+
+

दी हन्ड्रेड क्रिकेटमा सन्दीप क्लबबाट रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १५:०३

११ फागुन, काठमाडौं । इंग्ल्याण्डमा आयोजना हुने दी हन्ड्रेड क्रिकेटको नयाँ सिजनका लागि नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई उनको क्लबले रिलिज गरिदिएको छ ।

पहिलो सिजनमा ओभल इन्भिन्सिबल्समा ६० हजार पाउण्डमा अनुबन्ध भएका उनलाई क्लबले रिलिज गरिदिएको हो । पहिलो सिजन पनि उनले भिसा समस्याका कारण इंगल्याण्डमा क्रिकेट खेल्न पाएका थिएनन् ।

ओभलले नयाँ सिजनका लागि इंग्ल्याण्ड टेष्ट टिमका साम कुरान र रोरी बर्नसहित इंग्ल्याण्डकै जासो रोए, साम बिलिङ्स, टम कुरान, विल ज्याक्स, साकिब महमुद, रिस टोपले, जोर्डन कक्स र नाथन सोवटरलाई रिटेन गरेको छ ।

यस्तै, सन्दीपसहित सुनिल नारिन, कोलिन इनग्रा, ताबरेज शाम्सी, एलेक्स ब्लेक, जोर्डन कक्स, लाउरी इभानस र ब्रान्डन ग्लोभरलाई रिलिज गरेको छ । अब सन्दीपले दी हन्ड्रेड क्रिकेट खेल्न अक्सन (खेलाडीको बोलकबोल) मा सहभागी हुनुपर्नेछ । त्यहाँ कुनै क्लबले लिएमा मात्र उनी प्रतियोगिता खेल्न पाउनेछन् ।

दी हन्ड्रेड क्रिकेट आगामी अगष्ट ३ देखि सेप्टेम्बर ३ सम्म हुने तालिका छ । सो प्रतियोगिताका लागि ग्लेन म्याक्सवेल, फाप डु प्लेसिस र एडम मिल्नेसहित ७ विदेशी खेलाडी रिटेन भएका छन् ।

मार्च ३० मा हुने खेलाडी ड्राफ्टबाट सहभागी टिमले अब १७ विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन् ।

इंगल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (इसीबी) ले दोस्रो सिजनको प्रतियोगिताका लागि सहभागी टिमहरूले रिटेन गरिएको खेलाडीको सूची सार्वजनिक गरेको छ । एक टिमले बढीमा १० जनासम्म खेलाडी रिटेन गर्न पाउने प्रावधान थियो ।

यसभन्दा अघि भएको प्रतियोगितामा म्याक्सवेलले अष्ट्रेलिया फर्कनको लागि आवश्यक पर्ने क्वारेन्टिन नियमका कारण लण्डन स्प्रिटबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

डु प्लेसिस भने चोटका कारण कारण नर्थन सुपरचराजर्सको टिमबाट बाहिरिएका थिए । दुवै खेलाडी २०२२ को सिजनमा भने खेल्ने भएका छन् ।

यस्तै न्युजिल्याण्डका एडम मिल्नेले बर्मिङ्घम फोनिक्सका लागि उत्कृष्ट प्रदर्शन गर्दै १२ विकेट लिएका थिए ।

यी तीन बाहेक ट्रेन्ट रकेट्सले रासिद खान र मर्चेन्ट डे लाङ तथा साउदर्न ब्रेभले मार्कुस स्टोइनिस र टिम डेभिडलाई विदेशी खेलाडीको कोटामा रिटेन गरेको छ ।

अब मार्चमा हुने ड्राफ्टबाट थप १७ विदेशीसहित कूल ४० खेलाडी छनोट हुनेछन् । हरेक टिमले भाइटिलिटी ब्लास्टको समूह चरणपछि वाइल्ड कार्डबाट पनि खेलाडी राख्न सक्नेछन् ।

दी हन्ड्रेड क्रिकेटमा कूल ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसमा हरेक टिमले पहिलो रोजाइँमा ३ विदेशी खेलाडी एकसाथ मैदानमा खेलाउन पाउनेछन् ।

तर, चौथो विदेशी खेलाडी पनि ब्याक अपको रुपमा अनुबन्ध गर्न पाउनेछन् ।

हन्ड्रेडको पुरुषतर्फको प्रतियोगिताका लागि यस सिजन तलबमा २५ प्रतिशत वृद्धि गरिएको छ । आदिल रासिद, ज्यासन रोए र लिएम लिभिङस्टोनले सबैभन्दा धेरै १ लाख २५ हजार पाउण्ड पाउने खेलाडीमा पर्छन् ।

यस्तै, डेभिड विली, विल ज्याक्स, लुक उड र ह्यारी ब्रुक्सको पनि तलब वृद्धि भएको छ । आयोन मोर्गान, रवि बोपारा, एडम लायथ र टम अबेलको भने तलब घटेको छ ।

इंग्ल्याण्डको सम्झौतामा रहेका टेष्ट खेलाडीहरू भने २०२१ मा जुन टिममा थिए त्यही टिममा नै यथावत रहेका छन् ।

हरेक टिमले ड्राफ्टबाट राइट टु म्याच (आरटिएम) कार्ड प्रयोग गरी यसअघि आफ्नो टिममा रहेका एक खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

साउदर्न ब्रेभले आरटीएम प्रयोग गरी क्वेन्टन डी ककलाई अनुबन्ध गर्न सक्नेछ । यस्तै ओभल इन्भिन्सिबल्सले पनि सुनिल नारिनका लागि त्यही गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?