+
+

‘मुन्द्रेको कमेडी क्लब’ बन्द हुँदा ‘फुलन्देकी आमा’ र ‘एजेन्सी’सँग जीतुको चित्त दुखाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते १२:२६

हास्य कलाकार जीतु नेपालले होस्ट गरिरहेको टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’को प्रसारण सोमबारदेखि बन्द भएको छ । सोमबार अन्तिम शो प्रसारण भयो । अन्तिम शो प्रसारण हुनुभन्दा अगाडि मिडियासँग प्रस्तुत भएका जीतु केही भावुक देखिए । उनले यो शोमा सहभागी सम्पूर्ण टिम र अतिथिलाई धन्यवाद दिए ।

उसो त ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्नुपर्छ भन्ने सोचमा जीतु थिए । तर, असारको अन्तिममा भव्य कार्यक्रमको आयोजना गर्दै शो बन्द गर्ने उनको सोच थियो । तर, उनको सोचभन्दा ८ महिना अगाडि नै शो बन्द हुन पुग्यो ।

‘फुलन्देकी आमा’ अर्थात् उमेश राईसँग चित्त दुखाइ

पत्रकारको अगाडि उभिएका जीतुले यो शोका चर्चित कलाकार ‘फुलन्देकी आमा’ अर्थात् उमेश राईसँग चित्त दुखाए । उनले भने, ‘उमेशले अर्को एक रियालिटी शो होस्ट गर्दैछन् भन्ने सुनेपछि म अचम्ममा परें । उमेशलाई फोन गरेर सोध्दा उसले पनि हो भनेपछि म त छाँगाबाट खसेजस्तै भएँ । मलाई एक पटक सोधेको भए हुन्थ्यो भन्ने लाग्यो ।’

जीतुले कुनै पनि कलाकारसँग लिखित सम्झौता गरेका थिएनन् । यसैले पनि उनले उमेशसँग चित्त दुखाउनु बाहेक अरु कुनै उपाय थिएन । जीतुले भने, ‘मैले कोहीसँग पनि लिखित सम्झौता गरेको थिइनँ । कसैलाई पनि धेरै विश्वास गर्न नहुने रहेछ भन्ने पाठ सिकेको छु ।’

एजेन्सीबाट पनि पाएनन् सकारात्मक जवाफ

जीतु उमेशको कुरा गर्नका लागि यो शोको उत्पादन कम्पनी ‘कि एड्भरटाइजिङ’को ढोकासम्म पुगे । उनले त्यहाँबाट पनि सकारात्मक जवाफ पाएनन् । दुवैतिर गर्दा के फरक पर्छ र भन्ने जवाफ पाएपछि उनको चित्त दुख्यो । जीतुले भने, ‘आफ्नो अभिभावक संस्थाबाट नै सकारात्मक जवाफ पाएपछि चित्त नदुख्ने त कुरै भएन । उताबाट हौसला मिलेको भए शायद म असारसम्म शो सञ्चालन गर्ने मुडमा पुग्थें होला । तर, किबाट पनि हौसला दिने काम भएन । यसपछि शो बन्द गर्छु भनेर फर्किएँ ।’

अब के त ?

जीतु नेपाल अब के गर्ने भन्ने सोचमा पुगिसकेका छैनन् । तर, केही टेलिभिजनसँग उनको कुरा भने अगाडि बढेको छ । उनी भन्छन्, ‘हामी चाँडै नै दर्शकमाझ नयाँ शैलीको शो लिएर प्रस्तुत हुनेछौं ।’ जीतु नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहसँग नयाँ चलचित्रमा पनि काम गर्ने तयारीमा छन् ।

करिश्माको साथ

जीतुलाई नायिका करिश्मा मानन्धरले भने सधैं नै साथ दिने वाचा गरेकी छन् । पत्रकार सम्मेलनमा उपस्थित करिश्माले भनिन्, ‘मैले जितुको आग्रहलाई टार्न नसकेर नै यो शोमा काम गरेकी हुँ । अन्य यस्तै प्रकृतिका शोबाट अफर आएको खण्डमा म काम गर्दिनँ होला ।’

करिश्माले जीतुले आफूसँग सहकार्य गर्नका लागि प्रस्ताव लिएर आएको खण्डमा हुँदैन नभन्ने वाचा गरिन् । करिश्माको कुराले जीतु खुशी देखिएका थिए ।

नकारात्मक प्रतिक्रियाले दुःखी

जीतुले दुई श्रृङ्खला गरेर यो शो १३२ भाग सञ्चालन गरे । यो शोका कारण हरेक साता ६० जना भन्दा बढीले रोजगारी पाएको उनको भनाइ छ । तर, शोको बारेमा नकारात्मक प्रतिक्रिया धेरै आउँदा दर्शकले कुनै विदेशी शोसँग तुलना गरेर गाली गर्दा भने जीतुको चित्त दुखेको छ ।

उनले भने, ‘चामल विदेशबाट आउँछ भनेर के हामीले देशमा धान नै नरोप्ने ? दूध विदेशबाट आउँछ भनेर के हामीले देशमा गाई-भैंसी नै नपाल्ने त ? विदेशीले जे गरेपनि राम्रो तर नेपालका कलाकारले गर्दा नराम्रो भन्ने सोच केही मानिसमा छ । कार्यक्रम प्रसारण भएको दुई दिन त नकारात्मक प्रतिक्रियाले साह्रै नै दुःख लाग्यो । ठूलै गल्ती गरेछु कि जस्तो पनि लाग्यो । तर, विस्तारै बानी पर्दै गयो ।’

जीतुले विभिन्न ठक्कर र दुःख पाएरै भएपनि आफूले नेपाली शैलीको शो तयार पारेको बताए । हरेक साता ४–५ लाख रुपैयाँ खर्च हुँदा पनि शो फाइदामा गएको भन्दै उनले आफूले सक्ने मिहिनेत गरेको प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?