News Summary
Generated by OK AI. Editorially reviewed.- अष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीमा कर्मचारीहरूले तलब वृद्धि लगायत माग राखेर २४ घण्टा लामो राष्ट्रव्यापी हड्ताल सुरु गरेका छन्।
- हड्तालका कारण एबीसीको टेलिभिजन, रेडियो र डिजिटल सेवा प्रभावित भएको छ। एबीसी टेलिभिजनले बीबीसीका कार्यक्रमहरू प्रसारण गर्न बाध्य भएको छ ।
- रेडियो स्टेशनहरूमा पनि पुराना कार्यक्रमहरू र संगीत मात्र बजाइएको छ ।
काठमाडौं । एआई प्रयोग नगर्ने सुनिश्चितता लगायतका मागसहित कर्मचारीले सुरु गरेको हड्तालका कारण अष्ट्रेलियाको सरकारी सञ्चारमाध्यम एबीसीको सेवा प्रभावित भएको छ । कर्मचारी हड्तालका कारण एबीसीले बीबीसीको कार्यक्रम प्रसारण गर्न बाध्य भएको छ ।
द गार्जियनका अनुसार कर्मचारीहरुको आन्दोलनका कारण एबीसी टेलिभिजन, रेडियो र डिजिटल सेवा प्रभावित भएको छ ।
एबीसीका २ हजारभन्दा बढी कर्मचारीहरू छन् । उनीहरुले विभिन्न माग राखेर २४ घण्टा लामो राष्ट्रव्यापी हड्ताल सुरु गरेका छन् । विगत २० वर्षमा पहिलो पटक यसस्तरको आन्दोलन भएको गार्जियनले लेखेको छ ।
एआई प्रयोग नगर्ने सुनिश्चितताको माग
कर्मचारीहरूले मुख्यतया तीनवटा माग राखेर आन्दोलन गरेका हुन् । उनीहरुको मुख्य माग तलब वृद्धिसँग सम्बन्धित छ । व्यवस्थापनले तीन वर्षमा १० प्रतिशत तलब वृद्धि गर्ने जनाएको छ । तर कर्मचारीहरुलाई त्यो ‘कम’ भएको जनाएका छन् । किनकि अष्ट्रेलियाको मुद्रास्फीति दर ३.८ प्रतिशत छ ।
एबीसीकी प्रख्यात प्रस्तोता फ्रान केलीले सिड्नीस्थित मुख्यालय बाहिर कर्मचारीहरूको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै भनिन्, ‘धेरै राम्रा पत्रकार र उत्पादकहरूले जागिर छाड्नु परिरहेको छ, किनभने उनीहरू यो तलबमा सिड्नीजस्तो महँगो सहरमा बस्न सक्दैनन् ।’
यसैगरी रात्रिकालीन सेवाको अतिरिक्त भत्ता र प्रजनन स्वास्थ्य बिदा जस्ता सुविधाहरूको माग पनि कर्मचारीहरुले गरेका छन् ।
साथै पत्रकारहरूको ठाउँमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग नगर्ने सुनिश्चितताको माग पनि उनीहरुले गरेका छन् ।
प्रसारणमा अवरोध भएपछि बीबीसीको सहारा
बुधबार बिहान ११ बजेदेखि कर्मचारीहरू काम छाडेर सडकमा उत्रिएपछि एबीसी न्यूज च्यानलले बाध्य भएर बीबीसी वर्ल्ड सर्भिसका कार्यक्रमहरू प्रसारण गर्न थालेको छ । रेडियो स्टेशनहरूमा पनि पुराना कार्यक्रमहरू र संगीत मात्र बजाइएको छ ।
एबीसीका प्रबन्ध निर्देशक ह्यु मार्क्सले भने कर्मचारीको मागका अगाडि नझुक्ने संकेत दिएका छन् । उनले कर्मचारीको लागत बजेटको ६० प्रतिशत रहेको र तलब धेरै बढाउँदा कर्मचारी कटौती गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् । मार्क्सले यो विवाद ‘कामको सुरक्षा’ भन्दा पनि ‘तलब’ मा केन्द्रित रहेको दाबी गरेका छन् ।
ऐतिहासिक विरोधको पुनरावृत्ति
हड्तालका क्रममा रेडियो स्टेशन ‘ट्रिपल जे’ ले सन् १९९० को आन्दोलनको सम्झना दिलाउँदै एन.डब्लु.ए.को ‘एक्सप्रेस योर सेल्फ’ गीत बजाएको थियो । सन् १९९० मा पनि कर्मचारीहरूले लगातार ८२ पटक यही गीत बजाएर विरोध जनाएका थिए ।
मिडिया, इन्टरटेनमेन्ट एण्ड आर्ट्स एलायन्स (एम.ई.ए.ए.) का अनुसार व्यवस्थापनले कर्मचारीको सम्मान नगरेसम्म र उचित सम्झौता नभएसम्म आन्दोलन जारी रहने देखिन्छ ।
प्रतिक्रिया 4