+
+
अन्तर्वार्ता : सुहाङ नेम्वाङ :

‘इलामको विकास आयोजनाका सयौं फाइल बोकेर सिंहदरबार गएको छु’

काेशी प्रदेशकाे नामांकनलाई गोलमटोलमा होइन तथ्यमा हेर्नुपर्ने हुन्छ । के कोशी नामकरण गर्दा एमाले मात्रै थियो ? सबै पार्टीका माननीयज्यूहरू हुनुहुन्थ्यो होइन र ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते २०:५१

१५ वैशाखमा हुन गइरहेको प्रतिनिधि सभा उपचुनावका लागि नेकपा एमालेबाट इलाम २ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङसँग अनलाइनखबरका सुदीप श्रेष्ठले लिएको अन्तर्वार्ता :

चुनावी अभियान कस्तो चलिरहेको छ ?

असाध्यै उत्साहको साथ चलिरहेको छ । इलामेली आदरणीय जनसमुदायको न्यानो माया र स्वागत पाइरहेका छौं । उहाँले गर्नुभएको माया, विश्वास, भरोसा, उहाँहरूले दिनु भएको आशिर्वादले हामी उत्साही छौं । खुशी छौं ।

तपाईंलाई नै इलामे जनताले जिताउनुपर्ने चाहिं किन ?

यहाँलाई थाहा छ, नेपालमा प्रजातन्त्र स्थापना भएको ७५ वर्ष र नेपाल कम्युनिष्ट पार्टी स्थापनाको भएको ७६ पूरा भएको छ । यसबीचमा ७० को दशकसम्म हामीले पटक–पटक अधिकार प्राप्तिको आन्दोलन र अभियानमा समय खर्चिनुपर्‍यो ।

हाम्रा अग्रजहरूले गर्नुभएको कष्टसाध्य संघर्ष र बलिदान जगमा संविधान जारी भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नियम, कानुन र ऐनहरू निर्माण भएका छन् । अर्थात् अब हामी अधिकार प्राप्तिको आन्दोलन र अभियानको युगबाट समृद्धिको युगमा आइपुगेका छौं । व्यवस्था परिवर्तन गरेका छौं, अब अवस्था परिवर्तन गर्नुपर्नेछ । आजसम्मको यो लामो गौरवमय इतिहासमा इलामेली जनताको गौरव र गरिमालाई हाम्रा अग्रजहरूले सधैं उचो बनाउनु भएको छ ।

अब त्यही गौरव र गरिमा शिरमा राखेर समृद्ध इलाम बनाउनु छ । राजनीतिक परिवर्तन र संविधान निर्माणको नेतृत्वको हाम्रो इलामेली अग्रजहरूले गर्नुभयो । अब समृद्धिको नेतृत्व गर्नुछ । परिवर्तनको आन्दोलनमा हाम्रा अग्रजहरू जसरी च्याम्पियन बन्नुभएको छ । अब समृद्धिको अभियानमा पनि हामी उसैगरी च्याम्पियन बन्नु छ । त्यसको लागि मसँग स्पष्ट मार्गचित्र छ । मसँग योजना छ । मसँग विज्ञहरूको व्यवस्थित टिम छ । अग्रजहरूको साथ र आशिर्वाद छ । समृद्धिको नयाँ युगमा इलामलाई प्रवेश गराउने दृढ संकल्प छ । त्यसकारण इलामलाई समृद्धिको नयाँ युगमा लैजानको लागि हामीलाई जिताउने ।

युवाहरूसँग, वृद्धहरूसँग फोटो सेल्फीमा रमाइरहनु भएको छ है ?

हो, निर्वाचनको दौरानमा गाउँगाउँ पुग्दा मैले असाध्यै धेरै माया, विश्वास र आशिर्वाद पाएको छु । जहाँजहाँ पुगें, त्यहाँबाट मिठो सम्झना बोकेर आएको छु । उहाँहरूको माया देख्दा यस्तो लाग्थ्यो, ‘फर्केर नजाऊ उहाँहरूसँगै बसौं ।’ मेरो क्यामेरामा कैद ती हजारौं तस्वीरहरूले अब मलाई ढुक्कले निदाउन दिनेछैन । उहाँहरूको आशा, विश्वास र भरोसाले भरिएका ती तस्वीहरू हेर्दै मैले अहोरात्र ‘समृद्ध इलाम : सुखी इलामेली’को लागि सक्रिय हुनुपर्नेछ । ती सेल्फीका तस्वीरहरूले मलाई इलाम र इलामेली लागि अहोरात्र दौडिन, खट्न प्रेरित गर्नेछ । खबरदारी गर्नेछ । ती तस्वीरमा उहाँहरूको अनुहार मात्रै होइन मप्रतिको आशा, विश्वास र भरोसा पनि छ । त्यो त मेरो सम्पत्ति हो ।

राजनीतिक अनुभव नै नभएको व्यक्तिले इलामको जनताको प्रतिनिधित्व कसरी गर्न सक्छ भन्ने आशंका पनि सुनिन्छ नि ?

राजनीतिक अनुभवको मापन कसरी हुन्छ वा गरिन्छ ? कुनै औपचारिक पदमा बस्नु मात्रै त राजनीतिक अनुभव होइन होला नी हैन ? पहिलो कुरा, म राजनीतिक परिवारमा जन्मिएँ । जति बेलाबाट यो समाजलाई नजिकबाट बुझ्न सक्ने भएँ । त्यो बेलादेखि म निरन्तर राजनीतिमा जोडिएँ । जस्तो कि बुवाका हरेक भेटघाट, संवाद र छलफलहरू राजनीतिक हुन्थ्यो । मैले चाहेर वा नचाहेर सानैदेखि राजनीतिलाई नजिकबाट बुझें ।

हामीले अभ्यास गरेको प्रणाली, हामीले अपनाएको पद्धति र हाम्रो शासकीय संरचना, आयाम र सम्बन्धहरूलाई गहिरो गरी बुझेको छु । मलाई सिंहदरबारभित्र हुने सबै अभ्यास थाहा छ । दोस्रो कुरा, अहिले हेर्नुहोस् त स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा जति पनि माननीयहरू आउनु भएको छ । के उहाँहरू सबै अनुभवी हुनुहुन्थ्यो त ? आवश्यकता केवल अनुभवको मात्रै हो कि अध्ययन, ऊर्जा र पहलकदमीको हो ? मैले इलाम बुझेको छु । इलामेलीको सुखदुःख बुझेको छु । मैले इलामको विकास आयोजनाका सयौं फाइलहरु बोकेर सिंहदरबारका मन्त्रालयहरू पुगेको छु । अनुभव त्यही होइन र ?

हिजो त इलाम २ का जनतासँग फरक ठाउँमा मत हाल्ने विकल्प थिएन । अहिले विकल्प छ, पहिचान पक्षधर र रास्वपाप्रतिको बढ्दो झुकावलाई कसरी लिनुभएको छ ?

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष प्रतिस्पर्धा हो । हिजो पनि इलाममा लोकतान्त्रिक अभ्यास भएको थियो । मत हाल्ने अनेकौं विकल्प थिए । प्रतिस्पर्धामा हामीले हिजो पनि श्रेष्ठता हासिल गरेका हौं । आज पनि हामी सबै प्रतिस्पर्धीहरू आ–आफ्नो अजेन्डासहित मैदानमा छौं । अवश्य पनि सही र उत्कृष्ट छनोट गर्नुहुनेछ ।

कोशी प्रदेशको नामांकनका कारण तपाईंहरूलाई आक्षेप लाग्ने गरेको छ । पार्टी अध्यक्ष केपी ओलीले पनि मंगलबारेमा त्यही पहिचानको सन्दर्भमा स्पष्टीकरण मात्र दिनुपर्‍यो । पहिचानको मुद्दालाई कसरी लिनुभएको छ ?

मलाई कस्तो लाग्छ भने कुनै पनि विषय गोलमटोलमा होइन तथ्यमा हेर्नुपर्ने हुन्छ । आग्रहले होइन तथ्यको कसीबाट विश्लेषण गर्नुपर्दछ । पहिलो कुरा, के कोशी नामकरण गर्दा नेकपा (एमाले) मात्रै थियो ? प्रदेश सभाबाट कोशी नामाकरण गर्दैगर्दा अहिलेका सबै पार्टीका माननीयज्यूहरू हुनुहुन्थ्यो होइन र ? दोस्रो कुरा, फर्केर इतिहास हेर्नुहोस् त यो संविधानलाई अधिकतम् प्रगतिशील र समावेशी बनाउने कामको नेतृत्व नेकपा (एमाले)ले गरेको हो ।

संविधान सभाका अध्यक्षको हिसाबले सुवास नेम्वाङले गर्नुभएको योगदान घाम जस्तै छर्लङ्ग छ । जस्तै इलामकै सन्दर्भमा पनि किरात धर्म दर्शन वाङ्मयका महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा उहाँकै पहलमा गरिएको हो । किरात धर्म मुन्धुम, संस्कार, कर्मकाण्ड र ज्ञानकाण्डको प्रतिपादक महागुरुज्यूको योगदानलाई राष्ट्रिय सम्मान उहाँकै अग्रसरतामा गरिएको हो ।

अर्कातिर हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रंग मिलेर बनेको छ । सात रंग मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ । अझ हाम्रो देश त सयौं जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्रगानले भने जस्तै यो सयौं थुङ्गा फूल मिलेर बनेको माला जस्तै छ ।

यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । सबैको पहिचान हाम्रो शक्ति हो, सम्पति हो, गौरव हो । हामीले सम्मान, संरक्षण र रक्षा गर्नुपर्छ । यो शक्तिको बलमा हामीले समृद्धिको यात्रालाई उचाइमा लैजानु छ ।

अन्य पार्टीका त देशैभरका नेता इलाममा छन्, एमालेका अध्यक्ष बाहेक त फिल्डमा कोही भेटिएननन्, किन ?

ठीक भन्नुभयो, अरू पार्टीका देशभरका नेता इलाममा आउनु भएको छ । तर, हाम्रो पार्टीका नेताहरू त्यसरी आउनु भएको छैन । किनभने हामीलाई सबैभन्दा बढी भरोसा र विश्वास इलामेली जनताप्रति छ ।

हाम्रो कुरा इलामेली जनतालाई हामीले नै सुनाउने हो । इलामेली जनताको दुःखसुख हामीलाई नै थाहा छ । यहाँका अग्रज, यहाँका नौजवान, यहाँका नानीहरूको आशा, अपेक्षा र समस्याका बारेमा हामीलाई जानकारी छ । त्यस विषयमा हामीले नै छलफल गर्ने हो । योजना बनाउने हो । इलाम त हामीले नै बनाउने हो नी होइन र ?

सुवास नेम्वाङबाट इलामको राजनीतिक यात्रा सुहाङ नेम्वाङसम्म आइपुग्दा जनताले फरक के पाउने ?

देशमा लोकतन्त्र बलियो बनोस्, संविधान र विधिको शासन होस्, मानव अधिकारको प्रत्याभूति होस्, सुशासन र सामाजिक न्याय सुनिश्चित होस् भनेर बुबाले सिङ्गो जीवनभरि सङ्घर्ष गर्नुभयो ।

बुबा लोकतन्त्रका अटल हिमायती हुनुहुन्थ्यो । त्यसैले विचारको विविधता, बहुदलीय प्रतिस्पर्धा र स्वस्थ बहसलाई सधैभरि सम्मान गर्नुहुन्थ्यो । आफ्नै नेतृत्वमा घोषणा भएको नेपालको संविधानले सबै विचार, वाद र आस्थालाई, सबै धर्म, संस्कृति र पहिचानलाई सहअस्तित्व र विकासको ठाउँ दिएको छ र यसकै आधारमा जस्तासुकै मत भिन्नतालाई पनि समाधान गर्न सकिन्छ । समृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ भन्नेमा उहाँ अविचलित हुनुहुन्थ्यो । देशको स्वाधिनता र स्वाभिमानको उहाँ दृढ हिमायती हुनुहुन्थ्यो ।

इलामेली जनताको दुःखसुख हामीलाई नै थाहा छ । यहाँका अग्रज, यहाँका नौजवान, यहाँका नानीहरूको आशा, अपेक्षा र समस्याका बारेमा हामीलाई जानकारी छ ।

पछिल्ला दिनमा मुलुकको राजनीति बिग्रँदै गएको, जनतामा निराशा बढ्दै गएको र संविधान तथा कानुनले कल्पना नगरेको अराजक क्रियाकलाप बढ्न थालेकोमा उहाँले सार्वजनिक रूपमै चिन्ता व्यक्त गर्नुहुन्थ्यो । सबै भाषाभाषी, जातजाति, धर्म र संस्कृतिहरूको सहअस्तित्व र आपसी एकता तथा मेलमिलापले मात्रै राष्ट्रिय एकता बलियो हुन्छ भन्ने मान्यता राख्नुहुन्थ्यो ।

मेरो प्रयास पनि संविधानवादका आधारमा मुलुकलाई सञ्चालन गर्ने, विधिको शासनको परिपालना गर्ने गराउने, मानव अधिकार र सामाजिक न्याय सुुनिश्चित गर्ने र समृद्ध नेपाल, सुखी नेपालीको अभियानमा सम्पूर्ण रुपमा समर्पित हुनेछ । जिल्लाको विकास निर्माण र जनसेवाका काममा पनि आफ्नो ठाउँबाट सम्पूर्ण रूपले लागिपर्ने मेरो कर्तव्य हुनेछ । सारमा यति भनौं, उहाँले परिवर्तन र संविधान निर्माणको नेतृत्व गर्नुभयो । म अब समृद्धिको युगको नेतृत्व गर्नेछु ।

इलाम सुन्दर छ । देशैभरिको आकर्षणको केन्द्र पनि बनेको छ । तर देशका अरु भूभागमा जस्तै यहाँ पनि बसाइँसराइका समस्या छन् । यहाँ पनि बेरोजगारीका समस्या छन् । यहाँ पनि युवाहरूलाई स्वरोजगार बनाएर कसरी गाउँघरमा अड्याउने समस्या छन् । मेरै उमेरका र अझ म भन्दा पनि ससाना भाइबहिनीहरू रोजगारीको खोजीमा विदेश जान वाध्य भएको दृश्यले मेरो मुटु पोल्छ । म एकै जनाले गरेर नहोला, तर मैले युवा साथीहरूमाझ एउटा उदाहरण प्रस्तुत गर्न सक्छु भन्ने ठान्छु । कुनै पनि देश रातारात समृद्ध बनेको होइन । अरु कसैले बाहिरबाट आएर बनाइदिएको पनि होइन । हरेक देशका युवाहरूले आफ्नो देश आफैं बनाउने अठोट नगरेको भए कुनै पनि देश विकसित हुने थिएनन् ।

अवश्य पनि देशमा समस्या छन् । राजनीतिमा पनि विकृति छन् । युवाहरूले खोेजे जस्तो वातावरण छैन । तर यो समस्या त हामी आफैं मिलेर समाधान गर्ने हो । समाधान गर्न सकिन्छ भन्ने मलाई पूरा विश्वास पनि छ । म युवा साथीहरुसँग मिलेर, उहाँहरुकै साथी भएर, उहाँहरुकै सल्लाह र सहयोग लिएर इलामको समृद्धिका लागि काम गर्न सक्छु भन्ने विश्वास लिएको छु ।

अहिलेसम्मको चुनावी माहौल कस्तो देख्नुहुन्छ ?

असाध्यै राम्रो छ । इलामेली जनताले हामीलाई अपार माया गर्नुभएको छ । विश्वास गर्नुभएको छ ।

डेढ वर्षअघि बुबाले प्राप्त गरेको मतको अंकगणितले तपाईहरू ढुक्क बन्नुभएको हो ?

अंक गणितले होइन अहिले इलामेली जनताले हामीप्रति देखाउनुभएको माया, गर्नुभएको विश्वास र भरोसाको कारण ढुक्क भएको हो ।

तस्वीरहरू : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?