+
+

वीरगञ्जकै वडा कार्यालयमा भेटिंदैनन् जनप्रतिनिधि र कर्मचारी

सुरेश बिडारी सुरेश बिडारी
२०७८ साउन २६ गते १९:४८

२६ साउन, वीरगञ्ज । ७२ वर्षीया हुस्मा देवानी दुई दिनदेखि वीरगञ्ज महानगरपालिकाको २६ नम्बर वडा कार्यालय धाइरहेकी छन् । उनलाई बसाइँसराइको कागज बनाउनुपर्ने छ । तर कार्यालयमा न वडाध्यक्ष भेटिन्छन्, न वडासचिव वा अन्य कर्मचारी नै । कार्यालय सहयोगी मान्छे नहुने बित्तिकै कार्यालय बन्द गरेर हिँडिदिन्छन् ।

कार्यालयमा आउन जान सवारी साधन पाइँदैन, अटो भाडामा लिने पैसा उनीसँग छैन । विन्दवासिनी गाउँपालिका–४ मधवलबाट बहिनी–ज्वाइँ महबुब देवानको साइकल पछाडि बसेर उनी आउने जाने गरिरहेकी छन् । सोमबार जस्तै मंगलबार पनि वडाध्यक्ष, सचिव र कर्मचारीको बाटो कुर्दाकुर्दै उनको दिन बित्यो । उनी निराश हुँदै घर फर्किएकी छन् ।

‘जेठानी दिदी उतै हामीसँगै मधवलमा बस्नुहुन्छ, वृद्धभत्ताका लागि बसाइँसराइँको कागज बनाउन आएको दुई दिन भइसक्यो,’ वृद्धका बहिनी–ज्वाइँ महबुबले भने, ‘साइकलमा डेढ–दुई घण्टा लगाएर आउँछौं, वडाध्यक्ष, सचिव र कर्मचारी कार्यालयमा नबस्दा खाली हात फर्कनु परिरहेको छ ।’

केही वर्षदेखि उनले सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता थाप्दै आएकी थिइन् । तर अर्को गाउँ गएपछि उनले यो सुविधा पाउन सकेकी छैनन् । विन्दवासिनी–४ को वडा कार्यालयले बसाइँसराइको कागजात ल्याए आवश्यक प्रक्रिया पूरा गरेर उतैबाट भत्ता दिने आश्वासन दिएको छ । तर वर्षायाममा वडा कार्यालय धाउँदाधाउँदै उनी निराश बनेकी छन् ।

स्थानीय हसमुद्दिन अन्सारी पनि शुक्रबारदेखि छोरीको जन्मदर्ताका लागि वडा कार्यालय धाइरहेका छन् । तर कार्यालयका जिम्मेवार जनप्रतिनिधि र कर्मचारी नभेट्दा उनको काम हुन सकेको छैन ।

‘बिहान १० बजे आउँदा ताला लागेको हुन्छ, खुलेको रहेनछ भनेर घरतिरको काम सकाएर एक डेढ घण्टापछि आउँदा पनि ताला नै लागेको हुन्छ,’ उनले दुःखेसो पोखे, ‘वडाध्यक्ष र कर्मचारी कतिखेर आएर जान्छन् कि आउँदै आउँदैनन् थाहा नै हुँदैन ।’ कार्यालयमा वडाध्यक्ष, सचिव राम्रोसँग नबस्ने हुँदा अन्य कर्मचारीहरुले समेत लापरबाही गर्ने गरेको उनी बताउँछन् ।

स्थानीय इसराद्दिन हुसैन अन्सारी वडा कार्यालयबाट दैनिक सेवाग्राही रित्तो हात फर्केको आफूले देख्ने गरेको बताउँछन् । ‘कार्यालयमा न वडाध्यक्ष रहन्छन्, न कुनै जिम्मेवार कर्मचारी,’ उनले भने, ‘सेवा दिन नसक्ने भए कति दिन नसक्ने हो, उल्लेख गरेर सूचना टाँस्नु नि, त्यो पनि गर्दैनन् ।’

वडा कार्यालयले साउन ११ गते एउटा सूचना टाँस गरेको छ । जसमा सामाजिक सुरक्षा भत्ता नवीकरण र कुपन वितरण कार्य सञ्चालन भएकाले अन्य सिफारिस गर्न कठिनाइ हुने भएको अत्यावश्यक काम बाहेक अन्य काम तीन दिनका लागि स्थगित गरिएको उल्लेख छ । त्यसपछि कार्यालयले कुनै सूचना टाँसेको छैन ।

स्थानीय हिरा अन्सारी वडा कार्यालयले सेवा दिन नसक्ने जानकारी नदिने र सेवा पनि नदिने गरेर सेवाग्राहीलाई दुःख दिइरहेको बताउँछन् । ‘वडा कार्यालयको समस्याको बारेमा नगर प्रमुखलाई जानकारी गराउँदा वडाध्यक्षलाई भन्नुस् भन्छन्, वडाध्यक्षलाई फोन गर्दा कर्मचारी बिदामा बसेका, बिरामी परेका छन् भन्ने उत्तर दिन्छन्,’ उनले भने, ‘वृद्ध उमेरका आमाबुवा कार्यालयमा जनप्रतिनिधि र कर्मचारीको बाटो कुरेको देखेर धेरै नराम्रो लाग्छ ।’

सार्वजनिक सेवा प्रवाह सुलभ गर्न वडाध्यक्षलाई पटक–पटक दबाब दिए पनि सुनुवाइ नभएको बताउँछन् ।

यता, वडाध्यक्ष शम्भु मिश्रले भने वडा कार्यालयमा कर्मचारी कम भएका कारण सेवा प्रवाहमा समस्या भएको बताए । ‘सहायक सचिव निरज पटेल परीक्षाको लागि भनेर आठ दिनको बिदा लिएर गएका छन् । कार्यालय सहयोगीको आफन्त बितेकोले जानैपर्ने भएकाले गए, सचिव विनोद यादव २ बजेसम्म कार्यालयमा नै थिए,’ उनले दाबी गरे ।

ठूलो वडा भए पनि कर्मचारी तीन जना मात्रै हुँदा समस्या भएको बताउँदै उनले कार्यालय खोल्न बन्द गर्न गाउँकै चौकीदारको जिम्मा लगाउनुपरेको उनले बताए ।

तपाईं कुन बेला कार्यालयमा बस्नुहुन्छ नि ? भन्ने प्रश्नमा उनले बिहान ७ बजेदेखि नै वडाबासीको सेवामा खट्ने गरेको बताए ।

‘म वीरगञ्ज बजारमै बस्छु, बिहान ७ बजे नै वडा पुग्छु, गाउँघरको समस्या समाधान गर्छु, १० बजे वडा कार्यालय पुगिसकेको हुन्छु,’ उनले भने, ‘वडाबासीकै कामले कुनै दिन अदालत जानुपर्छ, कहिले प्रहरी कार्यालय पुग्नुपर्छ, यति बजेदेखि यति बजेसम्म बस्छु भनेर त ठेगान हुँदैन, तर वडाबासीको काम नरोकियोस् भनेर सचेत हुन्छु ।’ उनले वडाध्यक्ष कार्यालयमा जाँदैन भनेर लगाइएको आरोप झुठो भएको दाबी गरे ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?