+
+

कांग्रेस महाधिवेशनले बढ्यो भृकुटीमण्डपको व्यापार   

भृकुटीमण्डपमा झण्डै एक दशकदेखि खाजा पसल चलाउँदै आएकी सीता थापालाई केही दिनयता भ्याइनभ्याइ छ । शुक्रबार शुरु भएको कांग्रेस महाधिवेशनका कारण बिहानैदेखि नै पसल भीडभाड छ ।    

रासस रासस
२०७८ मंसिर २४ गते १५:०९

२४ मङ्सिर, काठमाडौँ । भृकुटीमण्डपमा झण्डै एक दशकदेखि खाजा पसल चलाउँदै आएकी सीता थापालाई केही दिनयता भ्याइनभ्याइ छ । शुक्रबार शुरु भएको कांग्रेस महाधिवेशनका कारण बिहानैदेखि नै पसल भीडभाड छ ।

सो स्थानमा अन्य समयमा बिहान र साँझ व्यापार हुने भए पनि दिउँसो सुनसान हुने गरेको उनले बताइन् । दैनिक १० देखि १५ हजार रुपैयाँसम्मको व्यापार गर्दै आएकामा अहिले झण्डै ६० हजार रुपैयाँसम्मको व्यापार भइरहेको छ ।

अरु समयमा लगानीबाट भाडा तिर्न र खान बस्न मात्रै पैसा हुने भए पनि मण्डपमा हुने कार्यक्रमले व्यापार बढेको उनको भनाइ छ । कोभिडका कारणले यहाँ हुने कार्यक्रम घटेको भए पनि अहिले भइरहँदा उनी खुशी छन् । सीता भन्छिन्, ‘हामीलाई त हप्तैपिच्छे केही न केही भयो भने आम्दानी बढ्छ ।’

महाधिवेशन आइतबारसम्म जारी रहने छ । महाधिवेशनको उद्घाटन सुरु हुनुभन्दा एक साता पहिलेबाट नै महाधिवेशनस्थलमा भने भीडभाड बढ्न थालेको थियो ।

जिल्लाजिल्लाबाट आएका त कतिपय काठमाडौँमा नै भएका प्रतिनिधि र शुभेच्छुक आपसमा भेटघाटका लागि आइरहेका थिए । हिजोअस्तिभन्दा आज बिहानैदेखि भीडभाड बढेको देखिन्छ ।

सो स्थानमा नै खाजा पसल चलाउँदै आएका मातृकाप्रसाद राई महाधिवेशनले गर्दा आफ्नो व्यापार झण्डै चार गुणाले बढेको बताए । एक साता पहिलेबाट नै यहाँ आवतजावत बढ्न थाले पनि बुधबारबाट बाक्लो भएको उनले बताए । बिहीबार भीडभाड बढेको थियो । शुक्रबार त उनलाई बिहानैदेखि भ्याइनभ्याइ भएको देख्न सकिन्थ्यो । राजनीतिक आस्थाभन्दा पनि व्यापार बढ्ने हुँदा उनलाई महाधिवेशन औधी रमाइलो लागेको छ । ‘यस्तो चुनाव त हाम्रो लागि दसैँ नै हो’ राई भन्छन् ।

महाधिवेशन, आमसभालगायतका कार्यक्रम हुँदा र व्यापार र अरु मेला पर्व हुँदा यहाँको व्यापार बढ्ने गरेको छ । गत साता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन हुँदा चार दिनमा राम्रो व्यापार भएको उनले बताए । अरु समयमा दैनिक झण्डै १० हजारदेखि १५ सम्मको व्यापार गर्ने भए पनि अहिले ६५ हजार रुपैयाँसम्मको व्यापार भइरहेको राईको भनाइ छ । खानाभन्दा खाजा खान आउनेको सङ्ख्या धेरै छ । ‘सबैभन्दा बढी चिया त्यसपछि चना, अण्डा, चाउमिन खान आउने छन्’ उनी भन्छन् ।

सो स्थानमा नै बसेर व्यापार गर्ने मात्रै होइन महाधिवेशनका कारण डालोमा वा साइकलमा व्यापार गर्ने पनि राम्रो व्यापार गरिरहेको देख्न सकिन्छ । केही वर्षदेखि नियमितरुपमा नयाँ बसपार्कमा बदाम बेच्ने गरे पनि महाधिवेशनका कारण महाधिवेशनस्थल नजिक आइपुगेको सुरेश लामाले बताए ।

प्रदर्शनी मार्ग नजिकै भेटिएका उनी चुनाब नसकिएसम्म नियमित आउने बताउँछन् । ‘यस्तै कार्यक्रममा हामीले अरु बेलाभन्दा दोब्बर आम्दानी गर्न सक्छौँ’ उनी भन्छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?