
४ असोज, स्मानिया । अष्ट्रेलियाको तास्मानिया राज्यस्थित लन्चेस्टनमा बसोबास गर्दै आएका नेपालीहरूले स्थानीय सांसद ब्रिजेट आर्चरसँग अन्तरक्रिया गरेका छन् ।
नेपाली समुदायका पत्रकार प्रतीक सिग्देलको अगुवाइमा भएको उक्त कार्यक्रममा नेपालीहरूले स्थानीय सांसदसँग समसामयिक विषयमा अन्तरक्रिया गरेका हुन् ।
करिब दुई घण्टासम्म भएको अन्तरक्रियामा नेपाली समुदायका अगुवाहरुले लन्चेस्टनमा बसोबास गर्ने नेपाली समुदायले भोग्दै आएका समस्याहरू उठाएर सांसदको ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा नेपाली विद्यार्थीहरुले भोगेका भिसासम्बन्धी समस्या, पढाइ र कामबीचको ग्याप, नेपाली महिलाहरुले भोगेका समस्यालगायत अन्य समसामयिक विषयमा सांसदसँग छलफल भएको थियो ।
त्यस्तै, स्थानीय नेपाली खेलकुद क्लबहरुले सांसदसँग खेल खेल्नका लागि आफ्नै खेल मैदानको व्यवस्था गरिदिन आग्रह गरेका थिए भने लन्चेस्टनमा हिन्दुहरुको मन्दिर बनाउन सहयोग गर्न माग गरेका थिए ।
जवाफमा सांसद ब्रिजेटले अन्तरक्रियामा गम्भीर विषयहरू उठेको भन्दै उक्त विषयहरुलाई संसदमा उठाउने र गम्भीर समस्याहरुलाई सम्बोधन गर्नेतर्फ संसदको ध्यानाकर्षण गराउन आफूले महत्वपूर्ण भूमिका खेल्ने आश्वासन दिइन् ।
नर्दन तास्मानियाको समग्र विकासमा नेपाली समुदायले खेलको भूमिकाको सम्मान गर्दै सांसद आर्चरले भनिन्, ‘धन्यवाद तपाईंहरू लन्चेस्टन आइदिनुभएकोमा, तपाईंहरूको मिहिनेत र पसिनाको उच्च मूल्यांकन हुनेछ ।’
लन्चेस्टनमा बसोबास गरेका हरेक वर्गका नेपालीहरुले भोगेका समस्याहरुलाई सम्बोधन गर्नेतर्फ सांसदको ध्यानाकर्षण गराउन उक्त कार्यक्रमको आयोजना गरेको कार्यक्रमका अगुवा प्रतीक सिग्देलले बताए ।
कार्यक्रममा करिब ६० जना नेपाली नेपालीहरुको उपस्थित रहेको थियो ।
भिसा प्रक्रियाका लागि अस्टेलियाको मुख्य शहरहरुबाट रिजनल जानुपर्ने बाध्यतासँगै पछिल्ले समयमा लन्चेस्टनमा नेपालीहरूको संख्या बाक्लिदै गएको छ ।
प्रतिक्रिया 4