+
+
Shares

अस्ट्रेलियामा महिला सांसदलाई कार्यालय बाहिर कारले कुल्चियो, अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २ गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियाकी स्वतन्त्र सांसद हेलेन हेन्सलाई सोमबार वाङ्गाराटास्थित कार्यालयबाहिर कारले ठक्कर दिँदा उनी गम्भीर घाइते भइन् र हेलिकोप्टरमार्फत अस्पताल लगियो।
  • प्रहरीले ४३ वर्षीय चालकलाई पक्राउ गरी जानाजान निसाना बनाइएको हुन सक्ने आशङ्कामा अनुसन्धान गरिरहेको छ र कारभित्रबाट चक्कु बरामद भएको छ।
  • प्रधानमन्त्री एन्थोनी अल्बानिजले आक्रमणको कारण खुल्न बाँकी रहेको भन्दै अनुसन्धानमा आतङ्कवाद निरोधक टोली पनि सहभागी हुने बताए।

२ कात्तिक, काठमाडौं । अस्ट्रेलियाकी स्वतन्त्र सांसद हेलेन हेन्सलाई सोमबार उनकै कार्यालयबाहिर कारले ठक्कर दिएको छ।

६५ वर्षीया हेन्सको अवस्था गम्भीर रहेको छ भने उनलाई हेलिकोप्टरमार्फत अस्पताल लगिएको छ।

यो घटना भिक्टोरिया राज्यको वाङ्गाराटा सहरमा भएको हो, जुन मेलबर्नबाट करिब तीन घण्टाको दूरीमा पर्छ। प्रहरीका अनुसार, हेन्स आफ्नो निर्वाचन क्षेत्रको कार्यालयबाहिर निस्किएकी थिइन्, त्यही बेला एउटा टोयोटा ल्यान्ड क्रुजर एसयुभीले उनलाई ठक्कर दिएको थियो।प्रहरीले ४३ वर्षीय आरोपित चालकलाई पक्राउ गरेको छ। सांसदलाई जानाजान निसाना बनाइएको हुन सक्ने प्रहरीको आशङ्का छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ भने आरोपितको कारभित्रबाट एउटा चक्कुसमेत बरामद गरिएको छ।

हमलाको कारण खुल्न बाँकी : प्रधानमन्त्री अल्बानिज

प्रधानमन्त्री एन्थोनी अल्बानिजले आक्रमणको पछाडिको कारण अहिले नै बताउनु हतार हुने बताएका छन्। उनले पक्राउ परेका आरोपितको अनुसन्धानमा आतङ्कवाद निरोधक टोली पनि सहभागी हुने जानकारी दिए।

भिक्टोरिया प्रहरीका कार्यवाहक सुपरिटेन्डेन्ट एस्ले मेसनले सर्वसाधारणका लागि हाल कुनै थप खतरा नरहेको स्पष्ट पारेका छन्।

हेलेनको विषयमा कुरा गर्दा भावुक बने प्रधानमन्त्री

प्रधानमन्त्री अल्बानिज हेलेनको बारेमा कुरा गर्दै भावुकसमेत बने। एबीसीको लाइभ टिभी कार्यक्रम ‘७३०’ मा अन्तर्वार्ताका क्रममा उनका आँखा रसाएका थिए।

सांसदहरूले आफूलाई आउने धम्की र सुरक्षा चुनौतीबारे आपसमा छलफल गर्छन् कि गर्दैनन् भन्ने प्रश्नमा उनले भने, ‘अहिले मलाई मेरो एक सहकर्मीको मात्र चिन्ता छ।’

अल्बानिजले हेलेनलाई इमानदार र आफ्नो समुदायप्रति समर्पित नेताको रूपमा चित्रण गर्दै उनले आफ्नो क्षेत्रका जनताका आवश्यकताका विषयमा खुलेर विचार राख्ने गरेको बताए।

जनप्रतिनिधिहरू सुपरमार्केट, सडक वा सार्वजनिक बैठकहरूमा सर्वसाधारणसँग कुराकानी गर्न डराउनुपर्ने राजनीतिक माहोल आफूले देख्न नचाहेको पनि उनले स्पष्ट पारे।

सहयोग गर्नेहरूप्रति परिवारको आभार

हेलेन हेन्सको परिवारले उनको फेसबुक पेजमार्फत एक विज्ञप्ति जारी गर्दै तत्काल उद्धारमा खटिने सर्वसाधारण, स्वास्थ्यकर्मी र प्रहरीप्रति आभार प्रकट गरेको छ। मानिसहरूले तुरुन्तै सहयोग गरेको र स्वास्थ्यकर्मीहरूले सांसदको ज्यान बचाउन अथक प्रयास गरेको परिवारले जनाएको छ।

(एजेन्सीहरूको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?