+
+

सेकुगे र भिरनदीप चितवन टाइगर्सबाट ईपीएल खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १८:०२

काठमाडौं । श्रीलंकाका अन्तर्राष्ट्रिय खेलाडी सेकुगे प्रसन्न र मलेसियन क्रिकेटर भिरनदीप सिंहले बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) चितवन टाइगर्सबाट खेल्ने भएका छन् । ईपीएलको अगामी संस्करण असोज ९ गतेदेखि त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

सटिक लेग स्पिनर सेकुगेसँग श्रीलंकाबाट १ टेस्ट, ४० एकदिवसीय अन्तर्राष्ट्रिय र २० ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेको अनुभव छ । ट्वान्टी–२० का मान्यता प्राप्त सबै गरेर १७० खेलमा उनले १३५ विकेट लिँदा प्रतिओभर ७ रन खर्चेका छन् । उपयोगी ब्याट्सम्यान पनि रहेका ३६ वर्षे उनले १३८ छक्का र १०७ चौका प्रहार गरिसकेका छन् । सिमित ओभरको खेलमा उनी लामो समयसम्म श्रीलंकाको मुख्य स्पिनरको रुपमा रहे ।

सेकुगेले सन् २०११ मा अस्ट्रेलियाविरुद्ध कोलम्बोमा आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय ‘डेब्यु’ खेलमा ३२ रन खर्चेर ३ विकेट लिएका थिए । त्यसको तीन साता अघि उनले आफ्नो एकमात्र टेस्ट अस्ट्रेलियाविरुद्ध नै खेलेका थिए । उनले २०१६ मा आयरल्यान्डविरुद्ध ४६ बलमा ९५ रन बनाएर सनथ जयसुर्याले श्रीलंकाको नाममा राखेको फास्टेस्ट एकदिवसीय अन्तर्राष्ट्रिय शतकको नजिक पुगेका थिए । उनले २३ बलमा बनाएको अर्धशतक श्रीलंकाको एकदिवसीय अन्तर्राष्ट्रियमा पाँचौं फास्टेस्ट अर्धशतक पनि हो ।

उनले बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग इंग्ल्यान्डको काउन्टी टोलीबाट ट्वान्टी-२० ब्लास्ट खेलेका छन् ।

‘सेकुगे प्रसन्न प्रशस्त क्षमता भएका खेलाडी हुन् । उनको ब्याटिङ र बलिङ दुबैले खेलको नक्शा परिवर्तन गर्न सक्छ । उनी म्याच विजयी खेलाडी हुन् । विश्वभरी खेलेको उनको अनुभवले चितवन टाइगर्सलाई उपाधिको रुपमा अझ बलियो प्रत्यासी बनाएको छ । उनको आगमनले हाम्रो टोली अझ बलियो हुनेछ । नेपालको प्रमुख खेलकुद प्रतियोगितामा उनको क्षमतालाई हेर्न प्रतिक्षारत छौं’ चितवन टाइगर्सका मालिक किशोर भट्टराईले भने ।

भिरनदीप मलेसियाका मध्यपंक्तिका ब्याट्सम्यान हुन् । उनले विकेटकिपिङ गर्नुका साथै आवश्यक्ता अनुरुप देब्रेहाते बलिङ पनि गर्छन् । उमेर समूहदेखि प्रभावशाली प्रदर्शन गर्दै आएका उनले एसोसिएट क्रिकेटको भविष्यको रुपमा हेरिन्छ । हाल मलेसिया क्रिकेट टोलीका उपकप्तान पनि रहेका उनले २०१९ को जुन २४ मा थाइल्यान्डविरुद्ध खेल्दै ट्वान्टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

उनी नेपाली समर्थक माझ परिचित नाम हुन् । वैशाखमा भएको तीन देशीय ट्वान्टी–२० सिरिजमा उनले नेदरल्यान्ड्सविरुद्ध ५३ बलमा ८७ रन बनाएर दर्शकको मन जितेका थिए । हालै सम्पन्न मलेसिया क्रिकेट एसोसिएसन (एमसीए) सिरिजमा उनले सर्वाधिक रन बनाउनुका साथै विकेट लिएका थिए । उनले १९३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए ।

आउँदो सिजनको ईपीएलका लागि चितवनमा आवद्ध हुने भिरनदीप चौथो विदेशी खेलाडी हुन् । पाकिस्तानी अन्तर्राष्ट्रिय खेलाडी डानिस अजिज र अफगानिस्तानका मोहम्मद साहजाद टाइगर्समा अनुबन्धित भइसकेका छन् ।

‘मलेसिया क्रिकेटका लागि आज गर्वको दिन हो । हाम्रो टोलीका शीर्ष प्रदर्शन गर्दै आएका खेलाडी अनुबन्धित भएको खबरले हामी आज साँच्चै खुसी छौं । विरनद्धिपलाई ईपीएल आफ्नो प्रतिभा देखाउने एउटा ठुलो अवसर हुनेछ,’ वीरनदीपको नियुक्तीपछि मलेसिया क्रिकेट संघले भनेको छ ।

यस्तै चितवन टाइगर्सकी अप्रेसन डाइरेक्टर विनिता चौधरीले भनिन्, ‘एउटा एसोसिएट देशकै सदस्य भएकाले संगै अगाडि बढ्नु र एक अर्काको प्रतिभालाई हेर्नु हाम्रो जिम्मेवारी हुन्छ । टाइगर्सको युवा टोलीमा विरनद्धिपको पर्खाइमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?