+
+

युवाहरुको दबाबपछि चुनावबाटै सल्टाइँदै ज्वालामुखीको काँग्रेस अधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १६:२१

२३ भदौ, काठमाडौं । नेपाली काँग्रेसको वडा अधिवेशनमा लामो समयसम्म सहमति नजुटेको ज्वालामुखी–४ का क्षेत्रीय प्रतिनिधिहरु चुनावबाटै छानिने भएका छन् । सहमतिको नाममा आफू निकटलाई क्षेत्रीय प्रतिनिधि बनाउन लागेको आरोपसहित युवा खेमाले विरोध गरेपछि ३५ जना क्षेत्रीय प्रतिनिधिहरु निर्वाचनबाटै चुनिने भएको ज्वालामुखी काँग्रेसले जनाएको छ ।

भदौ २१ गतेको लागि तोकिएको वडा अधिवेशनमा ४ दिनसम्मको प्रयासले सभापतिमा सहमति गरे पनि क्षेत्रीय प्रतिनिधिको टुंगो लगाउन नसकेपछि ‘तेस्रो धार’को रुपमा उदाएको युवाहरुको समूहले चुनाव गर्न दबाब दिएको थियो । भदौ २६ गते चुनावको मिति तय गरिएको काँग्रेस ज्वालामुखी गाउँपालिका वडा नं ४ का सभापति कृष्णलाल श्रेष्ठले जानकारी दिए । उनले सभापतिमा सहमति भए पनि क्षेत्रीय प्रतिनिधिमा सहमति हुन नसकेकोले चुनावमा जानु परेको जानकारी दिए ।

जिल्ला राजनीतिमा भीम ढुंगाना निकट मानिने श्रीराम शाह देउवा प्यानलबाट सभापतिको उम्मेदवार बनेका थिए भने पूर्व जिल्ला सभापति रामनाथ अधिकारी पक्षबाट हरि तिमल्सिना सभापतिको उम्मेदवार थिए। आफूलाई दुवै गुटबाट अलग र स्वतन्त्र रहेको बताउने युवाहरुले छुट्टै टोली बनाएर प्रकाश तिमल्सिनालाई सभापतिको उम्मेदवार बनाएको थियो ।

अहिले सभापतिमा भीम ढुंगाना पक्षका शाह सर्वसम्मत सभापति चयन भइसकेका छन् भने कुल ६५ जना क्षेत्रीय प्रतिनिधिमध्ये ३५ जना प्रनिनिधिको लागि भदौ २६ गते शनिबार चुनाव हुने भएको छ । वडा सभापति श्रेष्ठले मूल धारका दुवै पक्षबीच सहमति भएको भए पनि तेस्रो धारले सहमति नमानेपछि चुनाव गर्न लागिएको जानकारी दिए ।

उता, युवा खेमाबाट सभापतिको प्रस्ताव गरिएका प्रकाश तिमल्सिना कोठे सहमति गरेर आफ्नालाई क्षेत्रीय प्रतिनिधि बनाउने षड्यन्त्र रोक्न चुनावको माग गरिएको बताए । उनी भन्छन् ‘गाउँपालिका प्रमुख एवं काँग्रेस जिल्ला सचिव समेत रहेका विनोद तिमल्सिनाको घरमा बसेर आफ्ना मान्छेलाई प्रतिनिधि पठाउने सहमति गरेको भन्ने सुनियो । त्यही रोक्न हामीले चुनावमा जान दबाब दिएका हौं ।’

तिमल्सिनाले यसअघि पनि ४ जना मान्छे कोठामा बसेर भागबण्डा गरी पठाएका प्रतिनिधिले पार्टी र मुलुकको हितमा काम गर्न नसकेको भन्दै यसपालि मिलेमतोको भण्डाफोर गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?