+
+

‘म जहाँबाट आएको थिएँ, त्यहीं फर्किएँ’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १८:०६
फाइल तस्वीर

१६ भदौ, काठमाडौं । म्यानचेस्टर युनाइटेड फर्किएका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसनलाई सम्झिएका छन् ।

एक दशकअघि रोनाल्डो युनाइटेड छाडेर रियल मड्रिड गएका थिए । त्यहाँबाट इटालियन क्लब युभेन्टस पुगेका रोनाल्डोलाई ल्याउन युनाइटेडले १ करोड ५० लाख युरो तिर्नेछ ।

पुरानो क्लबमा फर्किएसँगै उनले ‘जहाँबाट आएको हुँ, त्यहीं फर्किएँ’ भन्ने प्रतिक्रिया दिएका छन् ।

अहिले रोनाल्डोले दुई वर्षको सम्झौता गरेका छन् । सम्झौतामा एक वर्ष अवधि थप गर्न सकिने प्रावधान पनि छ । ‘सबैलाई मेरो बारेमा थाहा छ, म्यानचेस्टर युनाइटेडप्रति मेरो अटुट प्रेम छ भन्ने पनि थाहा छ,’ सामाजिक सञ्जाल इन्स्टाग्राममा रोनाल्डोले लेखेका छन् ।

‘यो क्लबमा मैले बिताएका दिनहरु निकै अद्भुत थिए र हामीले एकसाथ तय गरेको यात्रा यो महान् र अद्भुत संस्थाको इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ,’ उनले भनेका छन् । म्यानचेस्टर युनाइटेड फर्किन पाउँदाको खुशी शब्दमा बयान गर्न नसकिने समेत रोनाल्डोले बताएका छन् ।

युनाइटेड फर्किन पाउँदा एउटा सपना पूरा भएको जस्तो अनुभव भएको भन्दै पाँच पटकको ‘बेलन डे’ओरको उपाधि जितिसकेका रोनाल्डोले भनेका छन्, ‘आउनुस्, एक पटक फेरि (गौरवपूर्ण इतिहास) दोहोर्‍याउँ, यो सर एलेक्सलाई समर्पित गर्छु ।’

रोनाल्डोले युनाइटेडबाट खेल्दा फर्गुसन क्लबका प्रशिक्षक थिए । सन् २००९ मा युनाइटेड छाड्नुअघि रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । युनाइटेड फर्किनुअघि रोनाल्डोले फर्गुसनसँग कुरा गरेको हुनसक्ने विश्वास गरिएको छ ।

युनाइटेडका प्रशिक्षक ओले गुनार सोल्स्कजाइरले भनेका छन्, ‘तपाईंसँग क्रिस्टियानोको वर्णन गर्ने कुनै शब्द नै हुँदैन । उनी असमान्य खेलाडी मात्र होइनन्, महान् मानव पनि हुन् ।’

‘यति लामो समयसम्म शीर्ष स्तरमा खेल्ने इच्छा र क्षमता हुनलाई विशेष व्यक्ति हुनु जरुरी हुन्छ । मलाई उनले हामी सबैलाई निरन्तर प्रभावित पार्नेछन् र उनले अनुभव पनि टोलीका अन्य युवा खेलाडीको लागि महत्वपूर्ण हुन सक्ने भन्ने कुरामा कुनै शंका छैन,’ उनले भनेका छन् ।

रोनाल्डो आफ्नो क्लबमा आउन लागेकोमा आफू निकै हर्षित बनेको सोल्स्कजाइरले बताएका छन् ।

युभेन्टस छाड्ने भएपछि रोनाल्डो म्यानचेस्टर सिटी जाने हल्ला चलेको थियो । तर, उनले आफूले ६ वर्ष खेलिसकेको क्लबमा नै फर्किने इच्छा व्यक्त गरेका हुन् । यसअघि युनाइटेडमा रहँदा उनले क्लबलाई तीन प्रिमियर लिग, एउटा च्याम्पियन्स लिग, दुई लिग कप, एउटा एफए कपका साथै फिफा क्लब विश्वकप र कम्युनिटी शिल्डको उपाधि पनि जिताएका थिए ।

उनले सेप्टेम्बर ११ मा युनाइटेडबाट खेल्ने अपेक्षा गरिएको छ । रोनाल्डोले सधैं ७ नम्बरको जर्सी लगाएर खेल्दै आएका छन् । तर म्यानचेस्टर युनाइटेडमा यो जर्सी अहिले उरुग्वेका स्ट्राइकर एडिन्सन काभानीले लगाउँदै आएका छन् । काभानी यो जर्सी रोनाल्डोलाई दिन तयार भए पनि प्रिमियर लिगको नियम अनुसार सामान्य अवस्थामा सिजनको बीचमा यसरी जर्सी परिवर्तन गर्न मिल्दैन ।

रोनाल्डोको युनाइटेडको यात्रा

गत अगष्ट १७ मा गर्मीयाममा विभिन्न क्लबसँग कुरा गरिरहेका रोनाल्डोले युभेन्टसबाट बाहिरिन सक्ने भन्दै आइरहेका समाचारको खण्डन गरे । रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले कहिले पनि रोनाल्डोलाई क्लबमा ल्याउनेबारे नसोचेको बताए । युभेन्टसका प्रशिक्षक मासिमिलियानो एलेग्रीले रोनाल्डोले क्लब छाड्न नचाहेको र अहिले पनि सिरी ए खेल्ने पक्षमा नै रहेको बताएका थिए ।

त्यसपछि एलेग्रीले रोनाल्डोलाई उडिनिससँग भएको खेलका क्रममा सब्स्टिच्युटमा राखे । त्यसपछि भने युभेन्टसले रोनाल्डोलाई बेच्न चाहेको बतायो । रोनाल्डोका एजेन्ट जर्ज मेन्डसले विभिन्न युरोपेली क्लबसँग वार्ता गरे, जसले रोनाल्डो म्यानचेस्टर सिटी वा पीएसजी जानसक्ने सम्भावना देखाएको थियो ।

शुक्रबार एलेग्रीले रोनाल्डोले युभेन्टसबाट खेल्ने थप चाहना नभएको बताएको खुलासा गरे ।

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले रोनाल्डोजस्ता खेलाडीले प्रिमियर लिग शुरु हुनुपूर्व नै कहाँ जाने भनेर निर्णय गर्ने प्रतिक्रिया दिएका थिए । उनले यो विषयलाई गम्भीरताका साथ बुझेर उनीसँग वार्ता नगर्ने निर्णय उनले गरेका थिए ।

तर रोनाल्डोले युनाइटेड रोजेका छन् । युनाइटेडका प्रशिक्षक सोल्स्कजाइरका अनुसार युुभेन्टसका प्रशिक्षकले रोनाल्डोले क्लब छाड्न सक्ने संकेत गर्नुअघि नै पोर्चुगिज स्टार भने उनको सम्पर्कमा आइसकेका थिए ।

सन् २०१८ मा रोनाल्डो रियल मड्रिडबाट युभेन्टस आएका थिए । उनले क्लबको लागि १३३ खेल खेल्दै १०१ गोल गरे । युभेन्टसले अब यो अध्याय सकिएको बताएको छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?