+
+

नागरिकको अवस्था किन फेरिएन ?

महेशकुमार श्रेष्ठ महेशकुमार श्रेष्ठ
२०७८ माघ १० गते ७:५४

गाउँगाउँबाट उठबस्तीबस्तीबाट उठ

यो देशको मुहार, फेर्नलाई उठ

हातमा कलम लिनेहरू, कलम लिएर उठ

हातमा औजार हुनेहरू, औजार लिएर उठ

हातमा केही नहुनेहरू आवाज लिएर उठ

गायक रामेश श्रेष्ठले गाएको यो गीत र यसको सान्दर्भिकता बारेमा केही गन्थन र मन्थन गर्ने प्रयास गरिरहेको छु ।

पञ्चायतीकालमा यो गीत लुकी-लुकी बन्द कोठाभित्र वा भूमिगत भएर सुन्नुपर्ने अवस्था थियो ।

विद्यार्थीकालमा धेरैपटक साथीहरूसँग लुकेर पनि सुनियो । यी गीतहरू हाम्रा आदरणीय दाइ मञ्जुल मार्फत पनि धेरै पटक सुन्ने अवसर प्राप्त भएको थियो । त्यतिबेला यी र यस्ता गीतहरू सुन्दा म जस्ता हज्जारौं युवा विद्यार्थीको रगत उम्लिएर एउटा छुट्टै प्रकारको जोश, हिम्मत र साहस आउने गर्दथ्यो ।

यस्ता प्रगतिशील गीत र भाषणहरूको प्रभावले गर्दा मुलुकको मुहार फेर्ने अभियानमा क्रियाशील हुन मन लाग्थ्यो । हातमा कलम, औजार तथा आवाज लिएर तत्कालीन शासन व्यवस्थाको असमानता, अन्याय, अत्याचार र शोषणको विरुद्धमा गाउँ-गाउँ, बस्ती-बस्तीबाट उठ्ने क्रममा हज्जारौं विद्यार्थी हताहत र सयौं शहीद हुनुपर्‍यो ।

२००७ सालको प्रजातन्त्रमाथि २०१७ सालमा ग्रहण लाग्यो । २०४६ सालको जनआन्दोलनबाट मुलुकमा संवैधानिक राजतन्त्र स्थापना भयो । त्यसपश्चात मुलुकमा भएको गुट, उपगुट, टुटफुट, अस्वस्थ प्रतिस्पर्धा, अनियमितता, भ्रष्टाचार, अस्थिर राजनीतिक परिवेश, माओवादी जनयुद्ध, व्यक्तिगत स्वार्थ लगायत विविध कारणले मुलुकको शासन सत्ता पुनः संवैधानिक राजतन्त्रबाट सक्रिय राजतन्त्रमा परिवर्तित हुनगयो।

आम नेपाली जनताको सहभागिता, विद्रोही माओवादी र प्रमुख दलहरूको नेतृत्वमा जनआन्दोलन भयो । बृहद् शान्ति सम्झौता मार्फत युद्धको अन्त्य भयो । अन्ततः जनताको नासो फेरि जनतालाई भन्दै देशमा गणतन्त्र आयो ।

विगत १४ वर्षदेखि नेपालमा राजतन्त्र पूर्णरूपमा खारेजीसँगै नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा छौं । यही शासकीय स्वरूपको अभ्यासमा हामी छौं ।

यसप्रकारले नेपाली जनताले विभिन्न समयमा मुलुकको मुहार फेर्नको खातिर कलम, हतियार, आवाज र आफ्नो ज्यानको बलिदानी समेत दिंदै आज हामी इतिहासको यो घडीमा आइपुगेका छौं । यहाँसम्म आइपुग्दा हिजो हामीले देखेको र भोगेको एउटा राजा र महाराजाको बदलामा सयौं राजा महाराजाहरू देख्न पायौं । हिजो चप्पल लगाएर डेरामा बस्नेहरूलाई आज सुकिलोमुकिलो सुटबुटका साथ महलमा बसेको देख्न पायौं। हिजो साइकल चढेर हिंड्नेलाई आज लाखौं र करोडौंको गाडीमा चढेको देख्न पाइरहेका छौं।

सबैले चाउरी परेको चेहरा, अवस्था र मुहार त फेरे तर नेपाल आमा र विगत ३० वर्षदेखि शासन सत्ताभोग गर्दै आइरहेका पुराना र वृद्ध अनुहार अनि सोचहरू किन फेर्न सकेनन् ? अब कहिले फेर्ने हो ? कि फेर्नै नपर्ने हो ?

हिजो साग, सिस्नो, ढिंडो, चिउरा तरकारीमा रमाउनेहरूको मोह र आकर्षण आज वासमती, लङग्रेन र मार्सी चामलतर्फ रहेको पनि पाइयो। हिजो केही रचनात्मक-ध्वंसात्मक काम तथा विचार विश्लेषणको लागि परालको झुपडी, गोठ, सुकुल र गुन्द्री भए पुग्थ्यो तर आज आलिशान रिसोर्ट मुख्य गन्तव्य भएको पनि देखियो । हिजो चाउरी परेका थोपडा पनि आज रसिलो र भरिलो भई फेरिएको देखियो ।

 यसकारणले पनि आज हामीले गायक रामेश श्रेष्ठले गाएका गीतका हरफ सम्झनुपर्ने भएको छ । यस्ता गीतको सान्दर्भिकता सकियो कि अझै बाँकी रहेको छ ? त भन्ने बारेमा बहस, छलफल र समीक्षा गर्नुपर्ने समय आएको हो कि ?

सबैले आ-आफ्ना दयनीय र चाउरी परेको चेहरा, अवस्था र मुहार त फेरे तर नेपाल आमा र विगत ३० वर्षदेखि शासन सत्ताभोग गर्दै आइरहेका पुराना र वृद्ध अनुहार र सोचहरू किन फेर्न सकिएन ? अब कहिले फेर्ने हो ? कि फेर्नै नपर्ने हो ?

 अन्त्यमा, आम नेपाली जनसमुदायको इच्छा, आकांक्षा र धारणा भनेकै नेपाल आमाको मुहार फेर्न पुराना र वृद्ध अनुहार र सोचबाट सम्भव नहुने पुष्टि भइसकेको छ । जतिसक्दो चाँडो नवीन सोच, विचार र अनुहार भएका नेतृत्वलाई स्थापित गरिनुपर्छ । आवश्यकता भन्दा बढी सांसदहरूको कटौती गरी मितव्ययिता अपनाइनुपर्छ । संघीयतालाई खर्च बढाउने भन्दा जनताको सेवा गर्ने संरचनामा विकास गर्नुपर्छ ।  जय मातृभूमि !

(श्रेष्ठ सशस्त्र प्रहरीमा वरिष्ठ उपरक्षक (अप्रा) का रूपमा कार्यरत छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?