+
+

‘शहरी क्षेत्रका बालबालिका समेत खोप अभियानमा छुटेका छन्’

डा. झलक शर्मा गौतम, खोप महाशाखा प्रमुख डा. झलक शर्मा गौतम, खोप महाशाखा प्रमुख
२०७८ भदौ ७ गते १९:२८

नेपालमा एक वर्षभन्दा मुनिका करीब ६ लाख २० हजार बालबालिकालाई १२ वटा रोगका विरुद्ध नियमित खोपहरू दिइन्छ । देशभर १६ हजारभन्दा बढी खोप केन्द्रबाट वितरण हुने यी खोप सरकारले निःशुल्क दिएको छ ।

कार्यतालिका अनुसार खोप दिइए तापनि कतिपय ठाउँमा विविध प्राकृतिक कारणले गर्दा खोप दिन अप्ठ्यारो पर्छ । त्यस्तो अवस्थामा स्वास्थ्यकर्मी घर-घरमा पुगेर पनि खोप दिने गर्दछन् । नियमित खोपमा कोही पनि बालबालिका नछुटुन् भन्ने सरकारको उद्देश्य हो ।

खोप ऐन भएका देशहरू संसारभर एकदमै कम छन्, त्यसमध्ये नेपाल अग्रणी मुलुक हो । एकजना पनि बालबालिका खोपबाट बञ्चित हुनुहुँदैन भनेर सरकारले ‘खोज र खोपाउ’ भन्ने अभियान नै चलाएको छ ।

बच्चालाई जन्मने बित्तिकै लगाउने खोपको कभरेज साधारण समयमा पनि ९० प्रतिशत हाराहारीमा छ । तर जन्मिएको १५ महीनामा लगाउने खोपको कभरेज ७० देखि ७५ प्रतिशत भन्दा बढ्न सकेको छैन । सोही कारण हामीले ‘खोज र खोपाउ’ भन्ने अभियान अन्तर्गत प्रत्येक वर्षको वैशाख महीनालाई खोप महीना भनेर मनाउँछौं । त्यतिबेला वर्षभरि खोप लगाउन छुटेकालाई खोप दिन्छौं । सरकारको स्वास्थ्य प्रणालीका स्वास्थ्यकर्मीहरूले खोप लगाउन छुटेकाहरूलाई खोजी-खोजी खोप दिने गर्दछन् ।

हामीले यही अभियान अन्तर्गत ६४ जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिसकेका छौं । गण्डकी प्रदेश पूर्ण खोप युक्त प्रदेश भइसकेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश गण्डकीको बाटोमा लम्किएको छ । यो साधारण अवस्थाको कुरा भयो । कोभिड-१९ को विश्वव्यापी महामारी शुरू भएपछिको परिदृश्य भने बदलिएको छ ।

कोरोना महामारीको हल्ला शुरू भएसँगै २०७६ सालमा देशमा पहिलो पटक लकडाउन हुँदा १६ हजारमध्ये ८ हजार खोप केन्द्र मात्रै सञ्चालनमा आए । पहिलो लकडाउनले खोप कभरेजमा धेरै ठूलो असर पार्‍यो । लकडाउनको शुरूआतमै खोप कभरेज आधाभन्दा बढी घटेपछि हामीले सरोकारवालासँग छलफल गरेर जस्तोसुकै परिस्थितिमा पनि खोप केन्द्र खोल्ने र कुनै बाधा अवरोध नगर्ने भनेर सबै निकायलाई परिपत्र गर्‍यौं ।

कोरोना महामारीको अवस्थामा खोप अभियान कसरी चलाउने भनेर हामीले निर्देशिका बनायौं । निर्देशिका बनाएर काम थालेपछि खोप केन्द्रहरू खुल्न थाले । आधाभन्दा बढी खोप केन्द्र बन्द भएको दुई महीनापछि सबैजसो खोप केन्द्र सञ्चालनमा आए ।

अन्य देशको तुलनामा कोरोना महामारीको बेला खोप कभरेजमा नेपालले उदाहरणीय काम गरेको छ । लकडाउनकै बेलामा धादिङ, काठमाडौं, ललितपुर, मकवानपुर, चितवन जस्ता क्षेत्रमा दादुरा ‘आउटब्रेक’ भयो । त्यो बेला हामीले तुरुन्तै गएर छुटेका बच्चाहरूलाई खोप लगायौं ।

यस लगत्तै दादुरा रुबेला खोप अभियान सञ्चालन गरेर २८ लाख बालबालिकालाई दादुरा रुबेलाको खोप दियौं । लकडाउनको बेलामा कुनै पनि मुलुकले यसरी खोप अभियान चलाएन । त्यसैगरी बालबालिकालाई पखाला विरुद्धको रोटा खोप नियमित खोप अभियानमा संलग्न गरायौं ।

तर सबै पक्षमा हामीले सोचे जस्तो भएन । जन्मिंदा बित्तिकै लगाउनुपर्ने क्षयरोग विरुद्धको बीसीजी खोप आर्थिक वर्ष २०७५/७६ मा ९१ प्रतिशत बालबालिकाले लगाएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा त्यो सङ्ख्या ७६ प्रतिशतमा झर्‍यो । आर्थिक वर्ष २०७७/८८ मा खोप कभरेज बढेर ७९ प्रतिशत पुगे तापनि सामान्य अवस्थाको जस्तो भएन । डीपीटी खोपको कभरेज दर आर्थिक वर्ष २०७५/७६ मा ९० प्रतिशत थियो । आर्थिक वर्ष २०७६/७७ मा ८६ प्रतिशतमा झर्‍यो । त्यसैगरी आर्थिक वर्ष २०७७/७८ मा केही बढे पनि ८७ मात्रै पुगेको छ ।

बच्चा जन्मिएको १५ महीनामा दिने दादुरा रुबेलाको खोपको दोस्रो मात्रा आर्थिक वर्ष २०७५/७६ मा ७३ प्रतिशत थियो । आर्थिक वर्ष २०७६/७७ मा त्यो संख्या ७१ प्रतिशतमा झर्‍यो । आर्थिक वर्ष २०७७/८८ मा ८० प्रतिशत पुगेको छ । यो खोपको पहिलो मात्रा लिने बालबालिका आर्थिक वर्ष २०७५/७६ मा ८४ प्रतिशत थिए, त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा ८० र २०७७/८८ मा ८१ प्रतिशत पुगेको छ ।

धेरैजसो बच्चाहरू अनेक कारणले विभिन्न खोप लगाउन छुटेका हुन्छन् । सोही कारण हामीले दुईदेखि पाँच वर्षसम्मका बच्चाहरू खोप नलगाएका पाइयो भने ‘डिले सेड्युल’मा पनि खोप दिने व्यवस्था गरेका छौं । यो नीतिले खोप कभरेजको तथ्यांक सुधार गर्न मद्दत गरेको छ । तर पनि खोप कभरेज दर सन्तोषजनक भने छैन ।

महामारीको बेलामा हामीले निरन्तर विभिन्न संक्रामक रोगको सर्भिलेन्स गरिरहेका छौं । विभिन्न संक्रामक रोगका शंकास्पद बिरामी देखिएका छन् कि भनेर लगातार सर्भिलेन्स गरिरहेका हुन्छौं । कुनै पनि नयाँ संक्रामक रोगको विषयमा सर्भिलेन्स गर्न हामीलाई विश्व स्वास्थ्य संगठनले सहयोग गरिरहेको छ ।

खोप लगाउनु भनेको संक्रामक रोगबाट बच्नु हो । खोप लगाउँदा विभिन्न रोगबाट हुने बिरामी दर, मृत्युदर र अपांग हुने दर घट्छ । पोलियोको खोप दिएको कारण सन् २०१० देखि नेपालमा पोलियो शून्यको अवस्थामा छ । यो उपलब्धि नगुमाउनलाई निरन्तर खोप दिइरहनुपर्छ । जापानी इन्सेफेलाइटिसले गर्दा केही वर्षअघिसम्म तराईका जिल्लामा अस्पतालमा भर्ना गर्ने ठाउँ हुन्थेन, तर खोप दिन थालेपछि अहिले भेटिन्न । पहिले जस्तो अहिले दादुराका बिरामी भेटिन्न । अहिले कहींकतै दादुरा देखियो भने हामी तुरुन्त खोप दिन्छौं । समग्रमा हामीले सबै बालबालिकालाई खोपाउने हो । हामीले कम्तीमा ९५ प्रतिशत बच्चालाई खोपाउनुपर्छ भन्ने उद्देश्य राखेका छौं ।

सन् २०२३ सम्ममा दादुरालाई हामीले निर्मूल पार्ने लक्ष्य लिएका छौं । पोलियोको संक्रमण शून्यमा भएतापनि डब्लुएचओले घोषणा गर्न बाँकी छ । अरू विभिन्न संक्रामक रोगलाई नियन्त्रण गरिरहेका छौं । शंकास्पद रोगको निरन्तर जाँच गर्नुपर्ने हुन्छ । त्यसको लागि नमूना विदेश पठाउनुपर्ने हुन्छ । तर महामारीको बेला हाम्रो ल्याबलाई नै सक्षम बनाएर काम गर्‍यौं । गत वर्ष दादुराको आउटब्रेक भएको थियो तर यो वर्ष भएको छैन । अहिले विभिन्न संक्रामक रोग नियन्त्रण र निवारण भइरहनुको कारण नै हामीले खोप कभरेजमा राम्रो गरेकाले हो । पहिले जस्तो विभिन्न किसिमका संक्रामक रोगमा अहिले कमी आएको छ ।

ग्रामीण भेगका बालबालिका मात्रै होइन, शहरी क्षेत्रका बालबालिका पनि खोप अभियानमा छुटेका छन् । त्यसैगरी दुर्गममा पनि खोप कभरेज दर कमी छ । बाढीपहिरो र प्राकृतिक विपत्ति आइरहने ठाउँका बालबालिका पनि खोप अभियानमा छुटेका छन् । विभिन्न पेशा व्यवसायको कारणले पनि खोप छुटेको छ । कुनै बेला दाङमा खोप लगाएको एउटा परिवार मजदूरीको सिलसिलामा देशको अर्को ठाउँमा पुग्छ र अन्योलको कारण खोप लगाउन पाउँदैन । कोही गाउँबाट शहर आएपछि खोप केन्द्र थाहा नपाएर खोप कभरेज छुट्छ । पर्याप्त सूचना र चेतना नहुनु पनि खोप कभरेज कम हुनुको अर्को कारण हो ।

बुवा र आमा दुवै जागिरे भएकाले पनि खोप छुटिरहेको छ । हामीले बुझ्नुपर्ने कुरा के छ भने सरकारले दिएको खोप गुणस्तरीय छ । खोपका केही व्यापारीले सरकारको खोप राम्रो छैन भनेर प्रचार गर्छन् । तर काठमाडौंमा जस्तै हुम्लामा पनि ‘कोल्ड चेन मेन्टेन’ गरेर सरकारले खोप दिइरहेको छ । समग्रमा भन्नुपर्दा अन्य देशको तुलनामा नेपालको खोप कभरेज दर राम्रो भए तापनि सन्तुष्ट भएर बस्ने अवस्था छैन । किनकि खोप कभरेज दर कम्तीमा ९५ प्रतिशतको हाराहारीमा पुग्यो भने मात्र राम्रो मानिन्छ ।

अन्य देशको तुलनामा हाम्रो देशको खोप चेतना राम्रो छ । हाम्रा बा-आमाहरू कुद्दै कुद्दै खोप लिन आएका छन् । केही खोप छुटाए तापनि केही न केही खोप लगाएकै छन् । दशैं तिहार जस्ता चाडपर्वमा खोप कभरेज घटेको तथ्यांकले देखाउँछ । यो पटक महामारीको डरले लकडाउनको बेला खोप कभरेज दर घटेको छ ।

(स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप महाशाखा प्रमुख डा.गौतमसँग अनलाइनखबरकर्मी सागर बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?