+
+

प्रधानन्यायाधीश र न्यायाधीशलाई जिम्मेवार बन्न ट्रेड युनियनको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १६:४०

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनले अदालतभित्र देखिएका विकृतिको अन्त्य गर्ने सम्बन्धमा जिम्मेवार बन्न प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई आग्रह गरेको छ ।

विकृति र विसंगतिका कारण न्यायालय संकटतर्फ गएको भन्दै ट्रेड युनियनले प्रधानन्यायाधीश र न्यायाधीशलाई जिम्मेवार बन्न आग्रह गरेको हो ।

‘….अशोभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएका विकृति विसंगतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अबिलम्ब समूचित समाधान गर्न जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं सर्वसाधारणको न्याय पाउने अधिकारको संरक्षणका लागि आन्दोलन गर्न बाध्य हुने युनियनको चेतावनी छ ।

हेर्नुहोस् विज्ञप्ति

संयुक्त विज्ञप्ति

मिति २०७८/०७/०९

नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको परिकल्पना गरेको छ । न्यायपालिकामाथि चौतर्फी आक्रमण भइरहेको वर्तमान अवस्थामा न्यायपालिकाको स्वतन्त्रतालाई अक्षुण राखी जनआस्था अभिवृद्धि गर्ने जिम्मेवारी पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्न सर्वोच्च अदालतमा कार्यरत हामी ट्रेड यूनियनहरुले रचनात्मक एवं सकारात्मक भूमिका निर्वाह गर्दै आइरहेको कुरा सर्वविदितैछ ।

अदालतभित्र देखिएका विकृति विसंगतिका सम्बधमा विगत केही दिनदेखि प्रधानन्यायाधीश एवं न्यायाधीशहरु बीचमा असमझदारी भई मुद्दाको सुनुवाइ नै प्रभावित भएको तथा विभिन्न पत्र–पत्रिका, अनलाइन समाचार तथा सामाजिक सञ्जालहरुमा जनताको अन्तिम आस्थाको केन्द्र न्यायालयको जनआस्था खस्काउने प्रकारका प्रकाशित समाचार तथा सर्वोच्च अदालतमा हालै भइरहेका गतिविधिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

यस्ता अशोभनीय गतिविधिले न्यायालय थप संकटतर्फ जाने भएको हुँदा अदालतभित्र देखिएका विकृति विसंगतिको अन्त्य गर्ने सम्बन्धमा प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरु जिम्मेवार भई गम्भीरतापूर्वक अबिलम्ब समूचित समाधान गर्न जोडदार माग गर्दछौं ।

अन्यथा न्यायपालिकाको स्वतन्त्रताको रक्षा एवं न्यायका उपभोक्ताको न्याय पाउने अधिकारको संरक्षणका खातिर आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुनेछौं ।
साथै न्यायालयमा देखिएको समस्याको सही समाधानका लागि सम्पूर्ण न्यायकर्मी, कानून व्यवसायी, न्यायका उपभोक्ता, पत्रकार, नागरिक समाज तथा सरोकारवाला जनसमुदायलाई आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका निर्वाह गर्न समेत हार्दिक अपील गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?