+
+
Shares

अस्ट्रेलियामा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख, एकै महिना भित्रिए ७ लाख पर्यटक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते ९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्ट्रेलियामा जुन २०२६ सम्म एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुगेको छ, जुन अहिलेसम्मकै उच्च दर हो।
  • जुलाई २०२६ मा अस्ट्रेलिया ७ लाख १० हजार ८० विदेशी आगन्तुक पुगेका छन्, तर यो सन् २०१९ को जुलाईभन्दा १० प्रतिशत कम हो।
  • जुलाईमै विदेश घुमेर फर्किने अस्ट्रेलियाली बासिन्दाको संख्या १२ लाख ५० हजारभन्दा बढी पुगेको छ, जुन सन् २०१९ भन्दा ११.४ प्रतिशत बढी हो।

२८ भदौ, काठमाडौं । अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्याले नयाँ रेकर्ड कायम गरेको छ भने विदेशी पर्यटकको आवागमन पनि विस्तारै लयमा फर्किन थालेको छ।

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले सार्वजनिक गरेको पछिल्लो आधिकारिक तथ्यांकअनुसार जुन २०२६ सम्ममा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुगेको छ।

यसैगरी, जुलाई महिनामा ७ लाख १० हजारभन्दा बढी विदेशी आगन्तुक अस्ट्रेलिया पुगेका छन्।

बहु–रोजगारीमा महिला र युवा अगाडि

तथ्यांकअनुसार कुल रोजगारीमा रहेका मानिसमध्ये ६.९ प्रतिशतले एकभन्दा बढी काम गरिरहेका छन्, जुन अहिलेसम्मकै उच्च दर हो। गत मार्च महिनामा यस्तो संख्या ९ लाख ८४ हजार २०० थियो।

एकभन्दा बढी काम गर्नेमा पुरुष (६.२ प्रतिशत) को तुलनामा महिला (७.७ प्रतिशत) को हिस्सा बढी छ।

२० देखि २४ वर्ष उमेर समूहका युवाहरू सबैभन्दा धेरै (११.२ प्रतिशत) बहु–रोजगारीमा संलग्न छन्। ६५ वर्ष वा सोभन्दा माथिका मानिसहरूमध्ये भने ३.१ प्रतिशतले मात्र एकभन्दा बढी काम गरिरहेका छन्।

बहु–रोजगारी गर्नेहरूले सातामा औसत ३९.३ घण्टा काम गर्ने गरेका छन् भने एउटै काम गर्नेको औसत साप्ताहिक कार्यसमय ३४.८ घण्टा रहेको छ। हाल अस्ट्रेलियामा १ करोड ४१ लाख मानिसले एउटै मात्र रोजगारी गरिरहेका छन्।

राजधानी सहरहरूको तुलनामा क्षेत्रीय तथा ग्रामीण भेगमा एकभन्दा बढी काम गर्ने प्रवृत्ति धेरै देखिएको छ। सन् १९९४ देखि २०१९ सम्म ५ देखि ६ प्रतिशतको बीचमा रहेको यस्तो दर कोभिड महामारीमा घटेको थियो। तर महामारीपछि बहु–रोजगारी गर्नेको संख्या पुनः बढ्दै गएको छ।

जुलाईमा ७ लाख १० हजार विदेशी आगन्तुक

अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकै अर्को तथ्यांकअनुसार जुलाई २०२६ मा छोटो अवधिका लागि अस्ट्रेलिया जाने विदेशी आगन्तुकको संख्या ७ लाख १० हजार ८० पुगेको छ। यो संख्या कोभिड महामारीपूर्व (सन् २०१९) को जुलाईको तुलनामा १० प्रतिशतले कम हो।

अस्ट्रेलिया भ्रमणमा जाने विदेशीहरूमध्ये सबैभन्दा धेरै न्युजिल्याण्डका नागरिक (१८.९ प्रतिशत) रहेका छन्। त्यसपछि क्रमशः चीन र अमेरिकाबाट धेरै आगन्तुक त्यहाँ पुगेका छन्। राज्यगत रूपमा न्यु साउथ वेल्समा सबैभन्दा धेरै (२ लाख ४७ हजार ४१०) र टापु राज्य टास्मानियामा सबैभन्दा कम (८४ हजार ३२०) आगन्तुक पुगेका छन्।

यसैबीच, जुलाई महिनामै विदेश भ्रमण गरी स्वदेश फर्किने अस्ट्रेलियाली बासिन्दाको संख्या १२ लाख ५० हजारभन्दा बढी छ। यो सन् २०१९ को तुलनामा ११.४ प्रतिशतले बढी हो।

अस्ट्रेलियाली यात्रुहरूका लागि इण्डोनेसिया सबैभन्दा लोकप्रिय गन्तव्य बनेको छ, जहाँ कुल यात्रुमध्ये १५.१ प्रतिशतले भ्रमण गरेका थिए। इण्डोनेसियापछि न्युजिल्याण्ड र बेलायत उनीहरूको रोजाइमा परेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?