+
+

झण्डै तीन महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउँदै

मन्त्री बन्नेहरुको नाम छनोट गर्न दलहरु व्यस्त

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २२ गते ६:३६

२२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद विस्तार गर्दैछन् । सत्ता गठबन्धनका दलहरुबाट मन्त्री बन्नेहरुको नाम प्राप्त हुनासाथ मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आफ्नो भागमा परेका मन्त्रालय सम्हाल्नेहरुको नाम टुंगो लगाउन नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त छन् । नेकपा माओवादी केन्द्रले भने बुधबारै मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको थियो ।

बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएको थियो ।

सहमतिअनुसार सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने छ । कांग्रेसले यसअघि नै गृह, कानुन र परराष्ट्रय मन्त्रालय लिइसकेको छ ।

यसैगरी ऊर्जा र अर्थ मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, शिक्षा विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने छ । माओवादीले सरकारमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय बुधबार नै गरिसकेको छ । यद्यपि कसले कुन मन्त्रालय पाउने भन्ने टुंगो लागिसकेको छैन । हाल माओवादीका जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् ।

रामकुमारीलाई स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव

रामकुमारी झाँक्री

नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा विरोध खतिवडा रामकुमारी झाँक्री, प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ (किसान)लाई मन्त्री बनाउने प्रस्ताव पेश भएको छ ।

झाँक्रीलाई स्वास्थ्यमन्त्री बनाउने प्रस्ताव गरिएको छ । एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले आज बिहान फेरि बैठक बसेर र आकांक्षीहरुसँग छलफल गरेर मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने जानकारी दिए ।

यसैगरी जसपा भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय लिएर सरकारमा सहभागी हुने छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापित गरी कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री देउवासँगै कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्की, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसालले शपथ ग्रहण गरेका थिए ।

त्यसपछि गत साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई र यही असोज ६ गते परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गरेका देउवाले बाँकी सबै मन्त्रालयहरुको भार आफैंले बोकेका थिए । लामो समयदेखि मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा पार्टीभित्रै देउवाको आलोचना हुने गरेको छ । कांग्रेसभित्र संस्थापन र रामचन्द्र पौडेल पक्षबीच मन्त्रालयको विषयमा गलफत्ती जारी नै छ ।

संविधानमा भएको व्यवस्थाअनुसार प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद गठन गर्न पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?