News Summary
Generated by OK AI. Editorially reviewed.- एआई प्रविधिको अनधिकृत प्रयोगले नेपाली गीत-संगीतको बजार खुम्च्याउनुका साथै सर्जकहरूको बौद्धिक सम्पत्ति र रोजगारीमाथि गम्भीर चुनौती सिर्जना गरेको छ।
गतमहिना कलाकार बिमल अधिकारीले आफ्ना गीत एआई सामाग्री प्रयोग गरी युटुबमा प्रसारण गर्ने ९५ युटुब च्यानललाई कारबाहीको माग गरी साइबर व्युरोमा उजुरी दिए । आफ्ना सिर्जनामा अनाधिकृत पहुँचबाट गीतलाई तोडमोड गरी प्रकाशन गरेको पाइएपछि उनले यसो गरेका हुन् ।
यसरी उजुरी गर्ने उनी पहिलो श्रष्टा हुन् तर यो समस्याको मारमा थुप्रै गीतकार, संगीतकार, गायक र निर्माताहरू परेका छन् । सक्कली सिर्जनामा एआई प्रयोग गरेर भाव, लय, सुर ताल, बाजा, शब्द र स्वरलाई तोडमोड गरी टिकटक, फेसबुक, इन्सटाग्राम र युटुब लगायतका विभिन्न प्लेटफर्ममा अडियो, भिडियो राखी अनधिकृत मुनाफा आर्जन गर्ने कार्य भइरहेको छ ।
पुराना गीतका सर्जकहरूलाई अहिलेको पुस्ताले चिन्दैनन् । सक्कलीको सिर्जनाको सट्टा एआईले बनाएका गीतहरू नै भाइरल हुन्छन् । यसो हुँदा सर्जकहरू दोहोरो, तेहरो मारमा परेका छन् । यस्ता अनाधिकृत कार्यले गीत संगीतको क्षेत्रमा जीवन समर्पण गरेका पात्रहरू मात्रै हैन खास गीत संगीत नै लोप हुने खतरा बढको छ ।
प्रविधिको मारसँगै एआईको प्रहार
त्यसै त नेपाली गीत संगीतको बजार ठूलो छैन । उद्योगको रूपमा विकसित हुनका लागि अनेक संघर्ष गर्दै गरेको नेपाली गीतसंगीत प्रविधिको तीव्र विकासले हरेक समय मारमा परिरहेको हुन्छ । अब त उठ्छ भन्ने बेला आएपछि फेरि कुनै नयाँ प्रविधि जन्मिन्छ र यो क्षेत्र मारमा पर्छ ।
कुनै समय मुम्बईमा धाएर अनेक दु:खले गीत रेकर्ड गर्नुपर्ने पीडादायी अवस्था थियो । पछि देशकै एकमात्र रेडियो नेपालको रेकर्डिङ स्टुडियोमा लाइभ रेकर्डिङ, फ्लपी डिस्क क्यासेट, सिडी/भिसिडी हुँदै निजी रेकर्डिङ स्टुडियोको विकास भयो । टेलिभिजन र सामुदायिक तथा निजी रेडियोको तिव्र विकाससम्म आउँदा नेपाली गीतसंगीत उकालो लाग्दै थियो । क्यासेटबाट पेनड्राइभ, मोमोरी कार्ड हुँदै स्मार्ट फोनको विकाससम्म आउँदा ओरालो गीतसंगीतको बजार ओरालो लाग्ने स्थिति बन्यो ।
युटुबको युग सुरु भएपछि फेरि तङ्ग्रिएको नेपाली गीत संगीतको बजार हाल आएर एआईको प्रयोगले खुम्चिएको छ । दैनिक कम्तीमा आठ दसवटा गीत लोकार्पण हुने स्थिति घटेर दुई वा दुई भन्दा कममा खुम्चिएको हालैका आँकडाहरूले देखाउँछन् ।
गीतको सङ्ख्या घट्नु भनेको हाम्रो बजार खुम्चनु हो । बजार खुम्चिनु भनेको हाम्रो सिर्जना खुम्चिनु हो अनि सिर्जना खुम्चनु भनेको हाम्रो लोक कला साहित्य र संस्कृति खुम्चनु हो ।
कुनै पनि देशको आफ्नो मौलिक लोक कला र साहित्य मासियो भने त्यो देशको सम्पूर्ण चिनारी नै मेटिने कुरा हामी सबैलाई जानकारी नै छ तर हालको पुस्ता यस्तै कुरामा अभ्यस्त छ जुन दु:खद् छ । यसरी छोटो बाटोबाट कोही रातारात चर्चित हुने र उसले नै मुनाफा कमाउने कुरा न न्यायसङ्गत छ न त्यसको आयु दीर्घकालसम्म रहन्छ तैपनि केही कलाकारहरू एआईकै प्रयोग गरेर गीत बनाउने काममा लागिरहेको पाइन्छ ।
पङ्तिकारले एक स्थापित कलाकारसँग संगीतको कुरा गर्दा उनले सहजै एआई टुल्स प्रयोग गरेर गीतको संगीत गर्न सकिने तर्क राखे । प्रविधिको प्रयोगमा अभ्यस्त हुनु त राम्रो नै हो तर धेरै दिन लगाएर हार्मोनियम वा कुनै बाजामा आफूलाई समर्पित गरेर संगीत भर्नु र सेकेन्ड भरमा एआईले तयार गरिदिएको संगीत कुनमा संगीतको आत्मा हुन्छ जीवन हुन्छ भन्ने कुरा बिर्सनु उदेकलाग्दो छ ।
भावमा डुबेर शिल्पी खिपेर त्यसलाई शब्द वा गीतका रूपमा उतार्नु र एआइले निमेषभरमा लेखिदिएको शब्दमा मिठास खोज्नु भन्दा भद्दा मजाक अर्को हुन सक्दैन । एआईले गाएको गीतमा सुर ताल र माधुर्यता र समर्पणको प्राण हुँदैन जुन गायक वा गायिकाले प्राकृत रूपमा गाउन सक्छन् । रोयल्टी भन्ने कुरो पनि हुन्छ भनेर नेपाली समाजलाई सिकाउन संघर्षरत नेपाली सर्जकहरूलाई आफ्नो बौद्धिक सम्पत्ती जोगाउन फेरि अर्को संघर्ष गर्नुपर्ने चटारो आइलागेको छ ।
रोजिरोटी गुम्ने डर
एआईको प्रयोगले यो क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको आय र रोजगारीमा जोखिम सिर्जना गरेको छ । यसले गीतकार, संगीतकार र उत्पादकहरूको आय, सिर्जनशीलता र रोजगारीमा नकारात्मक असर पारेको छ । गीतको उत्पादन र बजारिकरणसम्म ठूलो सिर्जनशील समूह सक्रिय हुन्थ्यो ।
गीतको लेख्नु, संगीत भर्नु, गाउनु, रेकर्ड गर्नु, त्यसलाई साउण्ड मास्टरिङ गर्नु, ट्रयाकमा एरेन्ज गर्नु, बाजाहरूको रेकर्ड गर्नु, सम्पादन गर्नु यो सबै प्रक्रियामा धेरै नजा जोडिएका हुन्थे । गीतको भिडियो बनाउने कुरामा त्यति नै धेरै जनाको संगत आवश्यक पर्छ ।
धेरै कुरामा समय मेहनत र आर्थिक लगानी गरेपनि गीत युटुबमा चल्दैन । मान्छेहरूले पुरा भिडियो हेर्दैनन् । फेसबुक र इन्स्टाग्रामको रिल्समा व्यापक भिडियोहरू बन्नु पर्ने, टिकटकमा व्यापक चल्नु पर्ने अनि मात्रै मान्छे युटुबसम्म आउने अवस्था छ ।
युटुबमा सुरुवाती दर्शक हुँदैनन । गुगल एड्सबाट पैसा तिरेर युटुब बुस्ट गर्नुपर्ने अवस्था स्थापित गायक गायिका तथा संगीतकार, निर्मातासमेतलाई छ । यस्तो स्थितिमा गीतमा लगानी गर्नु भनेको बालुवामा पानी खन्याउनुसरह हो ।
त्यसमाथि अहिले एआईको प्रभावले यो क्षेत्रमा काम गर्नेले रोजिरोटीका लागि अर्कै बाटो चाल्नु पर्ने स्थिति बन्दै गरेको छ ।
यो समस्या विश्व संगीतको बजार पनि अछुतो छैन । रोयल्टी र कपिराइटसँग सम्बन्धित कानुन नबनेका अनि डिजिटल साक्षरता नभएका नेपाल जस्ता देशका सर्जक बढी मारमा परेका छन् । यसको खास शिकार पुराना पुस्ताका श्रष्टाहरू छन् ।
अस्ट्रेलिया, न्युजिल्याण्ड र प्रशान्त क्षेत्रका गीतकार, संगीतकार र म्युजिक पब्लिशरहरूका हकहित संरक्षण गर्ने र उनीहरूलाई रोयल्टी प्रदान गर्ने संस्था अप्रा अम्कोसले अगस्ट २०२४ मा प्रकाशन गरेको रिपोर्ट अनुसार सन् २०२८ सम्म संगीतकारहरूको २३ प्रतिशत आय जोखिममा पर्न सक्ने अुनमान गरेको छ । यो भनेको लगभग ५2 करोड अस्ट्रेलियन डलर जति हो । साथै स्वतन्त्र कम्पोजरहरूमा ३० देखि ५० प्रतिशत शुल्क घटेको तथ्यांक छ । र यो जोखिम विश्वभर नै छ । यस सम्बन्धमा अन्तरराष्ट्रिय स्तरका थुप्रै जर्नलहरू पनि प्रकाशित छन् ।
पुस्तान्तरणमा चुक
विश्वका प्राचीन सभ्यता, भाषा, धर्म, संस्कार, संस्कृति परम्पराका माध्यमबाट एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण हुँदै आएको छ । आधुनिक युगमा प्रविधिलाई पुस्तान्तरणको माध्यम मान्नुपर्छ । कुनै पनि श्रष्टा सर्जकका सिर्जना र सर्जकसँग भएको ज्ञान कला या शिल्प अर्को पुस्तासम्म पुर्याउनको लागि आधुनिक प्रविधिलाई सेतुको रूपमा प्रयोग गर्नुपर्छ ।
पाको पुस्ताका सर्जकबारे युवापुस्ता बेखबर हुनु, उनीहरूको कला र क्षमताको प्रचार–प्रचार नहुनु, पुराना पुस्ताका सर्जकसँग नवपुस्ताको सहज पहुँच स्थापित हुन जस्ता कारणले पनि उनीहरूका सिर्जना दुरुपयोग हुनुको कारण बनिरहेको छ ।
कुनै गीत लेख्ने युवा पुस्ताको मान्छेसँग संगीतको ज्ञान नहुन सक्छ तर उ राम्रो गीत लेख्दालेख्दै पनि गीतमा संगीत भर्नबाट रोकिन्छ । त्यस्तै कुनै एक युवासँग संगीतको ज्ञान हुन सक्छ तर ऊ सँग राम्रो गीत नभएका कारण आफ्नो साङ्गीतिक क्षमताको उपयोग गर्नबाट वञ्चित रहन्छ ।
उदाउँदा गीतकारले स्थापित संगीतकारको बारेमा र उदाउँदा संगीतकारले स्थापित पुराना गीतकारको बारेमा प्रचुर जानकारी नराख्न सक्छन् । कतिपय स्थापित सर्जकहरूले नयाँ पुस्ताका सर्जकलाई हेयको दृष्टिकोणले हेर्ने परम्परा पनि समस्या बनिरहेको हुन्छ ।
नयाँले केही जान्दैनन्, केही बुझ्दैनन्, अध्ययन पनि हुँदैन भन्ने सोच पुराना स्थापित सर्जकमा हुनसक्छ । यस्तो हुँदा त्यस्ता सर्जकप्रति नयाँले पनि सम्मानको भाव राख्न सक्दैनन् । आफूसँग भएको क्षमताको उपयोग गर्नका लागि आफैंले लगानी गरेर किन तिरस्कृत हुनु भन्ने भावना पनि आउन सक्छ । यस्तो अवस्थामा एआईमार्फत काम गर्ने विकल्पतिर उनीहरूको ध्यान जान्छ । पारस्परिक र सहअस्तित्वमा आधारित रहेर हुनुपर्ने गीत संगीतको हस्तान्तरण अर्को पुस्तामा नभएर एआईको एप्लिकेसनमा गएर सिर्जना बन्छ । अत: सहज र सरल विकल्पका रुपमा उर्लँदै गरेको एआई सिर्जनाको बाढीलाई केही मत्थर बनाउन स्थापित सर्जक र नव पुस्ताका बीचमा सम्बन्ध स्थापित गराउनु आवश्यक छ ।
कानुनी उपचार र निवारणको बाटो
एआईको प्रयोगलाई सतप्रतिशत रोक्न त सकिन्न तर यसलाई नियमन गर्न सकिन्छ । शब्दको काटछाँट, पृष्ठभूमिको संगीत ट्र्याक बनाउने काम गरेपनि अन्तिम काम मानवशक्तिकै प्रयोगबाट गरिनुपर्छ । यसले गर्दा गीत संगीतको आत्मा मर्नपाउँदैन । स्टेज प्रस्तुती दिने गायक गायिकाले स्टेजबाट आम्दानी गर्न सक्ने भए पनि संगीतकार गीतकार र निर्माता डुब्ने हुन्छ । उनीहरूको प्रतिलिपिको अधिकारको सुनिश्चितता राज्यले गर्नुपर्छ ।
२०५९ सालको प्रतिलिपि अधिकार अब काम नलाग्ने भइसकेको छ । अब एआईको प्रभाव र असरको मसिनो गरि अध्ययन गरेर विश्वव्यापी रुपमा यसको नियमन कसरी गरिएको छ भन्ने कुराको पनि हामीले सिको गर्न सक्छौँ ।
हाललाई युटुब टिकटक लगायतका सामाजिक सञ्जाललाई कडाई गरेर पनि एआईको अनाधिकृत प्रयोगलाई रोक्न सकिन्छ । सरकारले एआईसँग सम्बन्धित ऐन बनाउने पनि भनेको छ यसमा गीत संगीतको यो ज्वलन्त समस्यालाई सम्बोधन गर्नका लागि सामूहिक दवावको खाँचो देखिन्छ ।
नेपालमा कलासँग सम्बन्धित थुप्रै संघ संस्थाहरू अस्तित्वमा छन् । तिनीहरूको सामूहिक प्रयासमा डिजिटल साक्षरता र एआईको अनाधिकृत प्रयोगको प्रभाव, असर र नियमनसँग सम्बन्धित सचेतना कार्यक्रम पनि चलाउन सकिन्छ । यसो गर्दा कसैले पनि मनलाग्दी कुनै पनि गीत संगीतलाई एआईको प्रयोग गरी वास्तविक गीत संगीतलाई तल पार्ने काम नगरोस् ।
सरकारले विद्यमान विद्युतीय कारोबार ऐन २०६३ लाई पनि समयानुकुल परिमार्जन गर्नुपर्ने देखिन्छ । बौद्धिक चोरीको हकमा अहिले भएको कानुन फितलो भएकोले यसको व्यापक परिमार्जन गर्नुपर्ने देखिन्छ । प्रविधिको प्रयोगलाई नियमन गर्न नसके यसले नेपाली संगीत, कला र साहित्यको क्षेत्रमा धेरै समस्या ल्याउन सक्छ ।
प्रतिक्रिया 4