+
+

‘बालबालिकाले खोप नपाउनु स्वास्थ्य प्रणालीकै टाउको दुखाइ’

डा. रमेशकान्त अधिकारी, खोप विज्ञ डा. रमेशकान्त अधिकारी, खोप विज्ञ
२०७८ भदौ ७ गते १९:२७

नेपालमा खोपको इतिहास त्यति धेरै लामो छैन । अस्पतालहरूमा पहिलेदेखि नै खोप लगाउन शुरू गरिए तापनि खोपलाई अभियानकै रूपमा शुरू गरेको लामो समय भइसकेको छैन ।

सन् १९५९ मा अमेरिका र विश्व स्वास्थ्य संगठनको सहयोगमा राष्ट्रव्यापी मलेरिया उन्मूलन र अन्य रोग नियन्त्रणका कार्यक्रम सञ्चालन गरिएका थिए । काठमाडौं उपत्यकाका लागि बिफर उन्मूलन कार्यक्रम सन् १९६१ मा शुरू गरिएको थियो, सन् १९६६ मा राष्ट्रव्यापी अभियान पनि सञ्चालन गरियो । बिफर नेपालबाट सन् १९७५ देखि उन्मूलन भयो ।

बिफर अत्यन्त संक्रामक रोग थियो, जसले एक तिहाइ बिरामीको ज्यानै लिन्थ्यो । बाँचेकाहरू पनि जीवनभरि खत लिएर वा दृष्टिविहीन भएर बाँच्नुपर्थयो ।

सन् १९९० तिर नेपालमा अन्य खोपको कभरेज दर ३० प्रतिशत हाराहारी थियो । सन् २०१० सम्म पनि नेपालमा लहरे खोकी, दादुरा, निमोनियाले बालबालिका प्रशस्तै मर्थे । दादुरा रुबेला जस्ता रोगहरूले अहिले पनि बालबालिका मरिरहेका छन् । यो नेपालको मात्र नभएर विश्वव्यापी समस्या नै हो ।

सन् १९६८ मा खोप विकास नहुन्जेल संसारमा वाषिर्क रूपमा करीब २६ लाख मानिस दादुराका कारण मर्ने गर्थे । खोपको प्रयोगले सन् २००० को तुलनामा सन् २०१७ मा दादुराको कारण हुने मृत्युको संख्या ८० प्रतिशतले घटेको तथ्यांकले खोप लगाउन सबैलाई प्रेरित गरेको छ ।

बितेको शताब्दीमा खोपले करोडौं मानिसको ज्यान जोगाएको छ । तर पनि धेरै देशमा अझै खोप लगाउन हिचकिचाउँछन् । यो प्रवृत्तिसँग जानकार विश्व स्वास्थ्य सङ्गठन -डब्लुएचओ) ले यसलाई सन् २०१९ को १० प्रमुख विश्वव्यापी स्वास्थ्य सङ्कटको सूचीमा राखेको छ ।

नेपालले सबै खोपको कभरेज दर ९५ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । बिफर विरुद्ध खोप अभियान सफल भएपछि विस्तारै अन्य खोप कार्यक्रम शुरू भए । शुरूआती चरणमा चार वटा रोग विरुद्ध खोप दिइएको थियो । अहिले विभिन्न सरुवा रोग विरुद्ध १२ वटा खोप दिइन्छ । खोपलाई संक्रामक रोग विरुद्ध बलियो हतियार मानिन्छ । यसले जनस्वास्थ्य बलियो बनाउनलाई मद्दत गर्छ ।

विडम्बना के छ भने अझै पनि दुर्गम क्षेत्र, गरीब बस्ती तथा सुकुम्बासी बस्तीमा खोपको कभरेज दरमा सुधार भएको छैन

अन्य देशको तुलनामा नेपालको खोप कभरेज दर राम्रै मान्नुपर्छ, तर सन्तोषजनक स्थिति भने होइन । कतिपय देशले अझै पनि पोलियो निर्मूल पार्न सकेका छैनन् । धेरै देशका बालबालिकामा धनुष्टंकार रोग छ । हाम्रोमा यस्ता रोगहरू घटिसकेका छन् ।

खोपको कभरेज दरको कारणले पछिल्लो वर्ष नेपालको बाल मृत्युदर घटेको छ । जसको कारण मानव विकास सूचकांकमा सुधार आएको छ । हामीले पहिले पहिले सामान्य भन्दा सामान्य सरुवा रोगका कारण मर्ने बालबालिका धेरै देख्थ्यौं । तर, अहिले त्यस्तो केसहरू देखिन्न । अहिलेका पुस्ताको लागि विभिन्न किसिमका सरुवा रोग इतिहास भइसके । मानिसहरू यस्तो रोगहरू निर्मूल भइसक्दा पनि किन खोप लगाइएको छ भनेर तर्क गर्न थालेका छन् । त्यसो गर्नुको कारण यस्ता समस्या फेरि दोहोरिन नपाउन् भनेर हो ।

विश्व स्वास्थ्य संगठन, युनिसेफ, गाभी जस्ता संस्थाहरूले नेपाल जस्ता विकासोन्मुख देशहरूलाई खोप सहायता गरिरहेका छन् । त्यसको कारण नेपालमा खोप कभरेज बढेको हो । अझै पनि कतिपय देशहरूमा खोप कभरेजदर ५० प्रतिशत हाराहारी पनि छैन् । सन् २०१६ मा नेपालको खोपको कभरेज दर घटेको थियो, अहिले त्यसैगरी घटेको छ । तर खोप लगाउने भन्दा नलगाउने बालबालिका धेरै भएका भने होइनन् ।

नेपालमा अन्य देशको तुलनामा खोपको कभरेज बढ्नुको कारण सामुदायिक स्वास्थ्य प्रणालीले हो । सामुदायिक रूपमै खोपको वितरण गरिने भएकाले धेरै मानिस खोपको पहुँचमा पुगे । समुदायमा सूचनाको पहुँच राम्रो हुने भएकाले पनि हजारौं बालबालिका लाभान्वित भए । तर, विडम्बना के छ भने अझै पनि दुर्गम क्षेत्र, गरीब बस्ती तथा सुकुम्बासी बस्तीमा खोपको कभरेज दरमा सुधार भएको छैन ।

विश्वव्यापी महामारीको कारण राज्यको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणमा गयो । विज्ञ तथा आम मानिसको ध्यान समेत कोरोना खोपमै गयो । नेपालको स्वास्थ्य प्रणालीमा सहयोग गरिरहेका स्रोतहरू कोरोनामै केन्द्रित भए । धेरै मानिसले कोभिडको डरले नियमित खोपको विषयमा चासो दिएनन् । त्यसैगरी नियमित खोप अभियान सञ्चालन गर्दा भीडभाड भएर संक्रमण सर्छ भन्ने डर भयो । कोभिडबाट बच्नको लागि भीडभाड गर्नुहँुदैन भन्ने डरले शुरुआती चरणमा खोप कार्यक्रमहरू स्थगित नै भए ।

महामारीको डरको कारण खोपको कभरेज घट्दा दादुरा, रुबेला निमोनिया जस्ता रोगहरू फेरि फर्केला कि भन्ने डर छ । त्यसैले गर्दा खोप कभरेज बढाउनुपर्ने दबाब स्वास्थ्य प्रणालीलाई छ । अहिले खोप छुटेकाहरूलाई पाँच वर्षभित्रमा खोप दिन मिल्ने भएकाले डराइहाल्नुपर्ने अवस्था चाहिं छैन ।

अहिले खोप भन्ने बित्तिकै कोभिडको खोपको पैरवी गरिरहेका छन् । कोभिड बाहेक अन्य नियमित खोपलाई बेवास्ता गरिनुहँुदैन । अहिले छुटेका बालबालिकालाई खोजी-खोजी खोप नदिंदा पछि स्वास्थ्य प्रणालीलाई टाउको दुखाइ हुन्छ । विभिन्न संक्रामक रोग फैलिने जोखिम मात्र होइन, मृत्युदर र बालबालिकाको अपांग हुने दर समेत बढ्छ ।

धेरै मानिसको बुझाइ के छ भने बच्चा जन्मेको १५ महीनापछि खोप लगाउनुपर्दैन । तर त्यो बुझाइमा सत्यता छैन । किशोर-किशोरीदेखि प्रौढ अवस्थाको मानिसलाई पनि खोप दिन मिल्छ । पछिल्लो समय त्यस्ता किसिमका धेरै खोप बनेका छन् । पहिले एउटै पनि खोप नलाएकाले पनि अहिले खोप लगाउँदा विभिन्न संक्रामक रोगका विरुद्ध बचाउन सकिने सम्भावना हुन्छ ।

सन् २०११ बाट देशभरका सामुदायिक संस्थामा खोप वितरण गरेपछि नेपालमा खोप कभरेज दर बढ्न थालेको हो । अहिले कुनै पनि खोप लगाउँदै नलगाएका बालबालिका ३ प्रतिशत जति होलान् । कुनै न कुनै खोप लगाएका भने ८० प्रतिशत भन्दा बढी छन् । कोभिडले धेरै किसिमको पाठ सिकाएको छ । यसले सिकाएको पाठले आगामी महामारीमा काम गर्न पक्कै सहयोग गर्छ । यस्तै महामारी नआओस् भन्नकै लागि खोप लगाउने हो भन्ने कुरा यो महामारीले धेरैलाई सिकाएको छ ।

(खोप सल्लाहकार समितिका अध्यक्ष डा.अधिकारीसँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?