+
+

नेपालको भूराजनीतिक जटिलता र समृद्धिको सपना

राष्ट्रिय मामलामा हाम्रो आन्तरिक एकता कायम भएको छ, त्यतित्यति बेला बाह्य हस्तक्षेप कम भएको र आन्तरिक द्वन्द्व बढ्दा हस्तक्षेप पनि बढेको छ ।

डा. विक्रम तिमिल्सिना डा. विक्रम तिमिल्सिना
२०७८ फागुन ६ गते १०:२४

एक दशकको माओवादी द्वन्द्व, जनआन्दोलन–२ र अर्को एक दशकको शान्ति प्रक्रियामार्फत नयाँ संविधान हुँदै नेपाली समाज अगाडि बढिरहेको छ । यो प्रक्रियामा नेपाली राजनीतिको एउटा मूल नारा भएको छ– समृद्धि । तर समृद्धि कसरी सम्भव गराउन सकिन्छ भन्नेमा कुनै दलसँग न ठोस योजना देखिन्छ, न त्यसप्रति गम्भीर तयारी । समग्र राष्ट्र त्यस मार्गमा हिंडेको आभास दिलाउने केही राष्ट्रियस्तरको कार्यक्रम पनि देखिएको छैन । तर यसैबीच देश निरन्तर पेचिलो बन्दै गएको भूराजनीतिको भुमरीमा फस्दै गएको देखिन्छ ।

अर्थतन्त्र डामाडोल छ । आन्तरिक स्रोत साधारण खर्चकै लागि अपुग हुने स्थिति छ । छिमेक र अन्य प्रमुख दातृ राष्ट्रको विश्वास जितेर उनीहरूबाट लाभ लिने कुरामा भन्दा पनि उनीहरूलाई चिढ्याउन दल तथा तिनका नेता उद्यत देखिन्छन् । त्यसैले विद्यमान भूराजनीतिक अवस्थामा नेपाल समृद्धिको यात्रामा जाला या भूराजनीतिकै भुमरीमा फस्दै झनै संकटको बाटोमा जाला ? यसै भन्न सकिने स्थिति छैन । तर पछिल्लो चरणमा संकटको मार्ग बलियो बन्दै गएको आभास हुन थालेको छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा तथा विदेश मामिला विज्ञ जेम्स जे क्याराफानो भन्छन्, ‘आजको युगमा साना राष्ट्र शक्तिशाली राष्ट्रका भीमकाय पाङ्ग्राले कुल्चेर पिसिने बालुवा होइनन्, बरु तिनका लागि ‘साना’ राष्ट्रको ‘ठूलो’ महत्व छ ।’ उनी अगाडि थप्छन्, ‘भूराजनीतिमा शक्ति राष्ट्रका लागि अर्को कुनै देशको महत्व उसँग भएको हातहतियार र पैसाको परिमाणले होइन, उसको नक्साङ्कनले निर्धारण गर्दछ । हो, त्यही नक्साङ्कनको आधारमा शक्ति राष्ट्रका लागि नेपाल महत्वपूर्ण देश हो । ठूला राष्ट्रबीच चरम शक्तिसंघर्ष चलिरहेको अहिलेको जटिल भूराजनीतिको परिप्रेक्ष्यमा हाम्रो देशको रणनीतिक महत्व झनै बढेको छ । तर शक्ति राष्ट्रको लागि स्थापित भएको हाम्रो महत्वलाई सदुपयोग गर्न सके मात्र हामीलाई त्यो महत्वको अर्थ हुन्छ ।

हाम्रा दुवै छिमेकी शक्तिशाली देश भएकोले उनीहरूकै समृद्धितिरको यात्रामा सहयात्री बन्दै हामी पनि प्रगतिपथमा अघि बढ्न सक्छौं । तर नेपाल आफैं जिम्मेवार र होसियार हुन सकेन भने अरूको लागि बढेको हाम्रो महत्वको सिकार हामी आफैं नहौंला भन्न सकिन्न । परिवर्तित परिस्थितिमा हामीले हाम्रो भौगोलिक अवस्थितिको सदुपयोग गर्न सकेनौं भने पृथ्वीनारायण शाहले अठारौं शताब्दीमै भनेजस्तो दुई ढुङ्गाबीचको तरुलको नियति हुने सम्भावना पनि कायम छ ।
हामीसँग मूलतः दुई बाटा छन् । पहिलो, एउटा शक्तिराष्ट्रको स्वार्थका लागि अर्को विरुद्ध प्रयोग नहुने तर तिनका जायज रुचि सम्बोधन गरी उनीहरूको सहयोग लिएर आफ्नै लागि सदुपयोग हुने । दोस्रो, शक्ति राष्ट्रबीच एकअर्काका लागि प्रयोग भएर आफ्नो प्रगति मात्र होइन, अस्तित्व नै संकटमा पार्ने । गम्भीरतापूर्वक पहिलो विकल्पका लागि काम गर्नु नै देशको हित अनुकूल हुन्छ भनेर भनिरहन परेन ।

विशेषगरी विश्वकै महत्वपूर्ण शक्तिका रूपमा उदाइसकेको चीन र उदाइरहेको भारतबीच हामीले सन्तुलन कायम गरेर आफ्नो हित अनुकूल र दुवैको हित प्रतिकूल नहुने र नदेखिने गरी दुवैको विश्वास जितेर अघि बढ्नु नै नेपालसँग रहेको विवेकपूर्ण र लाभदायक विकल्प हो । यो विकल्पसँग गाँसिएर आउने अर्को महत्वपूर्ण पाटो हो, हाम्रो अमेरिकासँगको सम्बन्ध । यो पछिल्लो चरणमा एमसीसीमार्फत झनै नकारात्मक मोडतिर गइरहेको छ । समस्या नै यो हो कि सन्तुलन र समदूरीको विकल्पमा आजसम्म उल्लेख्य काम हुनसकेको छैन ।

हामी जटिल भूराजनीतिको एउटा केन्द्रमा छौं । तीन दिशामा एउटा विशाल लोकतान्त्रिक राष्ट्र छ भने अर्कोतिर भीमकाय कम्युनिष्ट मुलुक । दुवैको राष्ट्रिय सुरक्षा संवेदनशीलता हामीसँग जोडिएको छ । अर्थात् हामी दुई शक्तिराष्ट्रका राष्ट्रिय सुरक्षा स्वार्थका बीचमा छौं । विश्वकै महाशक्ति राष्ट्र अमेरिका पनि मूलरूपमा उसको चीन रुचिले हामीलाई आफ्नो राष्ट्रिय सुरक्षा स्वार्थकै दृष्टिले हेर्ने गर्दछ । यो नै हाम्रो लागि ठूलो अवसर र ठूलै चुनौती हो ।

सन् १९९९ मा चीनले आफ्नो विश्वव्यापी हुने रणनीति अनुरूप ‘बाहिर जाऊ नीति’ (गो आउट पोलिसी) अवलम्बन गरेपछि ऊ विश्वका अविकसित देश मात्र होइन, सम्पन्न राष्ट्रसम्म पनि आर्थिक लगानीका माध्यमबाट घुस्न थाल्यो । यसले उसको विश्वव्यापी कूटनीतिक प्रभाव विस्तारमा सहयोग पुग्यो । चीनले सन् २०१३ मा सुरु गरेको बीआरआई परियोजनाले उसको वैश्विक महत्वाकांक्षालाई अझ स्पष्ट र फराकिलो पारिदियो ।

दक्षिणएशियामा पछिल्लो दशकमा बीआरआई परियोजना र त्यसबाहेककै चिनियाँ प्रभाव विस्तारले समेत यस क्षेत्रमा नयाँ तरङ्ग नै ल्याइदिएको छ । यसबाट भारत र अमेरिका दुवै चिन्तित छन् । भारतले यस क्षेत्रमा चीनको विकल्पकै रूपमा आफूलाई उभ्याउन सकेको छैन, न त चीनको बढ्दो प्रभावलाई सहजताका साथ स्वीकार्न नै सकेको छ । यही भूराजनीतिक संघर्षको एउटा विन्दु नेपाल पनि हो ।

दक्षिणएशियाको भूराजनीतिक परिस्थिति जटिल बन्नुका पछाडि केही कारण छन् । भारत र चीनबीचको विद्यमान सीमा विवाद, भारतको दक्षिणएशियालाई आफ्नो विशेष प्रभाव क्षेत्र मान्ने मानसिकता, चीन त्यसलाई दह्रो चुनौती दिंदै प्रभाव विस्तारमा अघि बढेको परिस्थिति, चीनको बलियो आर्थिक कूटनीति र त्यसमा तुलनात्मक रूपमा कमजोर भए पनि भूराजनीतिक र कूटनैतिक हिसाबले भारत बलियै रहनु केही प्रमुख कारण हुन् ।

अझ अमेरिकाको यो क्षेत्रमा कायम रहेको रुचि, प्रभाव र उसको चीनसँगको द्वन्द्वात्मक सम्बन्धले यो संवेदनशीलतालाई बढाइदिएको छ । र, यो नै नेपाल जस्ता साना मुलुकको लागि ठूलो सुरक्षा चुनौती हुनगएको छ । त्यही चुनौतीलाई अवसरको रूपमा लिएर फाइदा लिनसक्ने सम्भावना पनि हामीसँगै छ । हामी यसबाट लाभान्वित हुनसक्ने कि नसक्ने ? यसको निर्धारण हामी मात्रै त गर्न सक्दैनौं तर हाम्रो सही नीति र त्यसको कार्यान्वयनले धेरै फरक पार्न सक्दछ ।

दुवै छिमेकीका नेपालमा आ–आफ्नै स्वार्थ हुने नै भयो । दुवैले नेपाललाई आफ्नो स्वार्थका लागि प्रयोग गर्न खोज्ने नै भए । उनीहरूको द्विपक्षीय द्वन्द्व कायम रहेको स्थितिमा हाम्रो देशले एउटाको स्वार्थ पूरा गर्दा अर्कोको स्वार्थमा धक्का लाग्न सक्छ । त्यसमा हामी होसियार हुनु आवश्यक छ । क्षणिक फाइदाको लागि हामीले एउटाको विरुद्ध अर्कोलाई प्रयोग गर्न सक्दैनौं, हुँदैन । गर्‍यौं भने दीर्घकालको लागि त्यो हाम्रो हित प्रतिकूल हुनेछ । त्यस्तो प्रतिकूल परिणाम हाम्रो देशले बेलाबेलामा यसअघि नै भोगेको पनि छ । त्यसैले एउटा छिमेकीको लागि अर्को छिमेकी विरुद्ध प्रयोग हुँदैनौं भन्ने हाम्रा साझा कटिबद्धता हुन् र त्यो कटिबद्धताप्रति उनीहरूमा विश्वास निर्माण गर्न आवश्यक छ ।

छिमेकीको सवालमा हामी समदूरीको व्यवहार गर्छौं भन्ने विश्वास हाम्रा छिमेकीमा निर्माण गर्न हामीले इमानदार प्रयास गर्नुपर्छ, गरिरहनुपर्छ । हामीले यो पनि स्थापित गर्नुपर्दछ कि उनीहरूको जस्तै हाम्रो पनि राष्ट्रिय स्वार्थ छ र त्यसको जगेर्ना गर्नु हाम्रो जिम्मेवारी हो । हामीले दुवैको उचित चासो सम्बोधन गरेर हाम्रो चासोको लागि काम गर्छौं भन्ने स्पष्ट सन्देश कुरो र कामबाट दिनु जरूरी छ । र यो प्रवृत्ति सरकारमा जुन दल आए पनि कायम रहन्छ भन्ने विश्वास दिलाउन सक्नुपर्छ ।

अहिले हामीप्रति छिमेकीको विश्वास कायम हुनसकेको छैन । त्यसमा हाम्रो मात्रै दोष त छैन, तर हाम्रो पनि दोष छ । पछिल्लो समय भारत सोचिरहेछ– नेपाल पूरै चीनपरस्त भएको छ । भारतसँग तत्काल केही समस्या देखिए पनि नेपाल बलियो रूपमा चीनमैत्री छैन र ऊ जतिबेला पनि भारतपरस्त नीतिमा लाग्न सक्छ भन्ने चीनमा संशय छ । यसको मतलब हामी हाम्रो राष्ट्रको लागि भन्दा पनि एकअर्काको विरुद्ध प्रयोग हुन सक्छौं भन्ने संशय दुवै छिमेकीमा छ । त्यो हाम्रो लागि समस्या हो । यसमा उनीहरूको आफ्नै द्वन्द्वको भूमिका पनि छ, तर हाम्रो आफ्नो प्रभावकारी भूमिका नहुँदा पनि समस्या समाधानउन्मुख हुनसकेको छैन ।

एउटा भूपरिवेष्टित र तुलनात्मक रूपमा सानो आकारको हाम्रो देशले त्यही विश्वासमा टेकेर नै समृद्धिको जग बसाउनु बुद्धिमत्तापूर्ण हुनेछ, नत्र खोक्रो राष्ट्रवादको हतियार त हाम्रा लागि प्रत्युत्पादक हुने निश्चितप्रायः छ ।

अमेरिकाको सवालमा आफ्नो हितअनुकूल हुने गरी एमसीसी कार्यान्वयनमा लैजानुपर्छ भन्ने भन्दा पनि यसले चीन रिसाउँछ भन्ने भाष्य यसैको एउटा उदाहरण हो । यदि एमसीसी आफ्नो हितअनुकूल छ भन्ने विश्वास भए त्यही विश्वासमा टेकेर चीनको विश्वास जित्न सकिने परिस्थिति निर्माण गर्न सकिने थियो । न हामीले चीनको विश्वास जित्न सकेका छौं, न त अमेरिकाको नै । एमसीसी परियोजना संसदबाट पारित गर्ने या नगर्ने भन्नेमा राजनीतिक रस्साकस्सी चलिरहँदा एक अमेरिकी मन्त्रीले यो परियोजना पारित नभए यसमा चीनको हात रहेको ठान्नेछौं भन्ने अभिव्यक्ति हामीप्रतिको अविश्वासको परिणति हो ।

हाम्रा अनेक कमजोरी छन् । हाम्रो आफ्नो राष्ट्रिय स्वार्थ पहिचानमा समस्या छ । राष्ट्रिय हितका मामलामा न बृहत् छलफल छ, न निश्चित विषयमा न्यूनतम राष्ट्रिय सहमति । दलगत लोकप्रियताको लागि छिमेकी र अमेरिकाजस्तो शक्ति राष्ट्र विरुद्ध समेत राष्ट्रवादको हतियार प्रयोग हुने गरेको छ भने कुनै नेता या दलको फाइदाको लागि हरेकजस्तो दलको निश्चित छिमेकपरस्त नीति रहेको देखिन्छ । एउटा छिमेकसँग विशेष सम्बन्ध, अर्कोप्रति अविश्वास विद्यमान देखिन्छ । यिनै समस्याले नेपालको भूराजनीतिक अवस्थितिको फाइदा उठाउन हामी असफल भएका छौं र अझै असफलतातिर धकेलिंदैछौं ।

हामीले हाम्रै इतिहास हे¥यौं भने जतिजति बेला राष्ट्रिय मामलामा हाम्रो आन्तरिक एकता कायम भएको छ, त्यतित्यति बेला बाह्य हस्तक्षेप कम भएको र आन्तरिक द्वन्द्व बढ्दा हस्तक्षेप पनि बढेको छ । तसर्थ अन्तर्राष्ट्रिय मामलामा हाम्रो राष्ट्रिय स्वार्थ के हो र यसको पूर्ति कसरी गर्ने भन्ने विषयमा न्यूनतम राजनैतिक समझदारी रह्यो भने हाम्रो आन्तरिक एकता पनि बलियो हुन्छ र हाम्रो छिमेक लगायत बाहिरी विश्वको हामीप्रतिको एकहदसम्म विश्वास पनि कायम रहन्छ । त्यही विश्वासको जगमा हामी दुई छिमेकीबीचको गतिशील पुल नै बन्न त सकौंला, नसकौंला तर उनीहरूको सहयोग र सद्भाव लिएर सफलताको मार्गमा अघि बढ्न भने अवश्य सक्नेछौं ।

एउटा भूपरिवेष्टित र तुलनात्मक रूपमा सानो आकारको हाम्रो देशले त्यही विश्वासमा टेकेर नै समृद्धिको जग बसाउनु बुद्धिमत्तापूर्ण हुनेछ, नत्र खोक्रो राष्ट्रवादको हतियार त हाम्रा लागि प्रत्युत्पादक हुने निश्चितप्रायः छ ।

तर दुर्भाग्य, पछिल्लो समय समृद्धि हाम्रो लागि एउटा राजनीतिक नारामा सीमित भएको छ । यो नीतिभन्दा पनि लोकप्रियतावादी रणनीति भएको छ । यो एउटा निराकार सपनाजस्तो भएको छ । त्यसैले पहिला त हाम्रो सन्दर्भमा समृद्धि के हो र यो कसरी आर्जन गर्न सकिन्छ, त्यो नै स्पष्ट हुनु जरूरी छ ।

वास्तवमा चीनबाट ल्याइएका हवाईजहाज र भारतबाट ल्याइएको रेल हाम्रो कमजोरीको राष्ट्रिय तस्वीर हो । यसबाट हामीले गम्भीरताका साथ सिक्नुपर्छ ।

यी प्रश्नको उचित र अर्थपूर्ण जवाफ हामीसँग नभएसम्म स्वदेशी या विदेशी स्रोतसाधन जति भए पनि समृद्धिको कुरा कोरा गफ मात्रै हुने निश्चित छ । समृद्धि सजिलो छैन । अल्पकालीन र दीर्घकालीन नीति बनाएर र त्यसको अविच्छिन्न प्रभावकारी कार्यान्वयन गरेर मात्र देश समृद्धितिर मोडिन सम्भव छ ।हाम्रा समृद्धिका आयाम के हुन्, समृद्ध हुन के हुनुपर्छ, के गर्नुपर्छ ? हाम्रा आफ्नै अलग सम्भावना के के हुन्, हाम्रा आवश्यकता के हुन् ? के हामी आफैं गर्न सक्छौं, के गर्न हामीलाई विदेशी सहयोग चाहिन्छ ? के हामीले छिमेकबाट आश गर्न सक्छौं ? केका लागि भारत सहयोगी हुन सक्छ, के चीनले गरिदिन सक्छ ? के गर्न हामीलाई अन्य देशको सहयोग चाहिन्छ ? हामीलाई केका लागि विदेशी आर्थिक सहयोग चाहिन्छ, के गर्न प्राविधिक सहयोग भए पुग्छ ? केका लागि हामीले कसबाट कति अनुदान अपेक्षा गरेका छौं र कति हामीलाई ऋण चाहिएको छ । विदेशी सहयोगको सदुपयोग हुने ग्यारेन्टी के हो र त्यसले हाम्रो अर्थतन्त्रलाई गुणात्मक दरमा बढोत्तरी गर्ने सुनिश्चितता कसरी गर्न सकिन्छ ?

हामीले स्रोतसाधन पाएर मात्र हुँदैन, त्यसको उचित व्यवस्थापन र प्रयोग गर्न सक्नुपर्छ । स्रोतसाधनले समृद्धि दिंदैन, स्रोतले त समृद्धिको आधार मात्र दिने हो । चीनबाट हवाईजहाज त ल्यायौं, तर जहाज आउँदासम्म त्यसको प्रयोग कहाँ कसरी गरेर नाफा कमाउने केही ठोस योजना बनेकै रहेनछ । फलस्वरूप जनताको करको दुरुपयोग भयो । भारतबाट रेल ल्याइयो तर न भौतिक पूर्वाधार तयारी अवस्थामा रहेछ, न कानुनी र व्यवस्थापकीय तयारी नै पूरा भएको रहेछ ।

रेलका डिब्बा नआइन्जेल त हामी कानमा तेल हालेर बसेको जस्तो देखियो । फलतः रेल अहिले पनि त्रिपाल ओढेर बसिरहेको छ । जब स्रोतसाधन त्रिपाल ओढेर बस्छ, यसले आर्थिक संकट ल्याउँछ, समृद्धि ल्याउँदैन । रेल ल्याएर पालले छोपेर राखेर समृद्धि आउँदैन, हवाईजहाज किनेर पार्क गरी राखेर पनि उन्नति हुँदैन । वास्तवमा चीनबाट ल्याइएका हवाईजहाज र भारतबाट ल्याइएको रेल हाम्रो कमजोरीको राष्ट्रिय तस्वीर हो । यसबाट हामीले गम्भीरताका साथ सिक्नुपर्छ ।

पहिलो, हाम्रो राष्ट्रिय सुरक्षा र समृद्धिको लागि हामीले छिमेकी र अन्य शक्तिराष्ट्रको विश्वास आर्जन गर्नु हाम्रो पहिलो प्राथमिकता हुनुपर्दछ । त्यसका लागि हामीले यो विश्वास निर्माण गर्नु आवश्यक छ कि हामी अरूको हैन, आफ्नै हितका लागि काम गर्छौं । र, सँगै यो पनि स्थापित गर्न आवश्यक छ कि हामी उनीहरूको हित विरुद्ध केही हुन नदिन प्रतिबद्ध छौं । अझ एउटाबाट लाभ लिन अर्को विरुद्ध लाग्ने छैनौं भन्ने विश्वास निर्माण गर्न इमानदार प्रयास आवश्यक भएको छ । त्यही विश्वासको आधारमा हाम्रा शक्तिशाली छिमेकी र अमेरिकालगायत अन्य शक्तिराष्ट्रसँग सहयोग लिन र सहकार्य गर्न आवश्यक छ ।

उनीहरूले जेका लागि, जसरी सहयोग दिन्छन्, त्यही लिने हैन । हाम्रो आवश्यकता र प्राथमिकताका आधारमा अनुदान, ऋण या लगानी भित्र्याई त्यसको सदुपयोग गर्नसके मात्र हामी सही मार्ग र समृद्धिको मार्गमा अघि बढ्न सक्षम हुनेछौं । नत्र हामी गरिबी र अभावको भुमरीमा मात्र होइन, जटिल भूराजनीतिको डरलाग्दो खेलमैदानमा परिणत हुनेछौं ।

लेखकको बारेमा
डा. विक्रम तिमिल्सिना

राजनीति, भूराजनीति तथा परराष्ट्र मामलामा रुची राख्ने तिमिल्सिना नेपालको शान्ति प्रक्रियामा शक्तिराष्ट्रको भूमिका बिषयमा अष्ट्रेलियाको ग्रिफिथबाट विद्यावारिधि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?