+
+

लता मंगेशकरको आवाज दुनियाँलाई चिनाउने गुलाम हैदर

ताहिर सरवर मिरो ताहिर सरवर मिरो
२०७८ कात्तिक २६ गते १३:०६

भौतिक विज्ञानमा अल्बर्ट आइन्स्टाइन र सर आइज्याक न्यूटनको जुन स्थान छ, फिल्म–संगीतमा मास्टर गुलाम हैदरले उस्तै स्थान ओगटेका छन् भन्दा अन्यथा हुँदैन । किनभने हैदरले ९० वर्षअघि आविष्कार गरेको फिल्म–संगीतको डीएनए आज पनि संगीत कम्पोजिसनमा प्रयोग हुने प्रमुख शैली बनेको छ ।

हैदरले भारतीय संगीतलाई मालिका–ए–तरन्नुम नूरजहाँ तथा लता मंगेशकरजस्ता अद्वितीय स्वरहरू दिए । यति मात्र होइन, १२ वर्षको उमेरमा नै शमशाद बेगमलाई मानिसहरूमाझ परिचय गराउने कम्पोजर पनि गुलाम हैदर नै थिए ।

अन्ततः तिनै शमसाद बेगम चलचित्र क्षेत्रको पहिलो पाश्र्व–गायिका बन्न पुगिन् । साथै नूरजहाँ, लता मंगेशकरलगायत गायिकाले बेगमकै शैली प्रयोग गरेर गायनमा सदावहार स्थान ओगटे ।

मास्टर गुलाम हैदरले लता मंगेशकरको क्षमतालाई ७५ वर्ष पहिले नै पहिचान गरे, जब कि लता त्यतिबेला बजारमा सामान्य ‘कोरस गर्ल’को रुपमा मात्र चिनिएकी थिइन् ।

बीबीसी उर्दूसँग कुरा गर्दै लता मंगेशकरले गुलाम हैदरसँगका संस्मरण सम्झिएकी छन् । उनका अनुसार उनी त्यतिबेला १८ वर्ष मात्र पुगेकी थिइन् र कोरसमा गाउने तथा मराठी फिल्ममा सानो भूमिकामा काम गरिरहेकी थिइन् ।

लताले भनिन्, ‘कहिले नायकको कान्छी बहिनीको भूमिका त कहिले नायिकाको साथीको भूमिका पाएको थिएँ तर अभिनयमा मेरो मन गएन । म त गाउन चाहन्थें, तर मलाई कसैले मौका दिँदैनथे ।’

त्यति नै बेला स्टुडियोमा जुनियर आर्टिस्ट आपूर्ति गर्ने पठान नामका व्यक्तिले लतालाई गुलाम हैदरकहाँ पुर्‍याए । त्यो नै लताको जीवन परिवर्तनको पहिलो खुड्किलो साबित भयो ।

यसपछि हैदरले लताको स्वरको अडिसन लिएर उनलाई पास गरे । लता भन्छिन्, ‘म मास्टर साहिबसँग गोरेगाउँ रेलवे स्टेसनमा रेलको प्रतीक्षामा थिएँ । फिल्म ‘मजबूर’को गीतको पहिलो धुन त्यहीं बज्यो । गीतको शब्द ‘दिल मेरो टुट्यो, कतै छोडेर गएन’ भन्ने थियो ।’

साथै मास्टरजीले गोलो टिनको डिब्बामा प्याक गरी ५५५ ब्रान्डको चुरोट पिउने कुरा पनि लताले बताएकी छन् । लताका अनुसार हैदरले चुरोटको बक्समा नै धुन तयार गर्न सक्थे । उनलाई लामो समयको रिहर्सल वा साधनाको जरुरत नै पर्दैनथ्यो ।

डा. गुलाम हैदर कसरी संगीतकार बने ?

सुपुत्र परवेज हैदरका अनुसार गुलाम हैदरको जन्म सन् १९०६ मा सिन्धको हैदरावाद शहरमा भएको थियो । उनलाई सानैदेखि संगीतमा रुचि थियो, तर उनले किशोरावस्थामा दन्तचिकित्सा पढेर पछि आफ्नै क्लिनिक शुरु गरे ।

एक दिन त्यस समयका चर्चित फिल्म निर्माता र पञ्चोली स्टुडियोका मालिक सेठ दिलसुख पञ्चोली उनीकहाँ दाँतको उपचार गर्न आए । कुराकानीका क्रममा सेठ पञ्चोलीले आफू फिल्मका लागि संगीत निर्देशकको खोजीमा रहेको बताए ।

यो सुन्नेबित्तिकै गुलाम हैदरले क्लिनिकमा रहेको हार्मोनियम खोले र सेठ पञ्चोलीलाई धुन सुनाए । यहींबाट बुबाको संगीत करियर शुरु भएको तथा पञ्चोली स्टुडियोमा संगीत विभागको प्रमुख बनाइएको छोरा परवेज बताउँछन् ।

हैदरले कोलकाता र मुम्बईका प्रमुख फिल्म उद्योगहरूमा पार्श्व संगीतकारको रुपमा काम गरे । यसैका लागि उनलाई आफ्नो समयका ‘महान् संगीतकार’ मानिन्छ ।

उनीभन्दा पहिले उस्ताद झण्डे अली खानलाई अविभाजित भारतमा प्लेब्याक संगीतको पहिलो प्रामाणिक र प्रख्यात संगीतकार मानिन्थ्यो । झण्डे अली खान प्रसिद्ध संगीतकार नौसादका गुरु थिए ।

हैदर आफ्नो समयका सबैभन्दा धेरै कमाउने संगीतकार पनि थिए । सन् १९४५ मा फिल्म निर्माता तथा निर्देशक मेहबुबको फिल्म ‘हुमायूं’का लागि उनले त्यतिबेला एक लाख रुपैयाँ पाएका थिए, जुन एक कीर्तिमानी रकम हो । त्यतिबेला चर्चित भनिएका संगीत निर्देशकको पारिश्रमिक समेत १० हजारभन्दा बढी थिएन ।

हैदरले संगीत गरेका चर्चित चलचित्रहरूमा स्टेयरवे टु हेभन, मजनु, गुल बकावली, यमला जट, खजान्ची, चौधरी, खानदान, हुमायूं, शमा, मेहन्दी, मजधर, मजबूर, शहीद, चलचल रे नौजवान, कनीज, शाहिदा, बेकारार, अकेली आदि पर्छन् ।

लता मंगेशकरका अनुसार गुलाम हैदर बिरामी हुँदा उनी मास्टरको स्वास्थ्यबारे जानकारी लिन नियमित रूपमा नूरजहाँलाई फोन गर्थिन् । सन् १९५३ मा हैदरको शल्यक्रिया गरिएको थियो र त्यही वर्ष ४५ वर्षको उमेरमा उनको निधन भयो ।

‘मास्टर गुलाम हैदर महान कलाकार हुनुहुन्थ्यो । मभन्दा पहिले उनी नूरजहाँजस्ता गायिकाको पनि मास्टर थिए र उनले शमशाद बेगमलाई पनि ल्याएका थिए’ भावुक हुँदै लता भन्छिन्, ‘उहाँ छोटो समयको लागि यो संसारमा आउनु दुर्भाग्य हो तर उहाँको काम र नाम हाम्रो हृदयमा सदा जीवित छ ।’

(बीबीसी हिन्दीबाट निर्भीकजंग रायमाझीले गरेको भावानुवाद)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?