+
+

पाकिस्तानी विधेयकबाट बलात्कारीलाई नपुंसक बनाउने दफा हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ४ गते ९:०४
पाकिस्तानको कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारी लगायत पत्रकार सम्मेलनमा ।

४ मंसिर, काठमाडौं । पाकिस्तानको संसदले बुधबार पारित गरेको एक विधेयकबाट पटके बलात्कारीलाई आजीवन नपुंसक बनाउनेसम्बन्धी दफा हटाइएको छ ।

कानुन तथा न्याय मन्त्रालयकी संसदीय सचिव मलीका बोखारीले फौजदारी कानुनसम्बन्धी परिमार्जित विधेयकबाट बलात्कारीको ‘केमिलक कास्ट्रेशन’ अर्थात् रासायनिक बन्ध्याकरणसम्बन्धी दफा हटाइएको बताएकी हुन् ।

इस्लामिक विचारधारा परिषद्ले बलात्कारीको केमिलक कास्ट्रेशन गैर-इस्लामिक भएको भन्दै आपत्ति जनाएपछि संसदबाट उक्त विधेयक पारित हुनुपूर्व नै सम्बन्धित दफा हटाइएको बोखारीको भनाइ थियो ।

‘संविधानको धारा २२७ ले समेत हरेक कानुन शरिया र पवित्र कुरानअनुसार हुनुपर्ने प्रत्याभूत गरेको छ’, इस्लामावादमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बोखारीले भनिन्, ‘तसर्थ, हामीले यी (इस्लामिक) मूल्य-मान्यताविपरीत हुने कुनै पनि कानुन पारित गर्न सक्दैनौं ।’

बोखारीका अनुसार कानुन मन्त्रीको मार्गदर्शनबमोजिम एउटा सरकारी समितिले विस्तृत छलफल गरेपछि विधेयकबाट केमिकल कास्ट्रेशनसम्बन्धी दफा हटाइएको थियो ।

त्यस्तै, पत्रकार सम्मेलनमा बोल्दै बलात्कारसम्बन्धी घटनाको स्वास्थ्य परीक्षणका लागि हरेक जिल्लामा ‘प्रतिबलात्कार सेल’ स्थापना गरिने समेत बोखारीले बताइन् । नागरिकको अधिकारी रक्षा गर्न सरकार प्रतिबद्ध रहेको र यसका लागि आवश्यक कानुन बनाइएको उनको भनाइ थियो ।

यसअघि अन्तर्राष्ट्रिय समाचार माध्यमले पाकिस्तानमा बलात्कारीलाई औषधि दिएर आजीवन नपुंसक बनाउने विधेयक पारित भएको जनाएका थिए ।

बुधबार प्रधानमन्त्री इमरान खानको नेतृत्वमा रहेको सरकारले संसदको संयुक्त सत्रबाट झण्डै ३ दर्जन विधेयक हतार-हतार पारित गरेको थियो । यसमध्ये एउटा विधेयक यौन हिंसा तथा बलात्कारसम्बन्धी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?