+
+
स्वास्थ्यमा बजेट होलिडेको असर :

सरकारी अस्पतालको सेवा प्रभावित हुन सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३१ गते १९:३०
काठमाडौंको कान्ति बाल अस्पताल । नियमित उपचार सेवा सञ्चालनका लागि यो अस्पतालले सरकारले दिने बजेटमै भर पर्नुपर्छ ।

३१ भदौ, काठमाडौं । सरकारले संसदमा पेश गरेको बजेट प्रतिस्थापन विधेयक पारित नभएपछि अत्यावश्यक सेवा प्रवाह गर्ने क्षेत्रसमेत प्रभावित हुने देखिएको छ ।

प्रतिस्थापन विधेयक भदौ ३० सम्म पारित नभएका कारण बिहीबारदेखि सरकारी कोषको खर्च गर्न रोकिएको छ । अब संसदबाट विधेयक पास नहुँदासम्म सरकारी कोषबाट खर्च गर्न नपाइने भएकाले सरकारी अस्पतालको सेवा प्रभावित हुने देखिएको छ ।

कान्ति बाल अस्पतालका निर्देशक डा. अजित रायमाझी ७ दिनसम्मलाई असर नपरे पनि बजेट होलिडे लम्बिएमा समस्या पर्ने बताउँछन् । अस्पतालले पहिला नै केही सामानहरु स्टकमा राखेको र तत्काल आवश्यक परे पछि पैसा तिर्ने शर्तमा सामान झिकाउन सकिने भएकाले तत्काल नै सेवा प्रभावित नहुने उनको भनाइ छ ।

आकस्मिक उपचारमा खपत हुने विभिन्न औषधि, उपकरणमा खराबी आउँदा तत्काल बनाउन सरकारी कोषको रकम नै ताक्नुपर्ने भएकाले पनि बजेट होलिडे लम्बिएमा सेवा प्रभावित हुने सरकारी अस्पतालका निर्देशकहरु बताउँछन् ।

उनका अनुसार अस्पतालले बिरामीबाट उठाएको शुल्क, औषधि र ल्याब खर्चले केही दिनको समस्या धान्नसक्छ । ‘तत्काल त केही समस्या पर्ने देखिन्न तर यही अवस्था लम्बियो भने समस्या पर्न जान्छ,’ डा. रायमाझीले भने ।

अस्पतालमा दैनिकजसो आकस्मिक सेवाका लागि विभिन्न औषधि तथा उपकरणहरु किन्नुपर्छ । बिरामीबाट उठाएको शुल्क अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीको तलब भत्तामा खर्च गर्नुपर्ने तथा फार्मेसी र ल्याबबाट उठाएको पैसाले त्यहीं सामान किन्नुपर्ने भएकाले पनि नियमित सेवा प्रवाह गर्न सरकारी कोष नै खर्च गर्नुपर्छ ।

त्यसैगरी आकस्मिक उपचारमा खपत हुने विभिन्न औषधि, विभिन्न उपकरणमा खराबी आउँदा तत्काल बनाउन सरकारी कोषको रकम नै ताक्नुपर्ने भएकाले पनि बजेट होलिडे लम्बिएमा सेवा प्रभावित हुने सरकारी अस्पतालका निर्देशकहरु बताउँछन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल ललितपुर, मानव अंग प्रत्यारोपण केन्द्र, मनमोहन कार्योथोरासिक तथा भास्कुलर सेन्टर, सिभिल अस्पताल लगायतका अस्पताल स्वायत्त संस्था भएकाले बजेट होलिडेले धेरै असर पार्दैन । तर बजेट होलिडेमा सरकारी कोषबाट चलेका प्रादेशिक अस्पताल तथा जिल्ला अस्पताल भने प्रभावित हुनेछन् ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार सरकारी अस्पताल भए पनि स्वायत्त सञ्चालन भएकाले अस्पताल आफैंले कमाएर खर्च धानिरहेको छ । उनी भन्छन्, ‘केही कुरामा सरकारको सहयोग र अनुदान त हुन्छ नै तर यो अवस्थामा हाम्रो अस्पतालमा त्यस्तो प्रत्यक्ष असर केही हुन्न ।’

पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य पनि बजेट होलिडेले पाटन अस्पतालमा केही असर नपार्ने बताउँछन् । ‘आफैं कमाएर प्रशासनिक तथा क्लिनिकल खर्च धान्ने अस्पताल भएकाले हामीलाई कुनै असर हुन्न,’ डा. शाक्यले भने ।

नेपालगञ्जस्थित भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापा बजेट होलिडेले तत्काल असर नपारे पनि केही दिनपछि असर पार्ने बताउँछन् । यो आर्थिक वर्षको खाता अहिलेसम्म नखुलेको र फेरि बजेट होलिडे लम्बिए सेवा प्रभावित हुन सक्ने उनको भनाइ छ । उनका अनुसार २ महिनादेखि बजेट रिलिज नभएको अवस्थामा खाता खोल्ने बेलामा बजेट होलिडे हुँदा केही असर पर्नेछ । ‘तत्काल त केही असर नदेखिएला, बजेट होलिडे लम्बिदै गएमा भने असर देखिन सक्छ,’ उनले भने ।

अतिआवश्यक उपकरण भेण्टिलेटरहरु बिग्रिँदा तथा तलब खुवाउन बजेट होलिडेले असर पार्न सक्ने डा. थापा बताउँछन् । अस्पतालमा भैपरी आउने आकस्मिक खर्चको लागि पनि सरकारी कोषको नै भर पर्नुपर्ने उनको भनाइ छ । त्यसैगरी सरसफाइ कर्मचारीको सामानको लागि पनि दैनिक ठूलो रकम खर्च हुन्छ । ‘अस्पतालले बिरामीसँग उठाएको सेवा शुल्कले केही दिन त धान्न सकिएला तर यही अवस्था लम्बिएमा सकिन्न,’ उनी भन्छन्।

बजेट होलिडे लम्बिए प्रादेशिक अस्पताल, जिल्ला अस्पतालको सेवा प्रभावित हुने त्यहाँ कार्यरत मेडिकल सुपरिटेण्डेन्टहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?