+
+

धानमा ठूलो क्षति भोगेका किसानले पाएनन् भारी वर्षाको सूचना

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ कात्तिक ३ गते १९:२७

३ कात्तिक, काठमाडौं । बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति भोगेका किसानले मौसमबारे समयमा सही सूचना नपाएको देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको नेपाल कृषि अनसुन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले किसानलाई कृषि मौसमबारे सूचना दिन्छन् ।

तर यी निकायले पछिल्लो हप्ता जारी गरेको मौसम बुलेटिन अस्पष्ट छ । असोज २८ गते बिहीबार मौसमी सारांश भन्दै राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कात्तिक ४ गतेसम्मका लागि मौसम बुलेटिन सार्वजनिक गरेको थियो ।

जसमा भनिएको थियो ‘मौसममा बदली हुनेछ तर साताको अन्तिम अर्थात कात्तिक ३ गते बुधबारदेखि मात्रै देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना छ ।’ ५ बुँदे बुलेटिनको सारांशमा उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिए पनि केही स्थानमा मात्र भारी वर्षा हुने भनिएको थियो र हावाहुरीबारे उल्लेख गरिएको थिएन ।

प्रदेश १ मा साताको शुरुमा आंशिक बदली हुने र एक/दुई स्थानमा हल्का हिमपात, साताको मध्यमा आंशिकदेखि सामान्य बदली रहने र केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने अनुमान गरिएको थियो । त्यसैगरी साताको अन्तिममा सामान्यदेखि पूर्ण बदली रहने र उच्च हिमाली तथा पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना औंल्याइएको थियो ।

यस्तै सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा साताको अन्त्यमा भारी हिमपातको सम्भावना औंल्याइएको थियो । देशका पहाडी भेगमा साताको शुरुमा आंशिक बदली रहने, प्रदेश १ र बागमतीका केही स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा, साताको मध्यमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आकलन गरिएको थियो ।

साताको अन्त्यमा सामान्यदेखि पूर्ण बदली रहने धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र प्रदेश १ का थोरै स्थानमा भारी वर्षा र प्रदेश १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको थियो । जबकी यी भेगमा साताको मध्यमै भीषण वर्षाले धानबालीमा ठूलो क्षति पुर्‍याएको छ ।

देशका तराई भेगमा साताको शुरुमा (शुक्रबार शनिबार) आंशिक बदली रही एक/दुई स्थानमा हल्का वर्षा, मध्यमा (आइतबार, सोमबार र मंगलबार) आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र साताको अन्त्यमा (बुधबार, बिहीबार) सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको साथै सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, वागमती, प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा भारी वर्षाको सम्भावना देखिने अनुमान गरिएको थियो ।

‘अनुकुलता हेरेर धान भित्र्याउनू’

मौसम बुलेटिनमा सामान्यदेखि भारी वर्षाको पूर्वानुमान गरेको केन्द्रले किसानलाई एक वाक्यमा दोधारे सुझाव दियो । साताभरि नै भारी, मध्यम र सामान्य वर्षा हुन्छ भनेको केन्द्रले धान काट्ने, नकाट्ने वा भित्र्याउने सम्बन्धमा स्पष्ट सुझाव आफ्नो सूचनामा लेखेको छैन ।

बुलेटिनमा लेखिएको छ, ‘आगामी साताका अधिकांशदेखि धेरै भूभागहरुमा हल्कादेखि भारी वर्षाको सम्भावना भएकोले पाकेको धानलाई मौसमको अनकुुलता हेरी भित्र्याउनू ।’

जलवायु प्रकोप समुत्थान निर्माण राष्ट्रिय आयोजना निर्देशक शिवनन्दन प्रसाद साह ।

जलवायु प्रकोप समुत्थान निर्माण राष्ट्रिय आयोजना निर्देशक शिवनन्दन प्रसाद साहका अनुसार जल तथा मौसम पूर्वानुमान महाशाखाले दिएको सूचनाका आधारमा उक्त सूचना किसानलाई पठाइएको हो ।

धेरै धान उत्पादन हुने तराईका २६ जिल्लाका ३० हजार किसानलाई मोबाइलमा उक्त एसएमएस पठाइएको साहले बताए । ‘मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान र त्यसको कृषिमा पर्न सक्ने असरबारे राष्ट्रिय कृषि अनुसन्धान परिषद्का वैज्ञानिकले तय गरेको भाषा किसानलाई पठाइएको हो,’ साहले भने । आफूहरुले मौसमको सम्भावनामात्रै बताउने तर ग्यारेन्टी गर्न नसक्ने उनको भनाइ छ ।

किसानले बुझेनन् ‘एसएमएस’

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र विश्व बैंक लगायतको दातृ निकायको सहयोगमा सञ्चालित यो आयोजनाले मौसमी प्रतिकुलता र कृषि उपज बचाउने उपायसम्बन्धी जानकारी वेबसाइटमा साप्ताहिक रुपमा प्रकाशित हुने बुलेटिन, मोबाइल एप र एसएमएसबाट किसानलाई दिने गरेको छ ।

तर, लामो समयदेखि वेबसाइट नियमित अपडेट छैन । सन् २०१९ को सेप्टेम्बरयता केन्द्रको फेसबुक पेज पनि अपडेट छैन भने वेबसाइटमा पछिल्लो सूचना तथा जानकारी २०७६ सालको दशैंमा व्यक्त गरिएको शुभकामना सन्देश मात्रै छ ।

केन्द्रका प्रमुख साहका अनुसार अहिले नियमित भनेको मौसमबारे जानकारी दिने एसएमएसमात्रै हो । ‘किसानहरु मोबाइल एप, वेबसाइट चलाउन नजान्ने र एसएमएस पनि प्राविधिक कुरा भएकाले बुढाबुढी किसानले बुझेनन् यसपटक यस्तै कमजोरी भयो,’ साहले भने ।

तपाईंहरुले पानी पर्छ भनी तोकेको समय त मिलेन नि भन्ने जिज्ञासामा साहले भने, ‘यो विषय शंकाको घेरामा छ, हाम्रो मौसम पूर्वानुमान गर्ने प्रणालीको विश्वसनीयतामा निखार जरुरी छ ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?