
१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले जति पनि मूल्य परिमाणमा चाँदी आयात गर्न पाउने व्यवस्था हटाएको छ । गत शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दै चाँदी आयातमा कडाई गर्ने घोषणा गरेको केन्द्रीय बैंकले सोमबार एकीकृत निर्देशनमार्फत सो घोषणालाई प्रष्ट्याएको हो ।
नयाँ व्यवस्थाअनुसार अब एउटा बिल बिजकबाट एक पटकमा ३५ हजार अमेरिकी डलरभन्दा बढीको चाँदी आयात गर्न पाइने छैन् । यस्तै यस अघि डीएपी, डीएए, टीटी र ड्राफ्टमार्फत हुने चाँदीको आयातलाई रोकेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । अब चाँदीको कारोबार गर्न अनुमति पाएका व्यवसायी र वाणिज्य बैंकले मात्रै चाँदीको आयात गर्न पाउने छन् । यस्तै चाँदीको गरगहना बनाई बिक्री गर्ने र हस्तकलाको सामान बनाएर बिक्री गर्नेले मात्रै चाँदी आयात गर्न पाउने छन् ।
बजारमा खपतको तुलनामा चाँदीको आयात उच्च रहेको पाइए पछि चाँदीको आयातमा कडाइ गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
भन्सार विभागको विवरणअनुसार चालु आवको कात्तिक महिनासम्ममा १२ अर्ब २२ करोड रुपैयाँ बराबरको एक लाख २९ हजार ४ सय १० किलो चाँदी नेपाल भित्रिएको छ । जबकी गत आर्थिक वर्षभरीमा जम्मा ७ अर्ब २५ करोड रुपैयाँ बराबरको ७१ हजार ७ सय ४६ किलो चाँदी आयात भएको थियो । गत वर्ष कात्तिकसम्म जम्मा ६३ करोड रुपैयाँ बराबरको मात्र चाँदी नेपाल भित्रिएको थियो ।
भारतमा भन्दा नेपालमा चाँदी सस्तो रहेको मौका छोपी नेपालबाट ठूलो परिमाणमा चाँदी भारततर्फ तस्करी भइरहेको समाचार अनलाइनखबरले प्रकाशित गरेको थियो ।
नेपालमा चाँदी आयात र बिक्रीमा संलग्न फर्म तथा कम्पनीको कारोबार संकाश्पद रहकोअनलाइनखबरको खुलासापछि अहिले ती फर्महरुको कारोबार राजस्व अनुसन्धान विभागले छानबिन गरिरहेको छ । चाँदी प्रकरणमा थप छानविन गरिने राष्ट्र बैंकले पनि जनाएको छ ।
प्रतिक्रिया 4