Comments Add Comment

अष्ट्रेलियाबाट बाहिरिनेलाई थप कडाइ

फाइल तस्वीर

२२ साउन, काठमाडौं । अष्ट्रेलियाले आफ्नो मुलुक छाड्ने नागरिकलाई थप कडाइ गर्ने नियम ल्याएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार कुनै सूचना नै नदिई अष्ट्रेलिया सरकारले मुलुक छाड्नेलाई कडाइ गर्न लागेको हो ।

कोरोना भाइरस संक्रमण नियन्त्रणको रणनीतिअनुसार गत वर्षको मार्चदेखि अष्ट्रेलियाले आफ्ना नागरिकलाई  विदेश जानबाट रोक्दै आएको छ । यो प्रतिबन्ध यसअघि नै विदेशमा बस्दै आएका अष्ट्रेलियाली नागरिकमा भने लागू हुँदैनथ्यो । तर, अहिले त्यस्ता मानिसले पनि मुलुक छाड्दा कारण देखाउनुपर्ने भएको छ ।

अष्ट्रेलियाले सीमामा गरेको कडाइ अहिले विवादित बनेको छ । आलोचकहरुले आगामी साताबाट लागू हुने यो नियमले अष्ट्रेलियाका नागरिकलाई थप सास्ती हुने र अष्ट्रेलिया फर्किनबाट रोक लगाउने बताएका छन् । तर, सरकारले भने कोरोना संक्रमण नियन्त्रणका लागि यस्तो नियम ल्याएको बताएको छ ।

अष्ट्रेलियाले यसअघि नै मुलुक आउने मानिसहरुका लागि विशेष कारण देखाउनुपर्ने र निश्चित साप्ताहिक संख्या तोकेको छ । अष्ट्रेलियाको कोरोना नियन्त्रणको कदम विश्वकै सबैभन्दा कडा लकडाउनमध्येको एक हो ।

गत महिना अष्ट्रेलियाले डेल्टा भेरियन्टसहितको संक्रमण बढेको भन्दै मुलुक भित्रिनेको संख्या आधा घटाउने निर्णय गरेको थियो । यो निर्णयसँगै अष्ट्रेलियाका धेरै मानिसले विरोध प्रदर्शन गरेका थिए ।

कोरोना नियन्त्रणका लागि सरकारले सीमामा गरेको कडाइले केही फाइदा पुगेको भए पनि यसले त्यहाँका मानिसले भने समस्या भोग्दै आएका छन् । अष्ट्रेलियाको सरकारले भने मुलुकको ८० प्रतिशत मानिसलाई खोप नलगाउँदासम्म सीमा बन्द रहने बताएको छ । अहिले अष्ट्रेलियामा केवल १९ प्रतिशतले कोरोना खोप लगाएका छन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment