+
+
संगीत :

प्रकाश दूतराज : वैदेशिक रोजगारीको त्यो घनचक्कर र संगीतको प्यास

सुशील नेपाल सुशील नेपाल
२०७८ मंसिर ११ गते २०:०५

११ मंसिर, काठमाडौं । प्रकाश दूतराज जब फुर्सदमा हुन्छन्, उनलाई काठमाडौंमा यत्तिकै बसिरहन मन लाग्दैन । र, गाउँ गइहाल्छन् । शहरको रमझममा गीत सिर्जनाको उत्ति साह्रो मेसो चल्दैन उनलाई । गाउँको परिवेशमा रहेर गीत सिर्जना गर्छन् । र, बजारमा ल्याउँछन् ।

गीतलाई स्रोता-दर्शकले रुचाउँछन् । ‘बैनी झ्यालैमा…’, ‘चोली मैलो भो‘, ‘घर कता हो बैनीको…’ हुँदै ‘जाम भो माइली…’ बाट प्रकाशले आफूलाई प्रमाणित गरिसकेका छन् ।  जसमध्ये उनको पछिल्लो हिट गीत हो, ‘जाम भो माइली’ । यो गीतका शब्दहरू उनले आफ्नो घरको बार्दलीमा बसेर कोरेका थिए ।

स्रोता-दर्शकले मात्र होइन, आज सांगीतिक क्षेत्रका स्थापित कलाकारहरूले समेत उनको सिर्जनाको तारिफ गर्ने गरेका छन् ।

खासमा ‘जाम भो माइली’लाई स्रोता-दर्शकले यति धेरै मन पराउलान् भन्ने अपेक्षा प्रकाशले गरेका थिएनन् । यो गीत सार्र्वजनिक गरेको चार दिनपछि उनी आफ्नो गाउँ (म्याग्दीको अर्मन) तर्फ लागे । त्यतिञ्जेलसम्म युट्युबमा भिडियोको भ्युज साढे दुई लाख आसपास मात्र थियो ।

गाउँमा इन्टरनेट त्यति नटिप्ने । त्यसमाथि घर गएपछि पारिवारिक काममै बढी व्यस्त भइने । उनी पनि केही दिन सामाजिक सञ्जालदेखि टाढा रहेर पारिवारिक काममा व्यस्त रहे ।

गाउँ गएको पाँच दिनपछि उनी सदरमुकाम बेनी बजार झरे । त्यो बीचमा उनको गीत स्थानीय रेडियोमा बजेको सुनेका थिए । गीतलाई लिएर केही प्रशंसासहितका फोन कल नआएका होइनन् । तर, जब उनी बेनी झरेर युट्युब र टिकटक हेरे, आफ्नो गीतले पाएको माया देखेर छक्क परे । टिकटकमा निकै भाइरल थियो, गीत । युट्युबमा भ्युज ह्वात्तै बढेको ।

उनी सुनाउँछन्, ‘पाँच दिनमा गीतको माहोल अर्कै भइसकेको थियो ।’ गीतलाई स्रोता-दर्शकले देखाएको मायाको अर्को प्रसंग सुनाए ।

तिहारपछि उनी म्याग्दीमै सांगीतिक कार्यक्रममा सहभागी भएका थिए । स्टेजमा पुगेर उनले भाका हाले ‘लाहुर जाने रेलैमा…।’ उनीसँग स्वरमा स्वर मिलाएर दर्शकहरू गाउन थाले । एकपटक गाए, दर्शक चिच्याए- वान्स मोर भन्दै ।  प्रकाशले फेरि गाए । दर्शकले फेरि भने ‘वान्स मोर’ । तीन-चार हुँदै ८ पटक यही गीत दर्शकलाई सुनाए ।

प्रकाश त्यो क्षण सुनाउँछन्, ‘दर्शकले अरु गीत गाउनै नदिने । आठ पटक त्यो गीत गाएँ । एउटै गीत यतिधेरै पटक कहीं गाएको थिइन । स्रोता-दर्शकको त्यो मायाले एकदमै खुशी दिलायो ।’

‘म्याग्दी आफ्नै जिल्ला हो । त्यो भएर पनि हो कि ?,’ हल्का हाँसोका साथ उनले आफ्नो बचाउ पनि गर्न भ्याए ।

आफ्नो सांगीतिक क्षेत्रको टर्निङ प्वाइन्ट भने ‘आरने’ गीतलाई मान्छन् । त्यसपछि उनले सार्वजनिक गरेको गीत हो, ‘बैनी झ्यालैमा’ । यो गीतले उनमा छुट्टै उत्साह ल्यायो । त्यसपछि केही गीतहरू आए, तर उनले सोचेको जस्तो नभएपछि फेरि विदेशकै सोचमा पुगे

पुरानो खालको गीत भएपनि नयाँ पुस्ताले रुचाएकोमा एकदमै खुसी लागेको प्रकाश बताउँछन् । ‘यो अलि पुरानो खालको गीत हो । पुरानो पुस्ताले मन पराउने क्याटगोरीको गीत हो,’ प्रकाशले अगाडि भने, ‘तर तपाईं-हाम्रो उमेरकाले पनि त्यसलाई चाहेको, रुचाएको देख्दा एकदमै गर्व महसुस हुने रहेछ ।’ यसबाट नेपालीपन भएका सिर्जना स्रोता-दर्शकले मन पराउने उनको अनुभव छ ।

उनले यो गीत हालसालै तयार पारेका भने होइनन् । पहिलो चरणको लकडाउनपछि ७ महिना अगाडि आफूले गाउँमा यो गीत तयार पारेको प्रकाश बताउँछन् । भिडियोका लागि आर्थिक व्यवस्थापनका कारण ढिलो गरी सार्वजनिक गरेको उनले सुनाए ।

*** ***

सांगीतिक क्षेत्रमा प्रकाशले कहिल्यै ठूलो सपना देखेनन् तर, रहरले पछ्याई नै रह्यो । ‘कतिसम्म भने,’ प्रकाश सम्झन्छन्, ‘गाउँमा अर्मपर्ममा जान्थें । त्यहाँ गएर काम नगरी म गीत गाउँथें । पछि म जसकोमा गएँ, त्यहाँबाट हाम्रोमा आएर काम गरिदिनुहुन्थ्यो । घाँस, दाउरा गर्दा पनि गीत गुनगुनाउँथें ।’

रहरहरू नहुने शायदै होलान् । तर, रहरका बीचमा खडा हुने प्रतिकूल परिस्थिति पनि उत्तिकै हुन्छन् । यस्तै प्रतिकूलतासँग जुधेर अंकुराएका रहेछन् प्रकाश दूतराज । सामान्य परिवारमा जेठो सन्तानका रूपमा जन्मिएका प्रकाशलाई सानैदेखि पारिवारिक जिम्मेवारी काँधमा आयो ।

‘विगतका दिन सम्झिँदा कुनै पनि क्षण खुशी हुने खालका छैनन् । जुन क्षणहरू सम्झिँदा अहिले पनि अर्कै खालको अनुभूति हुन्छ,’ प्रकाश विगत स्मरण गर्दै भन्छन् ।

उनले अगाडि सुनाए, ‘परिवारमा केही सहज भनेर कक्षा ९ देखि बेनी झरेर काम गर्दै पढें । त्यहाँ पनि केही समय राम्रै दुःख गरियो ।’

उनको स्वरमा पहिलो गीत भने त्यतिबेलै रेकर्ड भएको थियो । स्कुल, छिमेकमा एक खालको माहोल थियो, प्रकाशले गीत गाउँछ । उनले गीत लेखेका थिए । उनको गायन रहर बुझेर नजिकका दाइहरूले गीत रेकर्ड गराइदिएको उनी बताउँछन् । २०६६ सालतिर रेकर्ड गरेको उनको गीत थियो- ‘सिमसिम पर्‍यो पानी … ।’ सांगीतिक क्षेत्रमा रहर भएपनि उनले भविष्यबारे सोचेका थिएनन् ।

यो उनको प्रारम्भिक अनुभव थियो । सांगीतिक क्षेत्रमा आफ्नो केही सिर्जनाले चर्चा पाइरहँदासम्म पनि उनी आर्थिक संकटले ग्रसित थिए । घरखर्च टार्न र रहरको सांगीतिक  बजारमा उदाउन दुवै विषय उनका लागि जीवनका परीक्षा थिए ।

विदेशको ‘घनचक्कर’

विदेश गएर परिवारलाई गरिबीबाट उकास्ने सपना देखेर उनले १२ कक्षा पढ्दै गर्दा पासपोर्ट बनाए । र, काठमाडौं आए । आफ्नो तर्फबाट प्रक्रिया पूरा गरेका थिए तर उनले सोचेको जस्तो भैदिएन । उनी फेरि गाउँ फर्किएर दुःख गर्न थाले । २०७२ सालको भूकम्पपछि उनी वैदेशिक रोजगारीमा जाने तयारीका साथ फेरि काठमाडौं आए ।

तर, राम्रो कम्पनीमा जानका लागि केही महिना लाग्ने भएपछि उनी घर फर्किएनन् । ठमेलको एक दोहोरी साँझमा पुगेर गाउन थाले ।

उनी सुनाउँछन्, ‘केही समय काम गरौं भनेर दोहोरी साँझ छिरेको थिएँ । तर, दोहोरी साँझमा पुगेपछि सांगीतिक क्षेत्रमा नशा चढ्दै गयो ।’ विदेश जान आएका उनी दोहोरी साँझमा रमाउन थाले । दोहोरीको रमाइलोमा भुलेपछि केही समय विदेशबारे सोचेनन् ।

दोहोरी साँझमा गाएपछि भने धेरै सहज भएको उनी बताउँछन् । उनी दोहोरी साँझ पेट पाल्ने मेसो मात्र नभएर पाठशाला समेत भएको बताउँछन् । उनी थप्छन्, ‘पहिले त मेरो आवश्यकताका लागि काम गरें । संगीतको नशा लाग्दै गएपछि सिकाइको रूपमा लिन थालें । गीत गाउने कुरा, स्केल-वाद्यवाधन, स्टेज पर्फमेन्सजस्ता धेरै कुराहरू दोहोरी साँझबाट सिकें ।’

सांगीतिक क्षेत्रमा केही नयाँ गर्ने हुटहुटी पलाउन थाल्यो । केही गीतहरू ल्याएँ, ‘जाम माया बेनीको बजार’, ‘फूलीवाली’, ‘पछ्यौरीको तातो’ । आफ्नो सांगीतिक क्षेत्रको टर्निङ प्वाइन्ट भने ‘आरने’ गीतलाई मान्छन् । त्यसपछि उनले सार्वजनिक गरेको गीत हो, ‘बैनी झ्यालैमा’ । यो गीतले उनमा छुट्टै उत्साह ल्यायो । त्यसपछि केही गीतहरू आए, तर उनले सोचेको जस्तो नभएपछि फेरि विदेशकै सोचमा पुगे ।

गीत चलेपछि रोकियो तेस्रो पटक विदेश उड्ने योजना

प्रकाश एक वर्ष अगाडि कोरोनाको पहिलो लहरपछि तेस्रोपटक विदेश जाने सोचमा पुगेका थिए । ‘अरुसँग सहकार्य गरेर, केही ऋणधन गरेर गीत ल्याएको थिएँ । तर, गीतहरूले निराश बनाए,’ उनी सुनाउँछन्, ‘सांगीतिक क्षेत्रमा बरु विदेश गएर आएर पनि लागूँला, अब विदेश जान्छु भन्ने सोचमा पुगेको थिएँ । म्यानपावरलाई डकुमेन्ट पनि बुझाएको थिए ।’

सोही बीचमा उनको गीत सार्वजनिक भयो, ‘घर कता हो बैनीको …।’

‘गीतले नसोचेको अडियन्स पायो,’ प्रकाशले उत्साहित हुँदै भने, ‘यस गीतले फेरि विचलित हुन दिएन । गीत रुचाइदिनुभएपछि एक हिसाबले बन्धनमा बाँधिइदोरहेछ । यो गीतले मलाई फेरि बाहिर जान दिएन ।’ सात महिना अगाडि सार्वजनिक ‘घर कता बैनीको …’ बोलको गीतले युट्युबमा १ करोड ३० लाख भ्युज पाइसकेको छ । अहिलेको ‘जाम भो माइली’ गीतले पाएको सफलताबाट उनी झन् दंग छन् ।

आफ्नै गाउँठाउँ-परिवेश नै संगीतको धरातल

प्रकाश आफू हुर्केको गाउँ-समाज, त्यहाँको परिवेश, संस्कृतिलाई नै आफ्नो संगीतको धरातल मान्छन् । सोही कारण उनका गीतमा गाउँ समाज, परिवेशका कथा पाइन्छ । उनी नेपालीसँग अभिव्यक्त गर्ने थुप्रै कथा रहेको बताउँछन् ।

‘हाम्रो समाजमा अनेक कथाहरू छन् । अभाव र दुःखका कथाहरू हुन्, विभेदका कुराहरू हुन् वा शिक्षाका कुराहरू हुन् । जति नै हामीले गरेपनि सकिँदैन,’ उनको बुझाइ छ ।

तिनै गाउँ-समाज र परिवेशका कथालाई आफूले सिर्जनामा पस्किने प्रयास गर्ने उनले बताए । यद्यपि आफ्ना सिर्जनाले केही मनोरञ्जन मात्र नभएर केही सकारात्मक प्रभाव पनि पारुन् भन्ने सधैं सोच्ने गरेको प्रकाश बताउँछन् ।

उनी रातारात सिर्जना तयार गर्दैनन् । गीत तयार पारिसकेपछि आफ्नो टिमसँग छलफल गर्छन् । टिमको सुझावलाई आत्मसात गर्दै गीत तयार गर्छन् । समय लगाउँछन्, थोरै गीत ल्याउँछन् तर विशेष ल्याउँछन् । त्यसैले त उनका गीतलाई स्रोता-दर्शकले विशेष रूपमा हेर्छन् । ‘साथीहरूले सानो-सानो कुराहरूमा पनि एकदमै मेहनत गर्नुहुन्छ,’ उनी थप्छन्, ‘हामीलाई चाँडो ल्याउन आर्थिक कुराले पनि च्याप्छ ।’

सिर्जनाले बढेको चुनौती

आफ्ना गीतहरू स्रोता/दर्शकले रुचाइसकेपछि चुनौती महसुस कत्तिको हुँदोरहेछ ? उनको स्वाभाविक जवाफ छ, ‘हुन्छ नै, अब आउने सिर्जनाले यत्तिको माया पाउला-नपाउला भन्ने डर अवश्य हुन्छ । अहिले पनि नयाँ गीतबारे सोचिरहँदा त्यो चुनौती महसुस भइरहेको छ ।’

यद्यपि, आफूले स्रोता-दर्शकका लागि सिर्जना ल्याउँदा कुनलाई रुचाउँछन् भन्न नसकिने उनी बताउँछन् । ‘राम्रो सिर्जना पस्किने हो । तर हरेक सिर्जनाले आ-आफ्नै भाग्य लिएर आएका हुँदा रहेछन्,’ उनी भन्छन् ।

‘गीत-संगीतको पुजारी भएर बस्न पाइयोस्’

प्रकाश गीत मात्रै गाउँदैनन् । गीत लेख्ने, भाका बनाउने, भिडियोको निर्देशनसम्म आफैं गर्छन् । पछिल्लो गीत ‘जाम भो माइली’ भने उनले निर्देशन गरेका होइनन् । यसमा अभिनय भने आफैंले गरेका छन् । यद्यपि, अभिनयमा आफ्नो धेरै रुचि नभएको उनले सुनाए ।

‘अभिनयमा रुचि धेरै होइन । तर, हामीले बनाएको कथाको काल्पनिक पात्रमा आउँदा साथीहरूले तपाईं हुनुपर्छ भनेपछि अभिनय गरेको हुँ,’ म्युजिक भिडियोमा अभिनय गर्नुको कारणबारे प्रकाशले खुलाए ।

जीवनको बक्ररेखामा दौडिँदै यहाँसम्म आएका प्रकाश अहिले भने वैदेशिक रोजगारीको कल्पना गर्न छाडेका छन् । उनी अब त्यसतर्फ कल्पना गर्न नपरोस् भन्छन् । कुराकानीको बिट मार्ने क्रममा उनले भने, ‘गीतसंगीतको पुजारी भएर बस्न पाइयोस् । दर्शक-स्रोताहरूको माया पाइयोस् बाँकी भोलिका दिनमा सांगीतिक क्षेत्रमा बिताउन सहज होस् ।’

तस्वीर : चन्द्र आले

 

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?