+
+

विदेशी मुद्रा सञ्चिति झन् घट्यो, अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक

रोयल आचार्य रोयल आचार्य
२०७८ माघ २६ गते १९:४०

२६ माघ, काठमाडौं । पछिल्ला दिनमा मुलुकको आर्थिक सूचकहरु थप नकारात्मक बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको पुस मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी अध्ययन प्रतिवेदनले अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक देखाएको छ ।
रेमिट्यान्स घट्ने क्रम निरन्तर देखिएको छ भने आयात उच्च छ भने निर्यातमा सुधार भएको छैन । जसले गर्दा विदेशी मुद्राको सञ्चिती घटेको छ र शोधनान्तर स्थिति घाटामा छ । तरलता अभाव कायमै छ ।

पुस मसान्तसम्ममा उपभोक्ता मुद्रास्फीतिमा भने मंसिरमा भन्दा थोरै सुधार देखिएको छ । मंसिरमा उपभोक्ता मुद्रास्फीति ७.११ प्रतिशत रहेकामा घटेर पुसम ५.६५ प्रतिशतमा झरेको छ ।
पुस मसान्तसम्म खाद्य भन्दा धेरै गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति बढेको छ । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.२३ प्रतिशत रहेको छ ।

२०७७ पुसको तुलनामा २०७८ पुसमा घिउ तथा तेलमा २१.२२ प्रतिशत, यातायातमा १४.०७, मदिराजन्य पेय पदार्थमा ११.३७ प्रतिशत, सुर्तीजन्य वस्तुमा १०.४८ र दाल तथा गेडागुडीमामा ९.२२ प्रतिशत मूल्यवृद्धि भएको छ । ठाउँ अनुसार हेर्दा सबैभन्दा धेरै मूल्यवृद्धि तराईमा देखिएको छ ।

विदेशी मुद्रा सञ्चिति दयनीय

पुस मशान्तको स्थिति हेर्दा भुक्तानी सन्तुलन झनै बिग्रिएको छ । एक देशले अर्को देशसँग गर्ने मुद्रा कारोबारको स्थिति भुक्तानी सन्तुलन हो । यसलाई शोधनान्तर स्थिति पनि भनिन्छ ।

आयातमुखी अर्थतन्त्र भएका मुलुकहरुमा शोधानान्तर स्थिति घाटामा जान्छ । पुस मशान्तसम्ममा शोधानान्तर स्थिति २४१ अर्ब २३ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२४ अर्ब ९२ करोडले बचतमा रहेको थियो ।

पुस मसान्तमा चालु खाता ३५४ अर्ब ७ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोडले घाटामा रहेको थियो ।

पुस मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १६.७ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले बताएको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति घटेर पुस मसान्तमा ११ खर्ब ६५ अर्ब ८० करोड रुपैयाँमा झरेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब १५ अर्ब ५९ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती १ खर्ब ५० अर्ब २१ करोड रुपैयाँ छ । विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितीले ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात गर्न मात्र पुग्ने राष्ट्र बैंकले बताएको छ ।

रेमिट्यान्सको ओरालो यात्रा

नेपाली अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्स पनि घट्ने क्रम निरन्तर चलिरहेको छ । विदेश गएका नेपालीले पठाउने रकम रेमिट्यान्स चालु आर्थिक वर्षको सुरुवाती महिनादेखि नै घट्ने क्रममा देखिएको थियो ।

गत साउनदेखि पुस मशान्तसम्म नेपालमा चार खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । जुन अघिल्लो वर्ष भन्दा ५.५ प्रतिशत घटेको हो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार ६ महिनामा एक लाख ६७ हजार ५१३ जनाले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि अघिल्लो वर्षको तुलनामा २९८.१ प्रतिशतले वृद्धि भई एक लाख ३० हजार २१२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

कर्जा लगानी आक्रामक, निक्षेप कम

कोरोना संक्रमणको त्रास कम भएपछि बैंकहरुमा लगानी योग्य रकम (तरलता) को अभाव देखिएको छ । मंसिर महिनासम्म पनि यो समस्या ठूलो समस्याको रुपमा थियो । यसको कारण भने बैंकहरुको आक्रामक कर्जा लगानी हो ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ११.४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा २८.० प्रतिशतले बढेको छ ।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १२.७ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २१.० प्रतिशतले बढेको छ ।

पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.५ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.६ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७७ पुस मशान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.३ प्रतिशत र १२.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.५ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १२.७ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशतले बढेको छ ।
उता निक्षेप संकलन वृद्धिदर भने निकै कम छ । पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ९.२ प्रतिशतले बढेको थियो ।

वार्षिक विन्दुगत आधारमा २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.५ प्रतिशतले बढेको छ । पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, वचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३०.३ प्रतिशत र ५४.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३३.६ प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो ।

सेवा आयमा भारी गिरावट

राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार सेवा आयमा ठूलो गिरावट देखिएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा खुद सेवा आय ४६ अर्ब १७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २८ अर्ब ५२ करोडले घाटामा रहेको थियो ।
गत साउनदेखि पुस मसान्तसम्म नेपालमा सेवा आय १० अर्ब २४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ अर्ब ३३ करोड रहेको थियो ।

यही अवधिमा भ्रमण व्यय ९५.८ प्रतिशतले वृद्धि भई २९ अर्ब ७२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय १७ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १५ अर्ब १८ करोड रहेकामा शिक्षातर्फको व्यय १२ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?