+
+

सोलु करिडोरमा सुक्खा पहिरो, दूधकोशी नदीको बहाव परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते ८:३८
फाइल तस्वीर

२४ कात्तिक, काठमाडौं । सोलु करिडोर अन्तर्गत ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ३ मा सुक्खा पहिरो जाँदा दूधकोशी नदीको बहाव परिवर्तन भएको छ ।

वडा नम्बर ३ का अध्यक्ष मेडल राईका अनुसार करिब २५ मिटर चौडाइको पहिरो दूधकोशीमा खसेपछि नदीको बहाव परिवर्तन भएको हो । पहिरो झर्ने क्रम नरोकिए रिब्दोम बस्ती जोखिममा पर्न सक्ने उनले बताए ।

‘साविकको १ र २ नम्बर वडाको बीचमा सोदु खोला छ । त्यही खोलासँगै दूधकोशी पर्छ । पहिरो खसेको त्यहीँनेर हो । पहिरोले नदीको बहाव परिवर्तन भएर खोटाङको हलेसी तुवाचुङ नगरपालिकातिर पर्ने जंगल क्षेत्र भएर बगेको छ । अझै एक स्टेप पहिरो खसेमा रिब्दुम वस्तीका करिब १२ घर जोखिममा पर्न सक्छन्,’ उनले भने ।

ओखलढुंगा प्रहरी प्रमुख गोविन्द काफ्लेले पहिरो खसेको र नदी थुनिएको भनेर मिडियाबाट थाहा पाएको बताउँदै सो क्षेत्रमा बुझ्न केतुके प्रहरी चौकीको टोली खटाएको जानकारी दिए ।

दशैंताका परेको अविरल वर्षापछि सोलु करिडोरको उँबुको चुनै भन्ने ठाउँ नजिकमा पहिरो झर्दै आएको थियो । दूधकोशी नदीको बहाव नै परिवर्तन हुने गरी सुक्खा पहिरो खसेको भने मंगलबारदेखि हो ।

पहिरो गएर बाटो अवरुद्ध हुँदा वडा नम्बर ३ का साथै, वाक्सा, मोली, सिद्धिचरण, हलेसी र रावाबेसी क्षेत्रका बासिन्दा प्रभावित भएका छन् । पहिरोका कारण ती क्षेत्रका बासिन्दाको मुख्य बजार जयरामघाटसम्म आउजाउ गर्न समस्या परेको वडा नम्बर ३ का अध्यक्ष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?