+
+

सीटीईभीटीले सहुलियत कर्जा दिने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले युवाहरुलाई विभिन्‍न शीर्षकमा सहुलियत कर्जा दिने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १८:५६

६ मंसिर, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी)ले युवाहरुलाई विभिन्‍न शीर्षकमा सहुलियत कर्जा दिने भएको छ ।

आर्थिक अभावका कारण सीप र क्षमता भएर पनि उद्यमी बन्न नसकेका र प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीम लिन र उच्च शिक्षा अध्ययन गर्नबाट वञ्चित युवालाई सहुलियत कर्जा दिने जनाएको छ ।

युवा जनशक्तिहरुलाई उद्यमशील बन्न प्रोत्साहन गरी राष्ट्रलाई योगदान पुर्‍याउने उद्देश्यले परिषद् र नविल बैंकको सहकार्यमा सहुलियत कर्जा दिइने भएको हो ।

आवश्यक सीपपयुक्त दक्ष जनशक्ति उत्पादन गरी दिगो विकासका लक्ष्यहरु हासिल गर्न परिषद् र बैङ्कले सहकार्य गरेको परिषद्का सदस्य-सचिव जीव नारायण काफ्लेले बताए ।

यी दुई संस्थाले गरेको सम्झौतापत्रमा नविल दिगो बैंकिङ्ग सेवा अन्तर्गत नविल किसान कर्जा, नवील उद्यमशील कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, सीटीईभीटी कर्जा र उच्च शिक्षा अध्ययनका लागि बैङ्कका विभिन्न शाखाहरुबाट सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था भएको नविल बैंकले जनाएको छ ।

सीटीईभीटी सीप विकास कर्जा

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्संग आवद्ध संस्थाहरुमा भर्ना भएको प्रमाण तथा अन्य प्रमाणित कागजात संलग्न गरेका १८ बर्ष देखि ६५ बर्ष सम्मका नेपाली नागरिकहरुलाई प्राविधिक र व्यवसायिक तालिम प्राप्त गर्नको लागि ऋण कर्जा उपलब्ध गराउने जनाएको छ ।

तालीम सकिएको एक बर्ष वा बढीमा तीन बर्ष (दुई मध्ये जुन छिटो हुन्छ सोही) का लागि बढीमा रु.२ लाख सम्म मासिक किस्तावन्दी अनुसार प्रदान गर्ने भएको छ । तालीम समाप्त भएपछि एक बर्ष वा बढीमा तीन बर्ष (दुई मध्ये जुन छिटो हुन्छ सोही) अनुसार कर्जा प्रदान गर्ने भएको छ ।

शिक्षित युवा स्वरोजगार

स्नातक उत्तीर्ण गरी कम्तिमा सात दिन उद्यमशील सीप विकास तालिम प्राप्त गरेका १८ वर्ष देखि ४० बर्ष सम्मका नेपाली नागरिकहरुलाई उद्यमशीलता विकास गरी स्वरोजगार हुन का लागि ७ लाख सम्म दिने भएको छ । मासिक किस्तावन्दी अनुसार बढीमा ५ बर्षका लागि ऋण प्रदान गर्ने भएको छ ।

सीटीईभीटी उच्च शिक्षा कर्जा

एसएलसी वा एसईई परीक्षा उत्तीर्ण भै आय स्रोत कमजोर भएका १८ वर्षदेखि २५ वर्षसम्मका विद्यार्थीलाई टीईभीटी उच्च शिक्षा कर्जा प्रदान गर्ने भएको छ ।

प्राविधिक÷व्यवसायिक क्षेत्रमा उच्च शिक्षा अध्ययन गर्न पाँच लाखसम्म दिने भएको छ । शैक्षिक बर्ष वा बढीमा ५ वर्ष (दुई मध्ये जुन छिटो हुन्छ सोही) मासिक किस्तावन्दी अनुसार शैक्षिक वर्ष कायम रहेसम्म वा बढीमा ५ बर्ष (दुई मध्ये जुन छिटो हुन्छ सोही)का लागि प्रदान गर्ने सीटीईभीटीले जानकारी दियो ।

किसान कर्जा

कृषि व्यवसाय सम्बन्धी अनुभव वा तालिम लिएका कृषक तथा कृषि व्यवसायीलाई व्यक्तिगत १५ लाखसम्म र संस्थागत २५ लाखसम्म दिने भएको छ । कृषिमा उद्यमशीलताको विकास र प्रवर्द्धन गर्नको लागि मासिक किस्ताबन्दीमा सहुलियत कर्जा दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?