Comments Add Comment

टोकियो ओलम्पिकमा अमेरिकन पौडीबाज ड्रेसलले जिते चौथो स्वर्ण

१७ साउन, काठमाडौं । अमेरिकन पौडीबाज सेलेब ड्रेसलले जापानमा भइरहेको टोकियो ओलम्पिकमा ५० मिटर फ्रिस्टाइलमा ओलम्पिक कीर्तिमान सहित स्वर्ण जितेका छन् । टोकियोमा उनको स्वर्ण संख्या चार पुगेको छ ।

आइतबार बिहान भएको प्रतिस्पर्धामा ड्रेसलले २१.०७ सेकेण्डमा दूरी पूरा गर्दै स्वर्ण जिते । उनले ब्राजिलका सेलार सेइलोको नाममा रहेको २१.३० सेकेण्डको ओलम्पिक कीर्तिमान तोडे । यस इभेन्टमा विश्व कीर्तिमान पनि उनै सेइलोको नाममा रहेको छ । उनले २००९ मा २०.९१ सेकेण्डको कीर्तिमान बनाएका थिए ।

फ्रान्सका फ्लोरेन्ट मालाउडे २१.५५ सेकेण्ड समय निकनल्दै रजत जिते भने ब्राजिलका ब्रुनो फाटासले २१.५७ सेकेण्डसहित कास्य जिते ।

टोकियोमा ड्रेसलको यो चौथो स्वर्ण हो । २४ वर्षीय ड्रेसलले यसअघि चार गुणा १०० मिटर फ्रिस्टायल, १०० मिटर फ्रिस्टाइलमा र १०० मिटर बटरफ्लाइमा स्वर्ण जितिसकेका छन् । १०० मिटर फ्रिस्टाइलमा उनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेका थिए भने १०० मिटर बटरफ्लाइमा नयाँ विश्व कीर्तिमान बनाएका थिए ।

नेक्स्ट माइकल फेल्प्सको रुपमा समेत हेरिएको ड्रेसलले २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा दुई स्वर्ण जितेका थिए । विश्व पौडीका लेजेण्ड अमेरिकन माइकल फेल्प्सले २०१६ को रियो ओलम्पिक पछि सन्यास लिए । त्यसपछि धेरैले ड्रेसललाई पौडीमा नयाँ स्टारका रुपमा हेरेका छन् ।

रियो ओलम्पिकमै ड्रेसलले फेल्प्ससहितको टिमबाट चार गुणा १०० मिटर फ्रिस्टाइल रिलेमा र चार गुणा १०० मिटर मिडले पनि स्वर्ण जितेका थिए । त्यतिबेला उनी १९ वर्षका थिए ।

त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आएका ड्रेसलले २०१७ को फिना वर्ल्ड च्याम्पियनसिपमा ७ स्वर्ण जितेका थिए । यस्तै २०१९ को वर्ल्ड च्याम्पियनसिपमा ६ स्वर्ण र दुई रजत जितेका थिए ।

यस्तै महिला ५० मिटर फ्रिस्टाइलमा अष्ट्रेलियाकी इम्मा म्याककेओनले ओलम्पिक कीर्तिमानसहित स्वर्ण जितेकी छन् । उनले २३.८१ सेकेण्ड समयसहित स्वर्ण जितिन् । यस इभेन्टमा सन् २०१७ मा विश्व कीर्तिमान बनाएकी स्वीडेनकी साराह सोएस्ट्रोएमले भने २४.०७ सेकेण्ड समय लगाउँदै रजत जितिन् । डेनमार्ककी पेर्निल ब्लुमले २४.२१ सेकेण्डसहित कांस्य जितिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment