+
+

रुसले अर्को महिना युक्रेनमा हमला गर्ने बाइडेनको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १५:११

१४ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले फेब्रुअरी महिनामा युक्रेनमाथि हमला गर्न सक्ने चेतावनी दिएका छन् ।

बिहीबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको टेलिफोन कुराकानीमा बाइडेनले आउँदो महिना रुसले हमला गर्न सक्ने ‘प्रस्ट संभावना’ रहेको भन्दै चेतावनी दिएका हुन् ।

अमेरिकाले युक्रेन संकटबारे राष्ट्रसंघीय सुरक्षा परिषद्मा छलफल गर्न चाहेको बेला उनले जेलेन्स्कीलाई यस्तो चेतावनी दिएको ह्वाइट हाउसले जनाएको छ ।

यसैबीच, बाइडेन र जेलेन्स्कीबीचको टेलिफोन कुराकानी सोचे अनुसार राम्रो नभएको युक्रेनका एक अधिकारीले बताएका छन् । रुसी हमलापछि उत्पन्न हुन सक्ने जोखिमको मात्रालाई लिएर दुबै राष्ट्रपतिबीच मतभेद भएको ती अधिकारीलाई उद्दृत गर्दै सीएनएनले लेखेको छ ।

तर ह्वाइट हाउसले भने युक्रेनी अधिकारीको भनाईलाई खण्डन गर्दै अज्ञात स्रोतले भ्रम फैलाएको आरोप लगाएको छ ।

पछिल्लो समय युक्रेनलाई लिएर पश्चिमा मुलुक र रुसबीच जारी तनाव उत्कर्षमा पुगेको छ । रुसले युक्रेनमा हमला गर्ने उद्देश्यसहित सीमानामा १ लाख बढी फौज तैनाथ गरेको अमेरिका र नेटो गठबन्धनले बताएका छन् ।

तर रुसले भने युक्रेनमाथि हमला गर्ने कुनै योजना नरहेको भन्दै आफ्नो भूमिमा सेना तथा हतियार तैथना गर्ने अधिकार रहेको बताउँदै आएको छ ।

तनाव उत्कर्षमा पुगिरहेका बेला अमेरिकी अधिकारीहरूले रुसले युक्रेनमा आक्रमण गरे रुसी ग्यासलाई पश्चिमी युरोपमा पठाउन बनाइएको प्रमुख पाइपलाइन खुलाउने प्रक्रिया अवरुद्ध पार्ने बताएका छन् । नोर्ड स्ट्रिम टु पनि भनिने उक्त पाइपलाइन सञ्चालनमा अवरोध गर्ने अधिकारीहरूको भनाइ छ ।

‘रुसले कुनै पनि तरिकाले युक्रेनमाथि हमला गर्‍यो भने नोर्ड स्ट्रिम टु अघि बढ्ने छैन र म यो कुरा प्रस्टसँग भन्न चाहन्छु’, अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले भने । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?