+
+

मन्त्रीले शपथ छाडेर हिँड्न खोजे, खासखुसपछि फेरियो मन्त्रालय

हरि अधिकारी हरि अधिकारी
२०७८ माघ २३ गते १८:४६

२३ माघ, विराटनगर । तीन महिनासम्म सरकारलाई पूर्णता दिन नसकेको आलोचना खेपिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद् विस्तार गरे । तर मन्त्रिपरिषद् विस्तार पनि मुख्यमन्त्री राईका लागि सहज भने भएन ।

सत्तारुढ गठबन्धनलाई भाग पुर्‍याउन मन्त्रालय विभाजन गरेर १२ पुर्‍याउँदा तीव्र आलोचना खेपे । आइतबार बिहान शपथग्रहणका लागि जाने मुख्य सडक नेकपा एमाले युवा संघले छेक्यो, शपथग्रहण स्थलमा नवनियुक्त मन्त्रीले अप्ठयारोमा पारे ।

राईले आइतबार आफ्नो दल एकीकृत समाजवादी र नेपाली कांग्रेसबाट तीन–तीन जना, माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गरेका थिए । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आइतबार ११ बजे प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

करिब १ बजे शपथग्रहण समारोह सुरु भयो । प्रदेश प्रमुखको कार्यालयका कर्मचारीले शपथ लिने मन्त्रीहरुको नाम पढ्न थाले । त्यसक्रममा उनले ओमप्रकाश सरावगीलाई उद्योग श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी दिइएको बताए ।

कांग्रेस सांसद सरावगीले शपथ लिन नमानेपछि खासखुस गर्दै सांसदहरु ।

कांग्रेस सांसद सरावगी शपथका लागि तयार भएनन्, बरु समारोहबाट उठेर हिँडन खोजे । कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीले उनलाई रोकेर तत्काल मुख्यमन्त्रीसँग संवाद गरे । संवादका क्रममा उनले आफूले पाएको मन्त्रालयमा असन्तुष्टि जनाए । कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई कार्की र प्रमुख सचिव डाक्टर रामप्रसाद घिमिरे पनि त्यहाँ पुगे ।
उनीहरुबीच केहीबेर खासखुस भयो । त्यसपछि कार्यक्रम सञ्चालकले मन्त्रालय तलमाथि परेको भन्दै सच्याए । सरावगीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइयो । उनी शपथका लागि राजी भए ।

त्यसअघि यो मन्त्रालय प्रतापप्रकाश हाङ्गामलाई दिइएको थियो । हाङ्गामलाई सरावगीले लिन अस्वीकार गरेको उद्योग श्रम तथा रोजगार मन्त्रालय दिइएको छ ।

आफूले पाएको मन्त्रालयप्रति औंला ठड्याएर असन्तुष्टि जनाउँदै कांग्रेस सांसद ओमप्रकाश सरावगी ।

युवासंघको विरोध

आइतबार बिहान ११ बजे नयाँमन्त्रीको शपथग्रहण गर्ने जानकारी पाएपछि एमालेको राष्ट्रिय युवासंघको टोलीले प्रदेश प्रमुखको कार्यालय जाने बाटो अवरोध गरेको थियो ।

मन्त्रालय विभाजन गरेको विरोधमा शपथग्रहण रोक्नका लागि प्रदेश प्रमुखको बाटो छेकेको युवासंघका केन्द्रीय कोषाध्यक्ष मुकेश बुढाथोकीले जानकारी दिए । मन्त्रीहरु भित्री बाटो प्रयोग गर्दै प्रदेश प्रमुखको निवासमा पुगेका थिए ।

प्रदेशका मन्त्री : प्रधानपञ्चदेखि नेताका नातेदारसम्म

आइतबारको मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश १ मा मन्त्रिपरिषद् सदस्य संख्या १४ पुगेको छ, जसमा नेपाली कांग्रेसबाट पाँच, एकीकृत समाजवादीबाट चार, माओवादी केन्द्रबाट तीन र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन् ।

आइतबार मन्त्री बनेका राजन राई खोटाङ १ को ‘क’ बाट निर्वाचित एकीकृत समाजवादीका सांसद हुन् । नेकपा एमाले निकट अखिल हुँदै राजनीति सुरु गरेका उनी तत्कालीन नेकपा एमाले खोटाङको जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य र सचिव हुँदै नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । एमाले विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी रोजे । उनी एकीकृत समाजवादीको पोलिटव्यूरो सदस्य र प्रदेश १ उपाध्यक्ष छन् ।

खिनु लङ्वा लिम्बू सत्तारुढ गठबन्धनको एक मात्र निर्वाचित महिला सांसद हुन् । उनी इलाम क्षेत्र नम्बर १ को ‘क’ बाट निर्वाचित भएकी थिइन् । तत्कालीन नेकपा कोअर्डिनेसन केन्द्रको बाल रक्षा दल हुँदै राजनीति सुरु गरेकी लिम्बूले अखिलको राजनीतिमा लागेकी थिइन् । अनेमसंघ इलामको अध्यक्ष समेत भएकी उनी नेकपाको प्रदेश कमिटी सदस्य थिइन् । नेकपा एमाले विभाजनपछि एकीकृत सामाजवादी रोजेकी उनी केन्द्रीय सदस्य समेत हुन् ।

उपेन्द्र घिमिरे मोरङको क्षेत्र नम्बर १ को ‘ख’ बाट निर्वाचित सांसद हुन् र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग पारिवारिक साइनो पनि छ ।

ओमप्रकाश सरावगी उद्योगी हुन् । नेपाली कांग्रेसमा कृष्णप्रसाद सिटौला पक्षका उनको झापामा प्लाइउड, राइस मिल र चिया उद्योग छ ।

ताप्लेजुङका प्रतापप्रकाश हाङ्गाम समानुपातिक सांसद हुन् । पाँच पटक प्रधानपञ्च भएका उनी जिल्ला विकास समितिको सदस्य हुँदै उपसभापति बनेका थिए । अर्कामन्त्री शेखर चन्द्र थापा कांग्रेसका समानुपातिक सांसद हुन् । गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवका रुपमा काम गरेका मोरङको पथरीशनिश्चरेका थापा पेशाले शिक्षक थिए । कांग्रेसको तत्कालीन क्षेत्रीय सभापति बनेका उनी एक कार्यकाल जिल्लाको सहसचिव पनि बने ।

माओवादी केन्द्रबाट मन्त्री बनेका झलकसिंह मगर सशस्त्र विद्रोहका क्रममा जनमुक्ति सेनाको कम्पनी कमिसार थिए । झापा जिल्ला सचिव र इञ्चार्ज भइसकको उनी २०७४ को निर्वाचनमा झापाको ४ को ‘१’ बाट निर्वाचित भएका थिए ।

रामकुमार राई गोपाल किरातीले नेतृत्व गरेको किरात वर्कस पार्टी हुँदै माओवादी प्रवेश गरेका थिए । खोटाङ १ को ‘ख’ बाट निर्वाचित भएका उनले जिल्ला इञ्चार्ज भएर काम गरिसकेका छन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?