+
+

किसानलाई पठाउने मौसमसम्बन्धी सूचनामा सुधार गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १० गते १२:४८

१० फागुन, काठमाडौं । किसानलाई विशेष जानकारीसहित स्पष्ट रुपमा मौसमसम्बन्धी सूचना प्रवाह गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले निर्देशन दिएको छ । मौसमी अवस्थाबारे सल्लाह दिने मन्त्रालय मातहतको दुई निकाय नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रलाई मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

धेरै अन्नबाली उत्पादन हुने तराईका २६ जिल्लाका ३० हजार किसानलाई मोबाइलमा एसएमएसमार्फत पठाइने यस्तो सूचना विशेष जानकारीसहित स्पष्ट बनाउन निर्देशन भएको मन्त्रालयका सचिव गोविन्द शर्माले जानकारी दिए ।

‘मौसमी अस्पष्ट सूचनाका कारण गत असोज अन्तिम साता किसानको पाकेको धानमा अधिक असर देखिए पछिसुधार गर्न भनेका हौं,’ सचिव शर्माले भने । अबदेखि सम्भावित प्रलयको विशेष जानकारी दिइने उनको भनाइ छ ।

मन्त्रालय मातहतका निकायको दोधारे सूचनाको भरपर्दा असोज २८ देखि कात्तिक ४ गतेसम्म परेको बेमौसमी वर्षाले पाकेको धानमा ठूलो क्षति पुर्‍याएको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद्को सल्लाहमा राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम बुलेटिनमा हल्कादेखि भारी वर्षा हुने अनुमानको सूचना जारी गर्दै किसानलाई पाकेको धान पनि भित्र्याउन एसएमएस पठाएको थियो ।

अस्पष्ट सूचनाका आधारमा धान काटेको किसान असोज ३१ गतेदेखिको निरन्तर वर्षातको मारमा पर्दा कुल उत्पादनको झण्डै ८ प्रतिशत क्षेत्रफलको धानमा क्षति पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?