+
+

विष्णुपुरमा कपाली तमसुक दर्ता गर्न वडा कार्यालयले लियो अतिरिक्त ८००  रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते २०:२३

२२ फागुन, जनकपुरधाम । सिरहाको विष्णुपुर गाउँपालिका-१ को वडा कार्यालयले  घरायसी लेनदेनको कपाली तमसुक दर्ता गर्न नियममा तोकिएको भन्दा ८०० रुपैयाँ बढी रकम लिएको खुलेको छ ।

मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी समस्या समाधानका लागि सरकारले मुलुकी संहिता संशोधन गरेर कपाली तमसुकहरु वडा कार्यालयमा दर्ता गर्ने व्यवस्था गरेको थियो । २०७५ भदौअघिका कपाली तमसुक दर्ता गर्न ११ माघसम्मको समय तोकिएको थियो ।

विष्णुपुरमा कपाली तमसुक दर्ताको दस्तुर २०० रुपैयाँ तोकिएकामा वडा नं १ को वडा कार्यालयले प्रति तमसुक एक हजार रुपैयाँ लिएको खुलेको हो ।

साहु गजेन्द्र यादवले आफूसंग एउटा तमसुक दर्ताको लागि वडा कार्यालयले एकहजार रुपैयाँ  लिएको बताए । उनका अनुसार ऋणी उपस्थित नभएको तमसुक दर्ताको लागि प्रति तमसुक वडा कार्यालयले एकहजार रुपैयाँको दरले लिएको हो ।

‘ऋणी उपस्थित नभएको आठवटा तमसुक दर्ताको लागि मसँग एक हजारका दरले आठ हजार लियो । त्यो रकम वडा सचिव सचिता कर्णले लिनुभयो, अरुसित पनि त्यसरी नै लिएको देखेँ’, यादवले भने । ऋणी उपस्थित भएकामा भने वडा कार्यालयले कपाली तमसुक दर्ताको २०० रुपैयाँ मात्र लिएको उनको भनाइ छ ।

वडासचिव कर्णले भने तोकिएको दस्तुर भन्दा बढी रकम नलिएको दावी गरिन् । ‘मैले जे दस्तुर थियो । त्यति मात्र लिएको छु । बढी रकम कसैसित लिएको छैन’ उनले दाबी गरिन् ।

वडाध्यक्ष यादवले अर्को जिल्लाका वा टाढाका ऋणीलाई बोलाउन, पत्र पठाउन एकहजार रुपैयाँ लिएको स्वीकारे । ‘जिल्ला भन्दा बाहिरका मान्छेलाई बोलाउन, पत्र पठाउन खर्च लाग्छ । त्यस्ता तमसुक दर्तामा एकहजार रुपैयाँ लिएका छौं’ उनले भने ‘अन्य दर्ता सिफारिसमा सूचना वोर्डमा लेखेको र नियम बमोजिम भन्दा एक पैसा पनि बढी लिएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?