी अक्षर T ले जनाइएको हुन्छ भने त्यो कम तौलको तथा पंखा नचाहिने ल्यापटप हो । हाल बजारमा एक किलोभन्दा कम तौलका सम्पूर्ण फिचयुक्त ल्यापटप पनि उपलब्ध छन् । तथापि त्यस्ता ल्यापटपको मूल्य उच्च हुन्छ ।

यस चरणमा तपाईले यो कुराको पनि निधो गर्नुपर्ने हुन्छ कि तपाईले सामान्य खालको ल्यापटप किन्दै हुनुहुन्छ कि टू इन वान ल्यापटप किन्दै हुनुहुन्छ जुन ट्याबलेटको रुपमा पनि प्रयोग गर्न सकियोस् । यदि तपाई डेस्कमा वा काखमा राखेर चलाउने हो भने सामान्य खालको ल्यापटप नै ठिक हुन्छ । तर पढ्नका लागि यताउता लगिरहनुपर्ने, स्टाइलसले स्क्रिनमा स्केच गर्ने वा नोट लेख्नुपर्ने, टच अप्टिमाइज्ड गेम खेल्ने आदिका लागि चाहीँ टू इन वान मोडेल छनोट गर्नु उपयुक्त हुन्छ ।

३. तेश्रो चरण : स्पेसिफिकेसन छनोट गर्नुहोस्

तपाईले ल्यापटप खरीद गर्दा सन्तुलन मिलाउनै पर्ने केही प्यारामिटरहरु हुन्छन् । ल्यापटपको सीपीयु, जीपीयु, र्याम र स्टोरेज सबैभन्दा महत्वपूर्ण पक्षहरु हुन् । सीपीयुको कुरा गर्दा धेरै कुराहरुमा ध्यान दिनु पर्दछ । ल्यापटप बजारमा अधिकांस इन्टेलको सीपीयुयुक्त ल्यापटप नै पाइन्छन्, तर यदि एएमडीको सीपीयु भएका ल्यापटप पनि राम्रै गुणस्तरका हुन्छन् । एएमडीको राइजेन सिपियु शक्तिशाली हुनुका साथै बढि तात्दैन पनि ।

सीपीयुमा तपाईले विभिन्न जेनेरेसन पाउन सक्नुहुन्छ । ल्यापटपको सिपियुका लागि पछिल्लो जेनेरेसन भने ८ औँ जेनेरेस हो । निश्चित रुपमा पुस्ता जति नयाँ भयो त्यति नै ल्यापटप गुणस्तरीय र महंगो हुन्छ । तर केही राम्रो गुणस्तरका पूरानो जेनेरेसनको सीपीयु भएका ल्यापटपका मोडेल पनि पाउन सक्नुहुन्छ । आफ्नो बजेट तथा आवश्यकता हेरिकन तपाईले नयाँ भर्सन हेर्नु उपयुक्त हुन्छ ।

ग्राफिक्सका लागि अधिकांश ल्यापटपहरुमा इन्टेलको इन्टिग्रेटेड जीपीयु हुन्छ । गेमिंग ल्यापटपका लागि उच्च मूल्यको सीपीयु भन्दा उच्च मूल्यको जिपियू प्रभावकारी हुन्छ ।

ल्यापटपमा र्याम छनोट गर्दा खासै धेरै विकल्पहरु हुँदैनन् । सस्तो मूल्यका ल्यापटपमा ४ जिबी र्याम पनि हुने भएतापनि आम प्रयोगका लागि ८ जिबीको र्याम भएका ल्यापटप किन्नु राम्रो हुन्छ । त्यस्तै गेमिंग ल्यापटपका लागि १६ जिबी र्याम उपयुक्त हुन्छ ।

पातलो तथा हलुका ल्यापटपमा तपाईले पछि र्‍याम थप्न सक्नुहुन्न वा निकै गाह्रो हुन्छ । त्यसैले तपाईले ल्यापटप धेरै वर्षसम्म स्तरोन्नति गरेर पनि चलाउन चाहनुहुन्छ भने पछि र्‍याम अपग्रेड गर्न मिल्ने खालको किन्नुहोस् ।

त्यस्तै ल्यापटपको स्टोरेजको हकमा सुपथ मूल्यका ल्यापटपहरु हार्ड ड्राइभ स्टोरेजयुक्त हुन्छन् भने पछिल्लो मोडेलका तथा महंगा ल्यापटपहरुमा स्टोरेजका लागि सोलिड स्टेट ड्राइभ अर्थात् एसएसडी हुन्छ । हार्ड डिस्क भन्दा एसएसडी भएका ल्यापटप फास्ट हुनुका साथै उच्च क्षमतायुक्त हुन्छन् । पातलो, हलुका तथा प्रिमियम ल्यापटपहरु सबैजसोमा एसएसडी नै प्रयोग भएको हुन्छ । त्यसैले त्यस्ता ल्यापटप खरीद गर्दा तपाईले  SATA को साटो PCIe मोडेल हेर्नुपर्दछ ।

यदि तपाईले एसएसडी ल्यापटप खरीद गर्न सक्नुहुन्छ तर हार्ड ड्राइभवाला ल्यापटपमा केही पैसा थप गर्न सक्नुहुन्छ भने विन्डोज बुटका लागि भएपनि सानो एसएसडी र सबै फाइल स्टोरेजका लागि ठूलो हार्ड ड्राइभयुक्त ल्यापटप खरीद गर्नु उपयुक्त हुन्छ ।

त्यसैले ल्यापटप खरीद गर्दा सकेसम्म धेरै र्याम र स्टोरेज क्षमताको ल्यापटप किन्नु पर्दछ । त्यस्तै भविष्यमा आन्तरिक तथा बाह्य हार्डवेयरहरु अपग्रेड गर्न सकिने मोडेलका ल्यापटप किन्नु पर्दछ । त्यस्तै ल्यापटप खरीद गर्दा वाइफाइ भर्सन, ब्याट्री क्षमता तथा ब्याट्री लाइफ र वेबक्याममा पनि ध्यान दिनुपर्दछ ।

ल्यापटप किन्दा त्यसमा विन्डोज १० प्रिइन्स्टल्ड भएको पक्का गर्नुहोस् । त्यस्तै माइक्रोसफ्ट अफिस तथा सेक्योरिटी सफ्टवेयर पनि सुरुमै इन्स्टल गरेरै ल्यापटप खरीद गर्दा तपाईलाई केही सस्तो पर्न सक्दछ ।

४. चौथो चरणः आफैले चलाएर हेर्नुहोस्, किन्नुहोस्

ल्यापटप, मोबाइल जस्ता चिजहरु अनलाइनमा खरीद गर्दा कहिलेकाहीँ ठगिने गरेका घटना पनि सुनिन्छन् । त्यसैले ल्यापटप किन्दा पसलमा गएर आफैले हेरेर र चलाएर किन्नु राम्रो हुन्छ । यसो गर्दा तपाईलाई ल्यापटप छनोटमा धेरै विकल्प प्राप्त हुनेमात्र होइन आफुले चाहेको र मूल्य तिरेको ल्यापटप नै खरीद गर्न सक्नुहुन्छ । किन्नु अगाडि ल्यापटप खोलेर चलाउँदा तपाईले त्यसको क्षमता तथा फिचरहरुको वास्तविक अनुभव गर्न सक्नुहुन्छ र सबैभन्दा मनपर्ने किन्न सक्नुहुन्छ । साथै ल्यापटपको मेटेरिएल, हिन्जेजको गुणस्तरका साथै ल्यापटपको तौल पनि आफैले परीक्षण गर्न सक्नुहुन्छ ।

त्यस्तै किबोर्डको लेआउट र गुणस्तरमा पनि ध्यान दिनु पर्दछ । धेरै टाइप गर्नुपर्ने ल्यापटप छ भने नम्बर तथा QWERTY की हरु छुट्टाछ्ट्टै भएको किबोर्ड उपयुक्त हुन्छ । धेरैजसो ल्यापटपको किबोर्डमा संख्याहरु पनि QWERTY की भित्रै राखिएको पाइन्छ ।

ल्यापटप किन्न जानु अगाडि तपाईले आफुले किन्न चाहेको मोडेलहरुको बारेमा अनलाइनबाटै स्पेसिफिकेसन, ग्राहकहरुको पृष्ठपोषण र विज्ञहरुको समीक्षा पढ्न सक्नुहुन्छ । साथै तपाईले ल्यापटप किन्नु अगाडि त्यसको वारेन्टी र सर्भिस सेन्टरहरुको बारेमा पनि जानकारी लिनु पर्दछ ।

तपाईले कुन ल्यापटप किन्दै हुनुहुन्छ भन्ने निधो गर्नु अगाडि उल्लेखित कुराहरुमा ध्यान दिनुभयो भने आफ्नो लागि उपयुक्त ल्यापटप खरीद गर्न सक्नुहुनेछ । बजारमा थुप्रै ल्यापटपहरु उपलब्ध छन्, तर आफ्नो आवश्यकता के हो ? भन्ने सुरुमै थाहा पाउनुभयो भने तपाईले आफूलाई उपयुक्त हुने ल्यापटप छनोट गर्न सक्नुहुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment