+
+

‘हजुर मुसुक्कै’ : एउटै म्युजिक भिडियोमा ३५ लाख लगानी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १३:४९

६ फागुन, काठमाडौं । हुन त नेपाली म्युजिक भिडियोको लगानीलाई बालुवामा पानी भनिन्छ । एकाधबाहेक अधिकांश म्युजिक भिडियोको लगानी बालुवामा पानीसरह नै हुने गरेको छ । तर पनि महंगो लगानीमा म्युजिक भिडियो निर्माण गर्ने क्रम बढ्दो छ । यसअघि १४-१५ लाख रुपैयाँसम्मको लगानीमा म्युजिक भिडियो निर्माण भएको सुनिन्थ्यो ।

गत आइतबार सार्वजनिक ‘हजुर मुसुक्कै’ बोलको गीतको भिडियोमा भने ३५ लाख रुपैयाँभन्दा बढी लगानी गरिएको छ । सम्भवतः यो एउटै म्युजिक भिडियोमा गरिएको हालसम्मकै महंगो लगानी हुनसक्छ ।

जीबी आग्रीको कथा तथा निर्देशनमा तयार भिडियोमा अभिनेता राजेश हमाल, अभिनेत्री निरुता सिंहको शीर्ष भूमिका छन् । त्यस्तै प्रिन्स विश्वकर्मा, प्रियना आचार्य, सुरवीर पण्डित लगायतको भिडियोमा अभिनय हेर्न सकिन्छ । भव्य सेट बनाएर दरबारभित्रको कथामा निर्माण गरिएको भिडियोमा ३५ लाख रुपैयाँभन्दा बढी लगानी भएको निर्देशक आग्रीले अनलाइनखबरलाई जानकारी दिए ।

‘तीन दिन तीन रात लगाएर छायांकन गरेका हौं । भिडियोमा स्टारकास्ट हुनुहुन्छ । उहाँहरुलाई कुनै कुरामा कम्प्रोमाइज गरेनौं । त्यसरी काम गर्दा ३५ लाखभन्दा बढी नै लगानी भयो,’ निर्देशक आग्रीले भने ।

उनले सुरुवातमा भने त्यति लगानी हुन्छ भन्ने नसोचेको बताए । बढीमा २० लाखसम्म लगानी होला भन्ने सोचेपनि ‘कम्प्रोमाइज’ नगरी काम गर्दा लगानी बढेको बताए ।

उनी आर्थिकको कुरामा धेरै शुभचिन्तकहरुले सहयोग गरेको भएर प्रोजेक्ट सम्भव भएको समेत बताए ।

आफूहरुले लगानी उठाउने अपेक्षाले काम नगरेको उनी बताउँछन् । ‘यसमा लगानी उठ्ला र कमर्सियल बनाउँला भन्ने चाहना नै होइन,’ उनी भन्छन्, ‘नाचगानका धेरै भिडियो आए । हामीले फरकखालको राम्रो पोजेक्ट बनाऔं भन्ने सोचले काम गरेका हौं ।’ उनी अहिले श्रोता-दर्शकले दिएको प्रतिक्रियाले आफू सन्तुष्ट रहेको बताए । जीबीले आफूले चलचित्रका लागि तयार पारेको कथाको सानो भागलाई लिएर म्युजिक भिडियो निर्माण गरिएको बताए ।

नेपाल बाइसे-चौबीसे राज्य हुँदा पश्चिमको एक राज्यका राजखलकका दुई पुस्ता र बादी समुदायका नचनियाबीचको प्रेमलाई भिडियोमा देखाइएको छ । जातपात, उचनीचलाई लिएर राजामा आएको परिवर्तनको कथा भिडियोमा हेर्न सकिन्छ । सुरेश अधिकारीको शब्द तथा संगीत र श्यामश्वेत रसाइलीको एरेन्ज रहेको यस गीतमा रचना रिमाल र कृष्ण विकले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफी, सञ्जय लामाको छायांकन रहेको भिडियोलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियो ट्रेन्डिङको शीर्ष दुई स्थानमा छ । शुक्रबार दिउँसोसम्म भिडियोलाई १३ लाख ६० हजार बढीले हेरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?