+
+

कानुन व्यवसायीमाथि बल प्रयोगको सर्वोच्चका १८ न्यायाधीशद्वारा विरोध

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १७:१८

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरुले सर्वोच्च अदालत परिसरभित्र कानुन व्यवसायीमाथि प्रहरीबाट भएको बल प्रयोगको विरोध गरेका छन् ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु १८ जना न्यायाधीश सम्मिलित बैठकले अदालत परिसरमा कानुन व्यवसायीमाथि भएको बल प्रयोगप्रति दुख व्यक्त गर्दै सावधानी अपनाउन सर्वोच्च प्रशासनलाई निर्देशन दिएको हो ।

‘बैठकको निर्णय नम्बर ३ मा हामीले यसरी शान्तिपूर्ण रुपले प्रदर्शन गरेका कानुन व्यवसायीमाथि बल प्रयोग गरेको घटनाप्रति दुख व्यक्त गरेका छौं,’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘आगामी दिनमा यस किसिमको बल प्रयोग नहोस् भन्नेमा पनि सावधानी अपनाउन सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण गराएका छौं ।’

बिहीबार सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहितका कानुन व्यवसायी घाइते भएका छन् । बिहीबार १८ न्यायाधीशको बैठकले सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रथासम्बन्धी कार्यविधिको मस्यौदा पनि गरेको छ ।

बिहीबार सर्वोच्च परिसरमा एक जना प्रहरी पनि घाइते भएको जानकारी आएको भन्दै छलफलमा सहभागी एक न्यायाधीशले सो घटनाप्रति पनि दुख व्यक्त गरेको बताएका छन् ।

न्यायाधीशहरुको छलफलको निर्णय पुस्तिका हस्ताक्षरका लागि मुख्य रजिस्ट्रार मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?