+
+

दुर्गेशको नयाँ गीत ‘पैसा’मा आपत्तिजनक शब्द

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १८:१६
आफ्नो नयाँ गीत 'पैसा'को भिडियोको एक दृश्यमा दुर्गेश

१४ माघ, काठमाडौं । सांगीतिक क्षेत्रमा विवाद र आलोचनाका पर्याय मानिन्छन्, गायक तथा मोडल दुर्गेश थापा । उनी एकपछि अर्को गीतबाट विवादित बन्ने गरेका छन् ।

उनले शुक्रबार मात्रै आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा नयाँ गीत सार्वजनिक गरेका छन्, ‘पैसा’ । जुन गीतले उनलाई फेरि एकपटक विवादमा ल्याउन सक्छ । यो गीतमा उनले केही आपत्तिजनक शब्द समावेश गरेका छन् । गीतमा उनले पैसाले देश ध्वस्त बनाएको बताउँदै पैसाले हरेक कुरा गर्ने बताएका छन् । उनले गीतमा केही सुन्न नसकिने शब्दहरु समेत समावेश गरेका छन् ।

‘हामी पनि नाच्नुपर्छ बीच्च बीच्चमा’ बोलको तीज गीतबाट हिट भएका दुर्गेशले त्यसयता करिअरमा पछाडि फर्केर हेर्नुपरेको छैन । उनी म्युजिक भिडियोदेखि स्टेज कार्यक्रममा निकै व्यस्त मानिन्छन् ।

तर आफूले सिर्जना गरेका र गाएका गीतका कारण उनी हरेकपटकजसो विवादमा पर्ने गरेका छन् । ‘बीच्च बीच्चमा’को थेगोमा दुर्गेशले दुई वर्षअघि चलचित्र ‘छ माया छपक्कै’को प्रमोसनल गीत गाएका थिए । जुन गीतको प्रयोग भएको एउटा लाइनका कारण उनी आलोचित बन्नुपरेको थियो ।

तिहार गीत ‘डन आयो डन’ले त उनलाई प्रहरी कार्यालयसम्म पुर्‍याएको थियो । गीतमा प्रयोग भएका शब्दहरुको निकै आलोचना भएको थियो ।

गीतका शब्दहरुलाई लिएर जिल्ला प्रसाशन कार्यालय काठमाडौंमा उजुरी परेपछि उनलाई प्रहरीले बोलाएको थियो । पछि प्रहरी कार्यालयबाटै उनले गीत युट्युबाट हटाएका थिए । उनले विवादित शब्द ‘म्युट’ गरेर उक्त गीत फेरि अपलोड गरेका थिए ।

गत वर्ष उनले तीजलक्षित गीत ‘बीच्च बीच्चमा २’ र ‘बीच्च बीच्चमा ३’ सार्वजनिक गरेका थिए । यी दुवै गीतबाट उनको आलोचना भएको थियो । ‘बीच्च बीच्चमा २’को अन्तराको दुई लाइन उनले एउटा पुरानो गीतबाट हुबहु चोरेका थिए । ‘बीच्च बीच्चमा ३’मा भने उनी भिडियोका कारण आलोचित बने । भिडियोमा उनीसहित अन्य कलाकारहरु साडी लगाएर प्रस्तुत छन् ।

गत वर्ष नै उनी एक टेलिभिजन अन्तर्वार्ताका कारण आलोचित बने । प्रस्तोताले दुर्गेशलाई स्वरसम्राट नारायणगोपाललाई सम्झेर एउटा गीत गाउन आग्रह गर्दा उनले भक्तराज आचार्यको गीत गाउँछन् । यति मात्र नभई अन्तवार्तामा दुर्गेशले यम बरालको भन्दै रामकृष्ण ढकालको गीत गाउँछन् । यसरी गीत चिन्न नसक्दा दुर्गेशको संगीतप्रतिको कमजोर ज्ञानलाई लिएर निकै आलोचना भएको थियो । धेरै ट्रोल समेत बनेका थिए ।

यस वर्ष उनले ल्याएको  तीजगीत ‘बीच्च बीच्चमा ४-ख्यास्स पुतली’को त सार्वजनिक नहुँदै आलोचना भएको थियो । गीतमा प्रयोग गरिएको ‘ख्यास्स पुतली’ शब्दलाई लिएर निकै आलोचना भएको थियो । उक्त शब्दले तीज पर्व र महिलाहरुको अपमान गरेको आरोप लागेको थियो ।

उसो त गीत ल्याउने तयारीमा रहेको जानकारी पाएपछि राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले उनलाई आपत्तिजनक शब्दहरु फेरबदल गरी गीत ल्याउन आग्रह गर्दै ध्यानाकर्षण पत्र काटेको थियो । तर उनले प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै शब्द फेरबदल नगरी उक्त गीत सार्वजनिक गरेका थिए । पछि प्रतिष्ठानले उनलाई संस्थामा साधारण सदस्य समेत नरहने गरी सदस्यता खारेज गर्ने निर्णय गर्‍यो ।

यसरी गीतका कारण बेलाबेला आलोचित बनिरहेका दुर्गेशले आफ्नो पछिल्लो गीत ‘पैसा’मा द्विअर्थी र आपत्तिजनक शब्दहरु समावेश गरेका हुन् । गीत सार्वजनिक भएसँगै कलाकारहरुले फेरि उनको आलोचना गरिरहेका छन् । यस्ता गीतले समग्र सांगीतिक क्षेत्रलाई नै असर गर्ने संगीतकर्मीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?