+
+
माघी विशेष :

मुक्त कमलरी : उन्मुक्तिपछिको उडान

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ माघ १ गते १९:२५

१ माघ, दाङ । मञ्जिता चौधरीसँग साट्नुपर्ने जति खुशी छन्, सुनाउनुपर्ने त्यत्तिकै दुःखका कथा पनि छन् । जमिनदारको घरमा उनी दास सरह भएर बसिन् । उनको बाल्यकालका सुन्दर दिन दासताको अन्धकारमुनि रुमलिए । कालान्तरमा उनले त्यही दासता विरुद्धको लडाइँ लडिन् । सिंगो मुक्त कमलरी विरुद्धको आन्दोलनको नेतृत्वपंक्तिमा रहिन् । आफूसँगै हजारौंको अगुवाइ गरिन् । र, मुक्ति पश्चात् सफलताको उडान भरिन् ।

दाङको गढवा-५ की मञ्जिता आज जहाँ छिन् त्यसयता विगतलाई र्फकेर हेर्नुपरेन । कमलरी बस्दाका दिन सम्झँदा आफ्नै जीवनमा यति ठूलो परिवर्तन आउला भन्ने सोचेकीसम्म थिइनन् उनले । मञ्जिता भन्छिन्, ‘जीवनमा नसोचेको भयो ।’ मञ्जिताले आफ्नो कथा सुनाउँदै विगततर्फ डोर्‍याइन् ।

*** ***

८-९ वर्षको  कलिलो  उमेर । स्कूल जाने रहर गर्थिन्, मञ्जिता । ‘अरू जस्तै  म पनि स्कूल जान पाए,’ उनका मनमा यस्ता रहर नबुनिएका होइनन् । बाल्यकालको सुन्दर भविष्यको सपना देख्दै थिइन् । एकदिन बुवाले सम्झाए, ‘छोरी तँलाई साहुका घरमा पठाउँदैछौं । पढ्ने, लेख्ने  र स्कूल जाने  सपना नदेख्नू । साहुले  भनेको  मान्नु, मुख नलाग्नु, पिटे  सहनु । बरु मालिकको  सेवा गर्नु, काम गरेर खुशी बनाउनू ।’ बुबाले के भन्न खोजेका हुन्, उनको कलिलो बाल मस्तिष्कले ठम्याउन त सकेन तर त्यसपछि उनले जे भोगिन्, त्यो एउटा नारकीय जीवन भन्दा कम थिएन । जसलाई कमलरी प्रथा भनिन्थ्यो । जहाँ थारू समुदायका थुप्रै बालिका र किशोरी परिवारको ऋण तिर्न साहु र जमिनदारका घरमा कमैया बस्न पुग्थे ।

पहिलो पटक उनी कमलरी बस्दा ९ वर्षकी थिइन् । बुबाले ल्याएको ऋण तिर्न उनी कमलरी बस्न गइन् । कमलरी शब्दको परिभाषा बुझ्न नपाउँदै उनी बुबासँग भैरहवा पुगिन् । एक जनाको घरमा लगेर छोडिदिए ।

त्यस दिन अञ्जान घरमा बाबुले एक्लै छाडेर हिंड्न लाग्दा उनी खूब रोइन् । आफूसँगै घर लैजान भनेर रोइकराइ गरिन् । छोरीको अवस्था देखेर मञ्जिताका बुबा पनि रोए तर आफूसँग घर लैजान सकेनन् । ‘बुबाले मलाई दुई हजारमा वर्षभरि काम गर्नेगरी मालिकसँग पैसा लिइसक्नुभएको रहेछ,’ उनले भनिन्, ‘कसैगरी पनि उहाँले मलाई घर लैजान सक्नुभएन ।’

कुनै समय दासी जीवन बिताउन बाध्य पारिएका उनै थारू समुदायका छोरीहरु आज समाजका विभिन्न क्षेत्रमा स्थापित भएका छन् । कतिपय कमलरी आफैंले मिहिनेत गरेर परिवारको जीवनस्तर बदल्न सफल भएका छन्

त्यसपछि मञ्जिताका कमलरीका दिन शुरु भए । घरको सबै काम उनले गर्नुपथ्र्याे । ९ वर्षको कलिलो उमेरमा राम्रोसँग काम गर्न नआउने । त्यसमाथि मालिक्नी रुखो स्वभावकी । ‘सानो काम बिग्रँदा पनि धेरै गाली खानुपथ्र्याे,’ उनले भनिन्, ‘कहिले कुट्थिन् पनि ।’ जब-जब कुनै काम बिग्रन्थ्यो, मालिक्नीले भाँडाले टाउँकोमा हिर्काउँथिन् ।
मालिक्नी सुत्केरी हुँदा उनका बच्चाको दिसा-पिसाब समेत उनले पुछिदिनुपथ्र्याे । यति काम गर्दा पनि पेटभरि खान नपाउने । ‘कैयौं रात खाना नपाएर भोकै पनि सुतें,’ विगत सम्झँदै टोलाउँछिन् उनी ।

घरमा उनकै उमेरका मालिकका छोराछोरी स्कूल पढ्न जान्थे । उनलाई पनि रहर लाग्थ्यो । एक दिन स्कूल जाने रहर सुनाइन् । मालिक्नीले उल्टै हप्काउँदै भनिन्, ‘तँलाई हामीले पैसाले किनेर काम गर्न ल्याएको हो, पढाउन होइन । नोकर्नीले घरको काम गर्ने हो ।’ त्यसपछि उनले पढ्ने इच्छालाई मनभित्र दबाएर राखिन् ।

त्यहाँ उनी एक वर्ष कमलरी बसेर माघीमा घर फर्किन् । घर आउन नपाउँदै बुबाले उनलाई फेरि तुलसीपुर पठाउने कुरा छिनिसकेका रहेछन् । ‘बुबाले पैसा समेत लिइसक्नुभएको रहेछ,’ उनले भनिन्, ‘जान्न भनेर रोइकराइ गरें, बुबाले मान्नु भएन ।’

उनी दोस्रो पटक कमलरी बन्न तुलसीपुर पुगिन् । त्यहाँ पनि उनको दुःख सकिएन । झन् थपियो । सुखी मनले खान नपाउने । त्यसमाथि गालीगलौज र यातना भोग्नुपर्ने ।
तेस्रो पटक पनि बुबाले अन्तै कुरा छिनिसकेका रहेछन् । तर उनी मानिनन् । त्यही बेला गाउँमा मुक्त कमलरीको विरुद्ध अभियान चलिरहेको थियो । उनी त्यसको सम्पर्कमा पुगिन् । र, गाउँकै कक्षामा भर्ना भइन् । ‘६ महिना बि्रज कोर्स पढेर सिधै चार कक्षामा भर्ना भएँ,’ उनले भनिन्, ‘पढ्ने इच्छा त्यही बेला मात्र पूरा भयो ।’ पहिलो पटक साहुका जुठाभाँडा छाडेर उनी किताब र कापी समाउन पुगिन् । ‘पहिलो पटक कक्षा कोठा, डेस्क बेञ्च देख्दा मन नै भरिएर आयो,’ उनले भनिन्, ‘मेरो पढ्ने दिन शुरु भयो भनेर मिहिनेत गरी पढ्न थालें ।’

एकातिर पढाइ अगाडि बढाउँदै लगिन्, अर्काेतिर मुक्त कमैया अभियानमा पनि सक्रिय हुँदै गइन् । नायफ लगायत गैरसरकारी संस्थाले चलाएको अभियानमा सँगसँगै हिंड्न थालिन् । कमलरी बसेका दिदीबहिनीलाई संगठित गर्दै गइन् । कमलरी राखेका घर-घरमा पुगेर उद्धारमा सक्रिय भइन् । कमलरी प्रथा विरुद्ध सशक्त भएर उभिइन् । त्यसमा नेपाल युथ फाउण्डेसन र सहायक नानीहरूको साथी नामक गैरसरकारी संस्थाले अभियानलाई अघि बढाए । क्रमशः कमलरी बसेकाहरूको उद्धार हुन थाल्यो ।

कमलरी बस्नबाट मुक्त गर्नुसँगै अर्काे चुनौती परिवारबाट कमलरी बस्ने छोरीहरूलाई पठाउनबाट रोक्नु थियो । ‘कमलरी पठाउनुको मुख्य कारण आर्थिक थियो,’ उनले भनिन्, ‘आर्थिक स्थिति बलियो नहुँदा थारूका छोरीचेलीहरूलाई कमलरी जानु परिरहेको थियो ।’ आर्थिक रूपमा बलियो नभएसम्म जीवनस्तर बदलिंदैन र कमलरी प्रथा रोकिंदैन भन्ने उनलाई लाग्यो । त्यसपछि उनले आफ्नो नेतृत्वमा लवाजुनी सहकारी खोलेर त्यसको अध्यक्ष भइन् । कमलरीहरूलाई संगठित गर्दै लगिन् ।

मञ्जिताले सानै उमेरमा ठूलो जिम्मेवारी सम्हाल्दै गइन् । ९ कक्षामा पढ्दा पढ्दै सहकारी हाँक्न थालिन् । र, ११ कक्षामा पढ्दापढ्दै मुक्त कमलरीहरूको संस्था मुक्त कमलरी विकास मञ्चको संस्थापक अध्यक्ष भइन् ।

त्यही संस्थाको नेतृत्व गर्दै उनले कमलरी मुक्तिको आन्दोलनलाई थप सशक्त बनाइन् । कमलरीबाट मुक्ति पश्चात् उनीहरूको ठूलो चुनौती पुनस्र्थापनाको थियो । २०६५ सालमा मञ्जिताले संस्थाकै नेतृत्व गर्दै ६०० बढी कमलरीहरूलाई काठमाडौं उतारिन् । ‘आन्दोलनपछि मात्र सरकारलाई दबाब पुग्यो,’ उनले भनिन्, ‘त्यसपछि पनि विभिन्न माग राखेर आन्दोलन गरिरहृयौं । तब मात्र केही उपलब्धि हासिल भयो, कमलरीहरूले छात्रवृत्ति पाउन थाले ।’

आन्दोलन यतिमै सकिएको थिएन । सबैभन्दा समस्या मुक्त भएका कमलरीहरूलाई आर्थिक रूपमा सशक्तीकरण गर्नु थियो । सहकारी त्यसको गतिलो विकल्प थियो । सहकारीलाई उनले बलियो रूपमा अगाडि बढाइन् ।

सहकारीमा पूँजी बढाउँदै मुक्त कमैयाहरूलाई ऋण र सीप समेत दिन थालियो । गैरसरकारी संस्थाले पनि त्यसमा हातेमालो गरे । हातमा सीप र मुक्त कमैयाहरू सहकारीबाट ऋण लिएर आर्थिक आयआर्जनको बाटोमा लागे । ‘सीप र कर्जा दिन थालेपछि कमलरीको आर्थिक अवस्था उठ्दै गयो,’ उनी भन्छिन्, ‘कमलरी बसेका दिदीबहिनीको दिन फेरिंदै गयो ।’

त्यही सहकारी अहिले दाङबाट विस्तार भएर बाँके, बर्दिया, कैलाली, कञ्चनपुर गरी पाँच जिल्लामा विस्तार भएको छ । जसमा मुक्त कमलरी सम्बन्धी ४२ बढी सहकारी छन् । १३ हजार मुक्त कमलरी र उनीहरूको परिवार शेयर सदस्य छन् ।

उनी अहिले त्यही ४२ बढी सहकारीको समग्र व्यवस्थापन हेर्छिन् । सहकारीको कार्ययोजना बनाउँछिन् र हरेक गतिविधि सञ्चालन गर्छिन् । त्योसँगै पश्चिम तराईका पाँच जिल्लामा कमलरीका विषयमा नीतिनिर्माण गर्ने, कार्यक्रम बनाउने, बजेट विनियोजन गर्ने र कार्यान्वयनका लागि अगुवाइ गर्ने जिम्मेवारी उनले लिएकी छन् ।

मञ्जिताले सहकारी खोलेर शुरुमा कमलरीलाई आत्मनिर्भर बनाउने अभियान थालेकी थिइन् । त्यतिबेला उनको उमेर धेरै थिएन । ‘धेरैले मलाई केटाकेटी ठान्थे, तर मैले आँट गरें,’ उनी भन्छिन्, ‘दिदीबहिनीहरूको अगुवाइ गर्दै काँचो उमेरमा आफूलाई परिपक्व बनाउँदै लगें ।’ मञ्जिता आज तिनै दिदीबहिनीको अघि नेतृको रूपमा चिनिन्छिन् ।

*** ***

मञ्जिताकै बहिनी हुन्, सुनिता चौधरी । हाल उनी आम्दा नेपाल नामक संस्थामा स्वास्थ्य क्षेत्रमा काम गरिरहेकी छन् । उनी पनि मुक्त कमलरी हुन् । कमलरी बस्दाका उनीसँग पनि कहालीलाग्दा दिनहरू छन् ।

मञ्जिता जस्तै उनी पनि साहुको घरमा पाँच वर्ष कमलरी बसिन् । त्यहाँ उनले पनि नारकीय जीवन बिताइन् । पहिलो पटक कमलरी बस्न जाँदा उनी चार वर्षकी थिइन् । विल्कुल अबोध बालिका । आमाको काखमा खेल्ने उमेर थियो । तर राम्रोसँग हुर्कन नपाउँदै कमलरी बस्न पुगिन् । आफैं स्याहार चाहिने उमेर थियो, उनको । तर वाषिर्क एक हजारमा बुवाले कमलरी बस्न पठाए ।

‘त्यो उमेरमा म आफैंलाई अभिभावकको खाँचो थियो,’ उनले भनिन्, ‘तर म त अरूको काम गर्न पो पुगेछु ।’ त्यो उमेरमा काम गर्न बसेको सम्झँदा अहिले पनि उनलाई अचम्म लाग्छ ।

दोस्रो पटक उनी घोराही-४ स्थित लक्ष्मीपुरमा कमलरी बस्न आइन् । त्यतिबेला उनी ६ वर्षकी थिइन् । उनको उमेर भन्दा ठूलो थियो कामको भारी । घरधन्दादेखि गाईभैंसी चराउने, घाँस काट्ने सबै उनको थाप्लोमा थियो । बिहानै चार बजे उठेर घरको काम गर्नुपर्ने । गाईको मल फाल्नेदेखि घरका सबै जुठाभाँडा सुनिता नै माँझ्थिन् । त्यति गर्दा पनि उनीहरू खुशी नहुने । मालिक्नीको ज्यादती उस्तै थियो । आफ्नो शरीरभन्दा भारी काम लगाउँथे । ‘काम गर्न नसकेपछि मालिक्नीले कुट्थिन्,’ उनले सुनाइन्, ‘त्यहाँ मैले धेरै यातना भोगें ।’

लक्ष्मीपुरमा करीब तीन वर्ष बिताएपछि उनी पुनः घोराही-१८ रझेनामा नजिकै घरमा काम गर्न पुगिन् । त्यहाँ पनि उनले भोग्नु/नभोग्नु दुःख भोगिन् । मालिक्नी साह्रै रिसाहा थिइन् । नोकर्नी भनेर दिनरात काम लगाउँथिन् । सानो कुरामा पनि गालीगलौज गर्थिन् ।

मालिक्नीका सन्तान उनकै उमेरका थिए । स्कूल पढ्न जान्थे । स्कूल नजिकै भएकाले त्यही बाटो हुँदै हुलका हुल विद्यार्थी विद्यालय गएको दृश्य उनी हेर्थिन् । भित्रभित्रै उनलाई पनि स्कूल गएर पढ्ने रहर लाग्थ्यो । ‘आफू जस्तै उमेरका स्कूल ड्रेसमा सजिएर गएको देख्दा विद्यालय जान पाए हुन्थ्यो झैं लाग्थ्यो,’ उनले भनिन् । उनी डिलमा उभिएर विद्यालयभित्रको दृश्य एकटकले हेरिरहन्थिन् ।

त्यो घरमा कमलरी बसेको ६ महिना नहुँदै एउटा दुर्घटना भयो । शौचालयभित्र उनको खुट्टा पस्यो । निकाल्दा खुट्टाको पछिल्लो भाग काट्यो । उनी बेहोस भएर त्यहीं ढलिन् ।
‘पाँच घण्टापछि होस आउँदा अस्पतालको बेडमा थिएँ,’ उनले सुनाइन्, ‘अपरेसन गरेको खुट्टा दुुखिरहेको थियो ।’ होस आएपछि उनले आफू पल्टिएको बेडको छेउमा हेरिन्, कोही थिएनन् । मालिक र मालिक्नीले उनलाई अस्पतालमा छाडेर हिंडेछन् । उता, उनको परिवारलाई पनि जानकारी दिएनछन् ।

‘पाँच दिनसम्म अस्पतालमा कोही लिन आएनन्,’ उनले भनिन्, ‘डाक्टरले सोधपुछ गरेपछि मालिकको नाम बताउन सकें ।’ अस्पतालमा बितेको त्यो पाँच दिन उनको जीवनमा नमेटिने गरी बसेको छ । जहाँ उनी एक्लो र बेसहारा थिइन् । अस्पतालमा उनलाई खुवाउने समेत कोही थिएन । ‘जनयुद्धमा घाइते भएर अस्पतालमा आएका प्रहरी र सेनालाई दिएको खाना दिएर बाँचेें,’ बोल्दाबोल्दै सुनिताको गला अवरुद्ध भयो, ‘त्यो दिन म कसैगरी पनि भुल्न सक्ने छैन ।’

अस्पतालको बसाइमा उनले एक्लो महसुस त गरिन् सँगसँगै एउटा संकल्प पनि लिइन् । जसले उनलाई जीवनमा केही गर्ने साहस र हिम्मत थपिदियो । त्यो घटनाले सुनिताले एउटा प्रण गरिन्, बन्छु त केवल डाक्टर ।

घाउ निको हुन समय लाग्यो । आठ महिना उनी अस्पतलामा भर्ना भइन् । हिंड्न सक्दिनथिन् । अस्पतालमा भर्ना हुँदा खाना लिएर कोही आएन । मालिक्नी भन्थिन्, ‘यो नोकर्नी हो, यसको नोकर्नी म बन्न सक्दिनँ ।’ खाना नआएपछि दुई किलोमिटर टाढा मालिक्नीको घर पुग्थिन् र खाना पाउँथिन् । ‘हिंड्न नसकेपछि दिनको एक छाक खाना खान्थें,’ उनले भनिन्, ‘अस्पतालमा कैयौं रात भोकै बिताएँ ।’

निको भएर घर र्फकेपछि उनी अर्काे पटक कमलरी जान मानिनन् । त्यसबेला गाउँ-गाउँमा मुक्ति अभियान सशक्त भइसकेको थियो । २०५८ सालमा एफएनसी नामक संस्थाबाट उनी उद्धार भएर विद्यालयमा प्रौढ कक्षा पढ्न थालिन् ।

कमलरी बस्दा पढ्न नपाएको उनको रहर उद्धारपछि मात्र सम्भव भयो । गाउँमै ६ महिना प्रौढ र स्कूलमा १० कक्षासम्म पढिन् । तर उच्च शिक्षा पढ्न पैसा नहुने । उनले डोनरकहाँ आफ्नो कुरा राखिन् । स्टाफ नर्स बन्ने चाहना व्यक्त गरिन् ।

डोनरको सहयोगमा उनले स्टाफ नर्स पढिन् । र, अन्ततः स्टाफ नर्सको लाइसेन्स समेत पाइन् । अस्पतालको बेडमा एक्लै पल्टिरहँदाका दिन उनले स्वास्थ्य क्षेत्रमा केही गर्छु भन्ने अठोट गरेकी थिइन् । अन्ततः उनले त्यो लक्ष्य पूरा गरिन् ।

दासताको जीवनपछि उनले स्टाफ नर्स भएर विभिन्न स्वास्थ्य संस्थामा काम गरिन् । अहिले पनि उनी नायफ नेपाल नामक संस्थामा स्वास्थ्य क्षेत्रमा काम गर्दर्ैछिन् । कुनै समय कमलरी बस्दा निकै कष्टकर जीवन बिताएकी उनलाई अहिलेको जीवन दोस्रो जुनी जस्तो लाग्छ । जीवनमा नसोचेको परिवर्तन आएकोमा उनी खुशी छिन् ।

*** ***

दाङको घोराही-४ डाँडागाउँकी विनिता चौधरी पनि मुक्त कमलरी हुन् । उनले पनि कमलरी बस्दा अनेक पीडा भोगिन् । १३ वर्षको उमेर छँदै साहुको  घरमा कमलरी बसिन् । मालिकका जुठाभाँडा माँझ्ने, गोठालो जाने नै थियो उनको पनि काम । दुई छाक मीठो  खान र राम्रो  लगाउन नपाउने  । कुकुर जस्तो  व्यवहार । उल्टै  दिनरातको  पिटाइ सहनुपर्ने  । मालिकका छोराछोरी जस्तै  पढ्ने,  लेख्ने  र खेल्ने  उनलाई पनि रहर लाग्थ्यो  । ‘हामी मालिकका दास थियौं, अरु त के  कुरा गर्नु दुई छाक मीठो  खान र लगाउन समेत पाउँदैनथ्यौं,’ उनले सुनाइन् ।

दुई वर्ष कमलरी बसेर उनी पनि कमलरी मुक्ति अभियानकै  क्रममा उद्धार गरिइन् । ‘यस्तै  १५ वर्षकी थिएँ हुँला,’ उनले भनिन्, ‘तब मात्रै  नारकीय जीवनबाट मुक्ति पाएँ । त्यसपछि हो  पढ्ने  र लेख्ने  मौका पाएको  ।’ ढिलै  भएपनि स्कूल जाने  सपना पूरा हुँदा उनी दंग भइन् ।

मुक्तिपछि विनिता पढाइतिरै  लागिन्  । स्कूल जान नपाएकी उनले दुई चार अक्षर चिन्न सक्ने भइन् । ६ कक्षादेखि १० सम्म पढिन् । त्यसपछि भने  उनलाई खाली बस्न मन लागेन । केही गरेर देखाउनुपर्छ भन्ने  लाग्यो  । ‘पढ्ने  रहर सकिएको  थिएन,’ उनले  सुनाइन्, ‘तर घरपरिवारको  जिम्मेवारी पनि काँधमा आउन थालेपछि केही गर्ने  सोच बनाएँ ।’
संस्थाले नै उनलाई नास्ता सञ्चालन गर्ने सम्बन्धी तालिम दियो । पाँच वर्षयता उनी गाउँमै नास्ता पसल सञ्चालन गरिरहेकी छन् । नास्ता पसल अहिले उनको गतिलो आयआर्जनको  बाटो  बनेको छ ।

अहिले उनी पनि सञ्चालक र सहयोगी आफैं छिन् । मासिक २० देखि २५ हजार रुपैयाँ कमाउँछिन् । केही रकम बचतका लागि छुट्याएकी छन् । भविष्यमा यसैलाई माथि उठाउँदै होटलसम्म सञ्चालन गर्ने सोच बनाएको उनले सुनाइन् ।

कुनै  दिन साहुका जुठाभाँडा माँझ्दै , गोठालो र घरधन्दा गर्ने उनी आज आफ्नो बलबुतामा उभिन पाउँदा दंग छिन् । गाउँका छरछिमेकीहरू पनि आजभोलि उनकै नास्ता पसलमा आउँछन् । मिहिनेतको  प्रशंसा गर्छन् । थप काम सिक भन्दै  हौस्याउँछन् । उनलाई पनि लाग्छ, ‘अब सपनाहरूले क्रमशः उडान भर्दैछन् । हिजोका कुप्रथाका कारण साहुको दासी बनेकी उनी अहिले व्यवसायी र आफ्नै  पौरखकी मालिक बनेकी छन् ।

*** ***

कमलरीको दासताबाट मुक्तिपछि जीवनमा ठूलो परिवर्तन गर्न सक्ने यी केही प्रतिनिधि पात्र हुन् । कुनै समय पश्चिम तराईका थारू समुदायमा मालिकका घरमा कमलरी राख्ने प्रचलन थियो । दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी पाँच जिल्लामा बालबालिका कमलरीका रूपमा दास जीवन जिउन बाध्य थिए ।

२०५६ सालमा दाङको गोबरडिहास्थित खैरा गाउँबाट शुरु भएको कमलरी मुक्ति आन्दोलनले विभिन्न चरण हुँदै २०७० सालमा मुक्त कमलरी घोषणा भयो । मुक्त कमलरी विकास मञ्चका अनुसार दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर सहित पश्चिम तराईमा १२ हजार ८६९ कमलरीको उद्धार भइसकेको छ । उद्धार हुनेमा सबैभन्दा बढी दाङमा छन् ।

कुनै समय दासी जीवन बिताउन बाध्य पारिएका उनै थारू समुदायका छोरीहरु आज समाजका विभिन्न क्षेत्रमा स्थापित भएका छन् । कतिपय कमलरी आफैंले मिहिनेत गरेर परिवारको जीवनस्तर बदल्न सफल भएका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?