
माघी नेपालमा बसोवास गर्ने विभिन्न समुदायले मनाउने पर्वहरू मध्येको एक हो जसलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सबै नेपालीले मनाउने गर्दछन्। अनादिकालदेखि तराई र भित्री तराईमा बसोवास गरिआएका थारुहरूले मनाउने पर्वहरू मध्येको यो पनि एक हो। यसको शुरुआत कहिलेदेखि भएको हो भन्ने यकिन नभए पनि यो प्रत्येक वर्ष माघ १ गते मनाउने चलन रहिआएको छ। यो माघ महीनामा मनाउने भएकोले यसलाई माघी, तिलासंक्रान्ति, मकरसंक्रान्ति, माघेसंक्रान्ति, खिचरी, खिचरा, माघ जस्ता नामले पनि जान्ने गरिन्छ।
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश अर्थात् मकर रेखाबाट कर्कट रेखामा जाने भएकोले मकरसंक्रान्ति भनिएको हो भने यो पर्वमा प्रकृतिको उपहार तिलको महत्वपूर्ण स्थान रहने गरेकोले तिलासंक्रान्ति पनि भनिन्छ। थारु समुदायमा ‘माघे संक्रान्तिके दिनसे तिले तिले दिन बरहैछै ।’ अर्थात् यही दिनदेखि नै क्रमशः रात कम र दिन बढी हुने शुरुआत गर्दछ भन्ने मान्यता रहेको छ।
वैज्ञानिक तर्क गर्ने हो भने तिल र सक्खरले शरीरलाई माघ महीनाको जाडोबाट जोगाउनको लागि शरीरमा विशेष ऊर्जा प्रदान गर्दछ। थारु समुदायमा एउटा कहावत यो पनि छ कि ‘माघके जाड हाडमे ढुकैछै। अर्थात् माघको जाडो हड्डीमा छिर्छ। जाडोलाई हड्डीमा छिर्न नदिनको लागि माघीको अवसरमा प्रयोग हुने खानपानले जोगाउँछ।
यसै अवसरमा वर्षभरिको हरहिसाब फर्छ्योट गरी आउने सालको लागि योजना बनाउने कार्य गर्ने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रूपमा पनि मान्ने गरिन्छ। कतिपय लेखकहरूले यसलाई नयाँ वर्ष र थारु संवतको रूपमा पनि आफ्नो धारणा राख्ने गरेको छ। तर सूक्ष्म रूपमा विश्लेषण गर्ने हो भने थारु नयाँ सालको पहिलो महीना वैशाख नै देखिन्छ।
यही महीनामा नै महामानव गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र देहत्याग भएको थियो। यसै महीनामा थारुहरूको सिरुवा जुडसितल तथा नेवार समुदायको बिस्केट जात्रा मनाउने गर्दछन् भने थाइल्याण्ड, म्यानमार, कम्बोडिया, श्रीलंकामा पनि थारु समुदायले मनाउने जस्तै उनीहरू पनि सिरुवालाई ऋतु परिवर्तन स्वरूप नयाँ वर्षको शुरुआतको रूपमा महासोंक्रान, थिनग्यान, पिमाई लाउ, चौलचाम थ्ले, आथुल अबुरुदु जस्ता नामले मनाउने गर्छन्। थारु समुदायमा नयाँ सालबारे जुन मान्यता र किंवदन्ती छ अरु देशहरूमा पनि त्यही नै मान्यता रहेको छ जसले यसमा थप बल पुगेको छ। कतिपय लेखकहरूले थारुको सन्तान बुद्धको नाम जोडेर यसलाई थारु संवतको रूपमा पनि जोडहिसाब गरेको देखिन्छ।
थारु संवत् नै मान्ने हो भने बुद्ध संवत्लाई नै लिन सकिन्छ वा विक्रम संवत्को नयाँ साललाई लिन सकिन्छ। स्थविर समुदायको बिक्रमादित्यले नै थारुहरूले मनाइरहेको मौसम परिवर्तनको दिनलाई नै अँगालेको देखिन्छ। यो पहिला भारतमा प्रचलनमा रहे पनि हाल यो प्रयोगमा छैन। यसरी बुद्ध संवत् र बिक्रम संवत् पनि वैशाखमा नै पर्ने भएको र यो थारु समुदायसँग नजिक भएकोले वास्तवमा यो संवत् नै थारु संवत् हो जसलाई अरुले अतिक्रमण गरेर आफ्नो नाम दिएको देखिन्छ ।
माघी पर्वले थारु समुदायमा विशेष महत्व राख्दछ। थारु समुदाय यसलाई मनाउनको लागि हप्तौं अगाडिदेखि तयारीमा जुटेको हुन्छ। कृषिमा आधारित थारु समुदाय भूमि पुत्रको साथै कुशल प्रशासक समेत रहेको छ। अन्न बाली भित्र्याएको समय रहेकोले घरमा प्रशस्त अन्न रहनु स्वाभाविकै हो। सेवालाई अन्नसँग साट्ने परम्परा अनुसार यस समयमा थारुहरू वर्षभरिको हर हिसाब फर्छ्योट गर्ने गर्दछन्।
यसै समयमा आगामी वर्षको लागि योजना बनाउनुको साथै घरमा कामदार राख्ने कति धान दिने जस्तो कामको छिनोफानो गर्ने गर्दछन्। कृषि बाहेकको अन्य कामको लागि विभिन्न समुदायका व्यक्तिहरूसँग पनि यसै समयमा सम्झौता गर्ने गर्दछ।
खासमा सेवालाई अन्नसँग साट्ने परम्परा रहे पनि तत्कालीन शासकहरूले कामको आधारमा जात विभाजन गरेकोले-विश्वकर्मा समुदायका व्यक्तिबाट फलाम र गरगहनाको कामको लागि, ठाकुर समुदायको व्यक्तिबाट कपाल काट्ने कामको लागि, बाहुन समुदायका व्यक्तिबाट पूजापाठको लागि, दर्जी समुदायबाट लुगा सिउनको लागि त्यस्तै अन्य समुदायहरूको व्यक्तिहरूबाट सोही अनुसारको कामको प्रकृति अनुसार एक वर्षको लागि काममा राख्ने वा हटाउने ? के गर्ने हो ? त्यसको लागि सम्झौता गर्ने गर्दछ। कसलाई कति दरमहा दिने र कति खन दिने सो कुराको निर्णय पनि यसै समयमा हुने गरेको छ। यसै अवसरमा थारु समुदायमा मुली, माइन्जन, जेबार, बडघर चुन्ने पनि परम्परा रहेको छ भने चौकीदार र गोराइत राख्ने, हटाउने वा नयाँ राख्ने काम पनि यसै समयमा निधो गर्ने चलन रहिआएको छ ।
यो पर्वले सामाजिक सद्भाव कायम गरी सामाजिक अन्तर सम्बन्धलाई पनि मजबूत बनाउने काम गरेको छ। खासमा जात भन्दा पनि कामलाई महत्व दिएको देखिन्छ। कामलाई जातसँग जोडेर देखिए पनि खासमा आफ्नो सीप अनुसारको काम गर्ने भएकोले यस्तो परम्परा क्रमश: हट्दै गइरहेको छ भने सेवालाई तत्काल मुद्रासँग साट्ने चलनको शुरुआत भएको छ ।
यो पर्व मनाउनको लागि घर, आँगन लगायत अन्य स्थानहरूको विशेष किसिमले सरसफाइ गर्नुको साथसाथै लिपपोत गरि चिटिक्क पारेको हुन्छ। यस पर्वले थारूहरूको बीचको सम्बन्ध सौहार्दपूर्ण र मजबूत बनाउनुको साथै पुरानो रिसईबी समेतलाई हटाउने गर्दछन्। जे जस्तो किसिमको मनमुटाव भए पनि निसंकोच मान्यजन तथा पुर्खाको हातबाट शुभ-आशीर्वाद थाप्ने र शुभकामना आदानप्रदान गर्ने गर्दछन्।
यस पर्वमा विभिन्न किसिमका मीठा-मीठा परिकार बनाई खाने चलन छ। माछा-मासुका सौखिन थारू जाति माघीको तयारीका लागि माघी आउनुभन्दा एक हप्ता पहिलेदेखि तयारीमा जुटेका हुन्छन्। सो अवसरमा खसी, बंगुर, हाँस, परेवा इत्यादि पनि काटेर खाने चलन छ। शाकाहारीहरूको लागि भने त्यसै अनुसारको बन्दोबस्त मिलाएको हुन्छ।
माछा–मासुको अलावा तिल, मुरही, च्यूरा, मकैको लड्डु, तरुल, अल्हुवा, ढिकरी, तेलपौर रोटी,तिलखिचरी इत्यादि खाने चलन रहेको छ भने घोङ्ही पनि खाने चलन त छँदैछ। काठमाडौंमा थारुहरू बसोबास गर्दादेखि यो पर्व व्यक्तिगत रूपमा मनाइँदै आए पनि यसलाई सामूहिक रूपमा उत्सव गरी थारु कल्याणकारिणी सभाको अगुवाइमा २०५९ सालदेखि शुरु गरेको हो। त्यसपछि नेपाल सरकारले यसलाई विशेष रूपमा सम्बोधन गरी थारु समुदायलाई २०६४ सालदेखि सार्वजनिक विदा दिने निर्णय गरेपछि राष्ट्रिय पर्वको रूपमा सूचीकृत भई सबैलाई सार्वजनिक विदा दिन थालेको हो।
माघी महोत्सवमा थारू संस्कृति झल्किने परम्परागत हस्तकला प्रदर्शनी, पहिरन, भेषभूषा, थारूहरूको मौलिक खानाको परिकार घोंघी, ढिक्री, बगिया, तेलपौररोटी लगायत फुड फेस्टिबल एवं सांस्कृतिक झाँकी, नाचगान जस्ता कार्यक्रम प्रस्तुत गर्ने गरिन्छ। यसै समयमा समाजमा राम्रो काम गर्ने र सेवा गर्ने व्यक्तिहरूलाई सम्मान गर्नुको साथै विभिन्न विषयमा पनि छलफल गर्ने चलन रहेको छ। यसले थारुहरूको आफ्नो छुट्टै पहिचान स्थापित गरेको छ भने देशदेखि विदेशसम्म थारु संस्कृतिको प्रचारप्रसार भई पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको छ। हाल नेपाल सरकारले माघीको दिनको विदा कटौती गरेकोले पुनः विदालाई निरन्तरता दिनको लागि थारु समुदायले नेपाल सरकार समक्ष जोडदार माग गरेको छ ।
अहिलेको अवस्थामा यो पर्वले विश्वभरि छरिएर रहेका थारु समुदायलाई एकताबद्ध गरी एक आपसमा चिरपरिचित गराउनुको साथै अन्य समुदायहरूलाई समेत एकसूत्रमा बाँध्ने काम गरेको छ। यो महोत्सव अहिले जिल्ला जिल्ला र टोल टोल पुगेको छ जसले गर्दा सबैमा आत्मसम्मान तथा एक अर्काप्रतिको आत्मीयता बढेको छ।
खानपिनको लागि कुनै बन्देज नभएको यो पर्वमा पुसको अन्तिम दिन नै पकाउन थाल्छन्। भोलिपल्ट बिहानै नजिकको नदी तलाउ, इनार पोखरी इत्यादिमा स्नान (नुहाईधुवाई) गरी घरको देउतालाई जल चढाई ठूलाबडाको आशीर्वाद लिई मात्र खानेकुरा खान्छन्। खसी, बोका, हाँस, परेवा, सुँगुर आदि काटेर खाने चलन पनि छ।
साँझ पख घरको साथै ग्रामथान, राजाजीथान, डिहबारथान, बह्मस्थान लगायतको धार्मिक स्थानमा तथा पुर्खाहरूको नाममा समेत दियो बाल्ने गर्दछन्। यस पर्वमा थारुहरूले चेलीबेटीहरूलाई आआफ्नो गच्छे अनुसार दान र उपहार दिने गर्दछन्। जसलाई पश्चिमका थारुहरूले निसराउ भन्छन्।
माघी नेपालको राष्ट्रिय पर्व हो। यसको शुरुआत थारु समुदायबाट नै भएकोले यो कुनै निश्चित क्षेत्रको थारु समुदायको मात्र नभई सम्पूर्ण थारुहरूको पर्व हो। अझ भनौं भने यो सम्पूर्ण नेपालीको साझा पर्व हो
पूर्वतिर यसलाई सनेश भनिन्छ। यसको अवसरमा महीनौंसम्म अर्थात् फागुनसम्म थारु समुदायले चेलीहरूलाई उपहार (सनेश) पठाइरहन्छन्। निसराउ र सनेशमा केही भिन्नता भए पनि उद्देश्य उस्तै रहेको छ। जसले गर्दा थारु गाउँमा दैनिक जसो पाहुना आउने र जाने क्रम चलिरहन्छ। अरु पर्व जस्तै यसमा पनि नजिकको धार्मिक स्थलमा मेला लाग्ने गर्दछ। जसमा यो समुदायले सबै किसिमको दु:ख बिसाएर मनोरञ्जन गरिरहेको हुन्छ।
साँझपख विभिन्न किसिमको नाचगान गरी मनोरञ्जन गर्दछन् जसमा थारुहरूको मौलिक नाच धुमरा, सखिया, मान, सोरैठ इत्यादि प्रमुख रहेको हुन्छ। आजकल आधुनिक नाचमा युवाहरूले विशेष जोड दिने गरेका छन् ।
थारु समुदायमा पहिलाको जस्तो जिमीदारी नरहे पनि यस समयमा थारुको घरमा कुनै पनि काम र आश लिएर आउने जो–कोहीलाई पनि खाली पेट र खाली हात फर्किनु पर्दैन। थारुहरूले यो समयमा दान दिने लत्ताकपडा बाँड्ने जस्ता काम गर्ने गर्दछन् भने थारु समुदायमा बिहानैदेखि माग्नेहरूको पनि लाम लाग्ने गर्दछन्।
थारुहरू आदिवासी भूमिपुत्र, पहिलाको राजा, जमीनदार रहेको कुरामा कुनै दुईमत छैन। समयको परिबन्दमा परेर तथा माघीको नाममा अनावश्यक मानसिकता परिवर्तन गरेर फजुल खर्च गार्न बाध्य पारी पश्चिमका केही जिमिदारहरूले थारुहरू षड्यन्त्रपूर्वक कमैया बनाएकोमा दुईमत छैन।
माघीलाई उत्सवको रूपमा भन्दा पनि आफ्नो दाउपेच सफल बनाउने पर्वको रूपमा छट्टु व्यक्तिहरूले जाल बिछ्याएको मान्न सकिन्छ। जसको जालमा सोझा थारुहरू क्रमशः फस्दै गए तर पनि उनीहरूमा थारुमा हुने गुणमा कुनै परिवर्तन भएन कमैयाको रूपमा रहेर पनि यो अवसरमा उनीहरूले पनि आफ्नो गच्छे अनुसारको दानदक्षिणा दिने गर्दथे।
माघीको समयमा छुट्टी दिने र खर्चबर्च समेत भरिदिने प्रलोभनले पनि थारु यसमा पर्दै गयो। पहाडी समुदाय जस्तो ‘दशैं आयो ढोल बजायो दशैं गयो ऋण बोकायो’ भनाइ जस्तै ऋणमा डुब्दै गयो। तर पनि यो समयमा मुक्त भई छुट्टी पाउने गरेको कारणले यसलाई मुक्ती दिनको रूपमा पनि कतिपय लेखकहरूले इंगित गरेको पाइन्छ।
कमैया बस्नको लागि मोल मोलाइ गर्ने र सम्झौता गर्ने जस्ता काम पनि हुने भएकोले यसलाई दुखद दिनको रूपमा कतिपयले सम्झिन पनि चाहँदैन। यो अवसरमा अन्य समुदायका व्यक्तिहरूले त थारुसँग कुनै काम गराउनु छ, उसको जमीन हातमा लिनु छ र चेलीबेटीलाई आफ्नो पार्नु छ भने पहिलादेखि नै योजना बनाएर माघीको समय पारी दाउ हेरेर बस्ने गर्दछन् र माघीको समयमा आफ्नो स्वार्थ पूरा गर्ने गर्छ।
हाल सरकारले कमैया मुक्त घोषणा गरे पनि त्यसको व्यवस्थापन नगरेर भोट बैंकको रूपमा प्रयोग गरिहरेको छ। कमैयाको लागि विभिन्न योजना ल्याए पनि उनीहरूको जीवनस्तरमा अझै पनि अपेक्षाकृत सुधार हुनसकेको देखिंदैन। कतिपय लेखकहरूले नेपालभरि छरिएर रहेका आदि मानव सिद्धार्थ गौतमको वंशज, सम्राट अशोकका नश्ल, सभ्यताका अग्रदूत, थारुहरूलाई कमैयाको रूपमा चित्रण गरेको पाइन्छ।
छलकपटले केही थारुहरू कमैया बन्न गए तर पूर्वाग्रही रूपमा सम्पूर्ण थारुलाई त्यस्तै मानसिकताले सम्बोधन गर्ने गरेको पाइन्छ भने कतिपय थारुहरूले पनि यसैलाई प्रयोग गरेर आफ्नो स्वार्थ समेत पूरा गर्नमा तल्लीन रहने गरेको देखिएको छ। थारुको पर्यायवाची कमैया पक्कै पनि होइन।
राष्ट्रिय थारु माघी महोत्सव २०५९ साल देखि नै यसै कुरालाई कुनै न कुनै रूपमा वक्ताहरूले उठान गरेर थारुलाई कमजोर र तल्लो स्तरको रूपमा चित्रण गरी त्यसै अनुसारको देखाउँदै आएको यो पंक्तिकारले देख्दै र सुन्दै आएको छ। यो सही होइन ।
माघी नेपालको राष्ट्रिय पर्व हो। यसको शुरुआत थारु समुदायबाट नै भएकोले यो कुनै निश्चित क्षेत्रको थारु समुदायको मात्र नभई सम्पूर्ण थारुहरूको पर्व हो। अझै भनौं भने यो सम्पूर्ण नेपालीहरूको साझा पर्व हो। यसलाई संकुचित मानसिकताले कुनै समुदायले दावी गर्नु भन्दा पनि राष्ट्रिय पर्वको रूपमा मानी सबैले संरक्षण सम्बर्द्धन गर्नुपर्ने आजको आवश्यकता रहेको छ। यो पर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा माघीको नामले आफ्नो पहिचान स्थापित गरिसकेको छ भने नेपाल सरकारले पनि यसै नामले सूचना प्रवाह गर्ने गरेको छ।
यो पर्वलाई फरक जिल्लामा फरक नामले सम्बोधन गर्ने भए पनि सबैको आत्मीयता र सम्बोधन हुने नाम माघी नै रहेकोमा कुनै विवाद छैन तर कतिपय मित्रहरूले यसलाई माघीको सट्टा माघको रूपमा चित्रण गर्न खोजेर अन्य स्थानको थारुहरूको भावनालाई अवमूल्यन गर्न खोज्नु आफैंमा दु:खको कुरा हो।
यो माघी पर्वले एकताको सन्देश दिनुपर्नेमा मैले जे भन्यो त्यही ठीक र त्यही हुनुपर्छ भन्ने मानसिकताबाट माथि उठ्ने समय आएको छ। यस्तै प्रवृत्तिले होला राना थारु थारु समुदायबाट अलग भएर छुट्टै सूचीकृत भएको हुनसक्छ।
यो पर्वले छुट्टिने भन्दा जुट्ने सन्देश दिएको छ जसलाई आत्मसात् गरी त्यसै अनुसारको व्यवहार गर्नु नै अहिलेको अपरिहार्यता हो। कोभिडको कारणले गर्दा महोत्सवको रूपमा माघी मनाउने कार्य रोकिएको छ। परिस्थितिलाई मध्यनजर गर्दै जनस्वास्थ्य र आफ्नो स्वास्थ्यलाई नै पहिलो प्राथमिकता दिनु आजको आवश्यकता र अपरिहार्यता हो।
स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सुरक्षित रहौं। स्वस्थ रहौं र आ-आफ्नो अनुकूल माघी मनाउँ। सबैमा हार्दिक शुभकामना। जय माघी !
प्रतिक्रिया 4