+
+

शुरु भयाे महान चाड बडादशैं, आज जमरा राख्ने दिन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २१ गते ६:३६

२१ असोज, काठमाडौं । नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ ।

घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका–प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ ।

कुल परम्परानुसार कसैले जमरा राख्दा जौसँगै अन्य अन्न पनि रोप्ने गरेका छन् । तर जमरा राख्ने कार्यमा जौबाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

घटस्थापनाको दिनदेखि नवरात्र शुरु हुन्छ । नवरात्रभर दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रुपमा पूजाआरधना गर्ने परम्परा छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । दुर्गाका यी नौ रुपलाई नवदुर्गा भन्ने गरिन्छ ।

असोज २९ गते बिहान ८ बजेर १९ मिनेटमा देवी विसर्जन गर्ने र १० बजेर २ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । टीका लगाउँदा पूर्वतर्फ फर्किएर लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

हेर्नुहोस् दशैं सम्बन्धी साइतहरु-

दशैंको टीकाको उत्तम साइत कुन देशमा कति बजे ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?