+
+
खस्रोमस्रो :

अनि चम्पाकली रून्छे

प्रकाश तिवारी प्रकाश तिवारी
२०७८ कात्तिक १७ गते १०:०५

रातले अन्धकारको पर्दा हटाइसकेको थिएन । सूर्यले धर्तीसम्मको यात्रा तय गर्न एक घण्टा बाँकी थियो । सहर शनै:शनै: निद्राबाट ब्यूँझने तरखरमा रहेझैं लाग्दथ्यो । सडकमा फाट्टफुट्ट सवारीसाधन र पैदलयात्री ओहोरदोहोर गरेका देखिन्थे ।

सिन्धुपाल्चोकबाट आएर सडकपेटीमा चिया बेचिरहेको घनश्याम छिनछिनमा कराइरहन्थ्यो- खानुस् हजुर खानुस्, तातोतातो चिया खानुस् ।

परबाट काँधमा बोरा झुण्ड्याएको झुत्रेझाम्रे मानिस दृष्टिपटमा प्रकट भयो । त्यस मानिसका पाइला असन्तुलित थिए । सायद उसलाई गएराति पिएको रक्सीको नशा उत्रिसकेको थिएन । एक हुल कुकुरहरू उसलाई देखेर जोडतोडले भुक्न लागे । ऊ उल्टै कुकुरलाई निर्देशन दिन थाल्यो-

‘चूप लाग्, तिमीहरू पनि गरिब, म पनि गरिब !’
कुकुरहरू झनै जोडले भुके । ऊ बोल्न छोडेन ।

‘धनी भएको भए तिमीहरू महलमा हुन्थ्यौ । मासुभात डकारेर बस्थ्यौ । तिमीहरूका र मेरा कथा एउटै छन्, व्यथा एउटै छन् ! आओ, म तिमीहरूलाई गीत सुनाउँछु ।’

शीतल पर्‍यो छाया, शीतल पर्यो छाया

गरिबले गरिबलाई गर्नुपर्छ माया

कुकुरहरू ठाडै जाइलागे । झुत्रेझाम्रे मानिस ज्यान जोगाउन घनश्याम भएतिर दगुर्यो । घनश्यामले लाठो लिएर कुकुरहरूलाई लघार्यो ।
‘सहरीया कुकुर न परे ! गाउँका कुकुर झुत्रेझाम्रे मानिस देख्दा पुच्छर हल्लाउँछन् । तर सहरका कुकुर… ! म सम्हाल्छु यिनलाई । जानुस् हजुर जानुस् ।’ जाने इसारा दिँदै घनश्यामले भन्यो ।

मर्निङवाकमा थियो लेखक । ऊ डराइडराई अघि बढ्यो । पाँच मिनेटको यात्रापछि ऊ नयाँ टोलमा पुग्यो । उसको जम्काभेट हतारहतार पाइला चालिरहेको युवकसँग भयो ।

‘अंकल ! त्यता नजानुस् । कुकुरहरूले सडकजाम गरिरहेका छन्’, उसले भन्यो ।

‘कसैलाई टोक्यो ?’ सोध्यो लेखकले ।

‘टोकेको त थाहा भएन । नजिक गयो कि ठाडै जाइलाग्छन् । लाग्छ त्यहाँ कुकुर विद्रोह भैरहेको छ !’

‘म लेखक हुँ । पृथ्वीमा भएका स्थलचर, जलचर र उभयचरका कथा लेखेको छु । म कुकुरहरूलाई फकाउँछु । तिनका कथा-व्यथा, सन्तुष्टी-असन्तुष्टीलाई कहानी बनाएर लेख्ने आश्वासन दिन्छु । त्यति भनेपछि त कसो बाटो नदेलान् !’

‘कुकुरले लेखक-सेखक चिन्दैनन् अंकल !’ युवकको उक्त भनाइ लेखकीय दम्भप्रति दह्रो झापड थियो ।

मनुष्यजातिको विद्रोह देखे-सुनेको भएपनि लेखकका लागि कुकुर विद्रोह नौलो विषय थियो ! उसलाई कुकुरहरूको अनौठो विद्रोह हेरुँहेरुँ लाग्नथाल्यो । उसले सुस्तसुस्त पाइला अघि बढायो ।

लेखक कुकुरहरूभन्दा पचास-साठी मिटरको दूरीमा पुगेको थियो, कुकुरहरूले निषेधको नारा लगाउन सुरु गरे ।

दृष्य रोचक थियो । सडकभरि कुकुरै कुकुर । एउटा हृष्टपुष्ट कुकुर अग्लो ठाउँमा उभिएर भुकिरहेको थियो । बाँकी कुकुर उसको भुकाइ ध्यानपूर्वक श्रवण गरिरहेका थिए ।

लेखक घुमाउरो बाटो मोडिन बाध्य भयो । केहीबेरपछि फराकिलो चौबाटो आइपुग्यो । चौबाटो आसपासको दृष्य थप कौतुहलमय थियो । सयौं कुकुरहरू नारा-जुलुसको शैलीमा चोकतर्फ लम्किरहेका देखिन्थे ।

केही मिनेटभित्रै पाँच सय हाराहारी कुकुर चोकमा भेला भए । तीमध्ये आधा दर्जन कुकुर सडकभन्दा अग्लो स्थानमा विशिष्ट अतिथिको झल्को दिने गरी टुक्रुक्क बसे ।

‘कतै मानिसमाथि हमला त कतै सडक जाम ! सडक आन्दोलनको रोग मानिसबाट कुकुरमा सर्न लागेको त हैन ? आज किन सबैतिर कुकुरहरूको आक्रामक उपस्थिति देखिन्छ ?’ सोचमग्न भयो लेखक ।

ऊभित्र एकसाथ दर्जनौं प्रश्न जन्मिए । नयाँ कहानीको उत्कृष्ट विषयबस्तु भेटेकोमा खुसी पनि थियो ऊ ।

नारायणहिटी दक्षिण गेट अगाडि कुकुरहरूको विशाल उपस्थितिले आगमन बन्द भयो । धर्नामा झण्डै पाँच-सात हजार कुकुरहरूले भाग लिए

लेखक हेरिरहेको थियो । एउटा खाइलाग्दो कुकुर अग्लो स्थानमा उभिएर भुक्न सुरु गर्यो । उक्त कुकुरको घाँटीमा ‘सरकारी सेवाबाट पदमुक्त’ लेखिएको फित्ता झुण्डिएको थियो । त्यसबाट उक्त कुकुर भर्खरै-भर्खरै जागिरबाट बर्खास्त भएको तथ्य बुझ्न गाह्रो थिएन । भेलामा सहभागी अन्य कुकुरहरूले उसको भुकाइ चुपचाप सुन्न लागे ।

झलमल्ल उज्यालो हुन केही समय बाँकी थियो । लेखकको छेउमा अन्य दुई जना थपिए ।

त्यसमध्येको एक जना आफूलाई ओमकार नामले चिनाइरहेको थियो । ओमकार कुकुर भाष्यको जानकार हुँ भन्दथ्यो । कुकुर मनोविज्ञान र बडिल्याङ्गवेजबारे उच्चस्तरको तालिम पनि लिएको रहेछ उसले । प्रहरी सेवामा छँदा पन्ध्र वर्ष कुकुरसँग खाइखेलेको मान्छे हुँ भन्थ्यो । ऊ कुकुर सभा र नेता कुकुरको भाषणको बारेमा अर्थ्याउन लाग्यो-
‘अग्लो स्थानमा उभिएर भुकिरहेको छ नि, ऊ कुकुरजातिको सर्वोच्च नेता हो । ऊ कार्यकर्तालाई भावी संघर्षका निम्ति तम्तयार रहन निर्देशन दिइरहेको छ ।

नेता भन्दैछ, अनिवार्य अवकास पाउन दुई वर्षमात्र बाँकी थियो । कपटपूर्ण बर्खास्तीमा परेँ म । मेरो बर्खास्ती सीमान्तकृत कुकुर जातिप्रतिको घोर अपमान हो ।

भनाइ छ, सत्ता सरकारको, सडक प्रतिपक्षको । शासक वर्ग हामीलाई सडकमा समेत चैनले बस्न दिने पक्षमा छैन । हाम्रा साथीहरू स्वतन्त्रतासाथ घुमफिर गर्न पाएका छैनन् । चित्त नबुझेका कुरा बोल्न पाएका छैनन् । हाम्रा असंख्य मित्रहरू राज्य आतंकको शिकार भएका छन् ।

तसर्थ हालसालै बसेको हाम्रो हाइकमाण्डको बैठकले इँटाको जवाफ पत्थरले दिने निर्णय लिएको छ । यो भेला त्यसैको सानो रिहर्सल हो । अब हामी छिटै निर्वाचन आयोग गई दल दर्ताका लागि निवेदन दिने छौँ । चुनावमा बहुमत ल्याई सिंहदरबार कब्जा गर्ने छौँ ।’ ओमकारले भाषणानुवाद गर्दै सुनायो ।

सभा विसर्जन हुँदा झलमल्ल उज्यालो भइसकेको थियो । सभाको समापनपछि कुकुरहरू नारा जुलुसका साथ नारायणहिटी राजदरबार अगाडि चक्काजाम गर्न निस्किए ।

कुकुरहरू अघिअघि, लेखक र ओमकार पछिपछि । दुबै नारायणहिटी अगाडि हुने चक्काजामको अवलोकन गर्न गए ।

नारायणहिटी दक्षिण गेट अगाडि कुकुरहरूको विशाल उपस्थितिले आगमन बन्द भयो । धर्नामा झण्डै पाँच-सात हजार कुकुरहरूले भाग लिए । कुकुरजातिको सर्वोच्च नेताले राजा महेन्द्रको शालिकनेर उभिएर उत्तेजक भाषण दियो । प्रहरीले सडक खाली गराउन माइकिङ गर्न लागे तर कुकुरहरू टसकोमस भएनन् ।

‘काठमाण्डौंको मुटुमा भुस्याहा कुकुरहरूको ताण्डव नृत्य ! सहरमा रेविज महामारीको सम्भावना’ टेलिभिजन च्यानलले श्रव्यदृष्यसहित समाचार फुके ।

महलवासी एउटा कुकुरले टेलिभिजन समाचार हेरेको रहेछ । उसले समाचारमा प्रयुक्त शब्दावलीबाट कुकुर जातिको आत्मसम्मानमा ठेस पुगेको महसुस गर्यो । ऊ मल-मुत्र त्याग गर्ने बहानामा घरबाट निस्कियो अनि एकाएक जुलुसमा सामेल हुन पुग्यो ।

त्यस कुकुरले टेलिभिजनबाट प्रसारित समाचार साथीहरूलाई सुनायो । खबर एक कान, दुई कान हुँदै आम भुस्याहा कुकुरमाझ भाइरल भयो ।

टेलिभिजन आफूहरूप्रति पूर्वाग्रही भएकोमा कुकुरहरूले तीव्र असन्तुष्टी व्यक्त गरे । आक्रोशित कुकुरहरूको जुलुस टेलिभिजन स्टेसन घेराउ गर्ने उद्देश्य साथ अघि बढ्यो ।
टेलिभिजन स्टेशन अगाडि कुकुरहरूको भीडले पहरा दियो । नाराबाजी हुन थाल्यो । कुकुरहरूले विरोधस्वरूप टेलिभिजन स्टेसनको गेट, भित्ता र सडकमा मल-मुत्र, र्याल, खकार, सिंगान त्याग गरे ।

हातहतियारले सुसज्जित प्रहरी टोली आइपुगे । प्रहरीले भीड नियन्त्रण गर्न गोली चलायो । सडक रक्ताम्य भयो । अधिकारकर्मीहरूले गोलीकाण्डको कडा भत्सर्ना गरे ।

तितरबितर कुकुरहरूको एक समूहले माइतिघर मण्डला पुगेर कोण सभा गर्यो । सरकारी सेवाबाट अबकाश प्राप्त कुकुरले अर्को आक्रामक भाषण दियो-

‘हामी धर्मराज युधिष्ठिरसँग स्वर्ग यात्रा गरेका जाति हौँ । यमराजका दूत हौँ । अन्तरिक्ष यात्रा गर्ने पहिलो जनाबर हौँ । हाम्रो साथी ‘लाइका’ले अन्तरिक्ष अनुसन्धानमा पुर्याएको योगदान जीव इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ । हाम्रो पूजा विना हिन्दूहरूको तिहार अधुरो रहन्छ ! तर पनि हाम्लाई हेप्ने ! कमजोर ठान्ने ? अब हामी दबिएर बस्ने पक्षमा छैनौँ ।

हामी भोलि नै निर्वाचन आयोग गएर ‘कुकुर बचाउ’ नामको दल दर्ता गर्दैछौँ । दर्तापछि संसदीय निर्वाचन लड्ने छौँ । हाम्रो जीत अवस्यमभावी छ । हाम्रो सरकार त बनोस्, कुकुरमाथि गोली प्रहार गर्नेका हातमा हतकडी लगाउने छौँ ।’ ऊ कुर्लियो ।

कुकुरहरू पर्सिपल्ट दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुगे । तर निर्वाचन आयोगले ‘पशुलाई राजनैतिक दल खोल्न दिने संवैधानिक तथा कानूनी व्यवस्था नभएको’ देखाउँदै खालि हात फर्काइदियो ।

अधिकारकर्मीहरूले कुकुरहरूको पक्षमा थप ऐक्यबद्धता जनाए । उनीहरूले आयोगको निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरे ।

सर्वोच्चमा गरमागरम बहस भयो । ‘दल दर्ताबाट बञ्चित गर्नु संविधानको मर्म एवम् भावना विपरीत छ । निर्वाचन आयोगको निर्णय प्रथम दृष्टिमैँ दुराशययुक्त र बदनियतपूर्ण देखिन्छ….!’ फैसला आयो ।

यसैबीच सत्तासीनहरूको आपसी मनमुटावका कारण संसदीय निर्वाचनको घोषणा भयो । एकातिर कुकुर हराउ पक्ष अनि अर्कोतर्फ कुकुर जिताउ समूह । चुनावमा गजबको ध्रुवीकरण देखापर्‍यो ।

निर्वाचन परिणामको आँकलन गरिरहेका संघ-संस्थाहरूले पब्लिक ओपिनियन रिपोर्ट सार्वजनिक गरे । प्रक्षेपणमार्फत ‘कुकुर हराऊ र कुकुर जीताऊ पक्षबीच कडा प्रतिस्पर्धा हुने तथ्य सार्वजनिक भयो ।

प्रचारप्रसारको अन्तिम दिन कार्यकर्ताहरू भोट माग्न चम्पाकली नामकी बाँदर्नीकहाँ गए । चम्पाकली चल्तापूर्जा बाँदर्नीमध्येमा पर्दथी ।

कार्यकर्ताहरूले चम्पाकली बसेको रूखमुनि लगेर रोटी, बिस्कुट, पाउरोटी र फलफूलको बोरा बिसाए । लालाबालालाई मिठाई-चकलेट बाँडे ।

‘तपाईंको एक भोटले देशको भाग्य बदल्ने तागत राख्छ । यसपालिको चुनावमा एक भोट हामीलाई ।’ दुई हात जोड्दै कार्यकर्ताले भोट मागे ।

‘हिँजोसम्म लघार्नु लघार्यौ हामीलाई । उठिबास लगायौ हाम्रो । एक बित्ता जमिन माग्दा गोलीको उपहार दियौ । हामी सदियौँदेखि मूर्ख बन्यौँ, बनाइयौँ ! अब सधैं मूर्ख बन्ने पक्षमा छैनौँ । हामीले युगौँदेखि कन्दमुल खाँदै गुजारा चलायौँ, अब पनि चलाउँछौँ । कृपया यी बोरा लगेर तिम्रा ‘अघोरी बाबा’का हातमा राखिदेऊ ।’ चम्पाकलीले चोटिलो जवाफ फर्काई ।

‘त्यसो नभन्नुस् । हिँजो जे भयो-भयो । अब त्यस्तो हुनेछैन । हामी निर्वाचनपछि जंगल-जंगलमा बाँदर आश्रम बनाउनेछौँ । सीमान्तकृत बाँदर प्रजातिका निम्ति विशेष व्यवस्था गर्नेछौँ !’ अगुवा कार्यकर्ताले सम्झाउने थप प्रयास गरे ।

‘हामीले आजसम्म ककसको उपकार गरेनौँ ? रामायण साक्षी छ, नल र नील नामका दुई बानर दाजुभाइले समुद्रमा पुल बाँधे । समग्र बानर सेना लंका विजयका लागि कूच गर्यो । वडा जिजु बराजु हनुमानले रामका लागि लंका दहन गरे । लंका विजयबाट फर्केका राम गद्दीमा बसे । तर हाम्रा पुर्खाले रूखको हाँगामा रात बिताए ! आँधी-तूफान आउँदा पनि रूखमा । मुसलधारे वर्षा हुँदा पनि रूखमा । उनीहरू रूखमा जन्मे, रूखमैँ हुर्के, रूखमैँ मरे !

डमरूको डमडम, घुंघरूको छमछममा मदारीका निम्ति नाच्नुनाच्यौँ हामी । ताकि कुनै दिन हाम्रो पनि ओत लाग्ने छानो हुनेछ । चोट लाग्दा मल्हम-पट्टी गर्न कोही आउनेछ । मिल्यो त केबल घात, प्रतिघात र आघात !

एक घोगा मकैको निहुँमा कुटिन्छौँ हामी, मारिन्छौँ हामी ! हाम्रा काखे नानीहरू कैयौँ दिन निराहार रहन विवश भए । फेरि पनि बाँदर जाति युयौँदेखि जीवित रह्यो । हामीलाई केबल आशाले बचायो । आशा नहुँदो हो त बाँदरजाति पृथ्वीबाट उहिल्यै लोप हुनेथियो !

बाँदरजातिलाई बिकाउ माल सम्झिने भुल नगर्नुहोला । हामी भोको रहन तयार छौं तर भोटका लागि आफूलाई बेच्दैनौं । खाद्यसामाग्रीका बोरा फिर्ता लानुभए हुन्छ ।’ चम्पाकलीलले गतिलो दनक दिई ।

ऊ बोल्दाबोल्दै भावुक भई । चम्पाकलीका आँखाबाट आँशु का बुँद खस्न थाले । ऊ भक्कानिएर रून थाली । भोट माग्न गएका कार्यकर्ता निराश हुँदै फर्किए ।

लेखकलाई पनि यसपालिको चुनावले रत्तिभर छोएको छैन । आफूले लेखेको कथा अज्ञात भविष्यको सुरुङभित्र प्रवेश गर्न लागेकामा तनावग्रस्त देखिन्छ ऊ ।

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?