+
+

म्यानमारमा सेनाको बर्बरता : ३० जनाको हत्या गरी शव जलाइयो

म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी कैयौं मानिसको ज्यान गएको छ । शनिबार म्यानमारको सेनाले कारमा सवार मानिसलाई जबर्जस्ती बाहिर निकालेको, केहीलाई पक्राउ गरेको र केही मानिसको हत्या गरी शव जलाएको सेभ द चिल्ड्रेनको भनाइ छ । सेनाको आक्रमणमा परी ज्यान गुमाउनेमा वृद्धवृद्धा, महिला र बालबालिकासमेत रहेको बीबीसीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १६:३७

११ पुस, काठमाडौं। म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी कैयौं मानिसको ज्यान गएको छ ।

मिडिया रिपोर्ट, मानव अधिकारी समूह र स्थानीयका अनुसार ह्याप्रुसो शहरमा सेनाले गरेको हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको हो। यसैबीच, बेलायतको च्यारिटी संस्था सेभ द चिल्ड्रेनले आक्रमणपछि आफ्ना २ जना कर्मचारी हराइरहेको बताएको छ ।

शनिबार म्यानमारको सेनाले कारमा सवार मानिसलाई जबर्जस्ती बाहिर निकालेको, केहीलाई पक्राउ गरेको र केही मानिसको हत्या गरी शव जलाएको सेभ द चिल्ड्रेनको भनाइ छ । सेनाको आक्रमणमा परी ज्यान गुमाउनेमा वृद्धवृद्धा, महिला र बालबालिकासमेत रहेको बीबीसीले जनाएको छ ।

करेनी ह्युमन राइट्स ग्रुपले आन्तरिक रुपमा विस्थापित मानिसको शव जलेको अवस्था फेला पारेको बताएको छ । ‘मानव अधिकारको उल्लंघन हुने गरी भएको अमानवीय एवं निर्मम हत्याको निन्दा गर्छौं’, उक्त ग्रुपले फेसबुकमा एक पोष्ट गर्दै भनेको छ ।

मानव अधिकार समूह र स्थानीय सञ्चार माध्यमले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरमा सवारी साधनभित्र जलेका शव देख्न सकिन्छ । यसैबीच, म्यानमारको सरकारी माध्यमले सेनालाई उदृत गर्दै आक्रमणमा ‘हतियारधारी आतंककारीहरू’ मारिएको दाबी गरेको छ ।

७ वटा सवारी साधनमा सवार आतंककारीहरूलाई सेनाले रोक्न भनेको तर नरोकेपछि आक्रमण गरिएको सरकारी समाचारमा उल्लेख छ ।

समाचार माध्यम एएफपीका अनुसार म्यानमारी सेनाका एक प्रवक्ताले शंकास्पद तरिकाले गुडिरहेका ७ वटा कारलाई सेनाले रोक्न खोज्दा भिडन्त भएको र सोही क्रममा केही मानिस मारिएको बताएका छन्। तर सेनाका प्रवक्ता जअ मिन तुनले उक्त घटनाबारे थप विवरण दिएका छैनन् ।

तर फेब्रुअरी १ मा भएको सैनिक ‘कू’विरुद्ध हतियार उठाएको प्रमुख विद्रोही समूह करेनी नेसनल डिफेन्स फोर्सले मृतकहरू आफ्ना मिलिसिया नभएको बताएको छ । मारिनेमा द्वन्द्वबाट बच्न भन्दै सुरक्षित स्थानको खोजीमा हिडेका मानिसहरू रहेको उक्त समूहको भनाइ छ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?