+
+

१० रुपैयाँ बचतबाट सुरु भएको जाल्पा लघुवित्त

रोयल आचार्य रोयल आचार्य
२०७८ फागुन १२ गते १२:३३
दाङमा संस्थाका सदस्यहरुको बैठक ।

१२ फागुन, काठमाडौं । एकताका देशमा लघुवित्त वित्तीय संस्थाहरुको संख्या झण्डै एक सय पुगिसकेको थियो । ग्रामीण भेगमा वित्तीय पहुँच पुर्‍याउन तत्कालीन गभर्नर डा. चिरञ्जीवि नेपालको कार्यकालमा नेपाल राष्ट्र बैंकले लघुवित्त संस्था स्थापनाका लागि धमाधम लाइसेन्स दिएको थियो ।

पछिल्ला वर्षहरुमा भने लघुवित्त वित्तीय संस्थाको संख्या घट्दो क्रममा छ । कति संस्था बलियो बन्न मर्जरमा गएका छन्, कतिपय मर्जर प्रक्रियामा छन् । गत कात्तिकमा महिला सामुदायिक लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक वित्तीय संस्था मर्ज भएर बनेको जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको कार्यकारी नेतृत्वमा विमला योगी छिन् ।

सञ्चालनमा रहेका ७० भन्दा बढी लघुवित्त संस्थामध्ये उनी एकमात्र महिला कार्यकारी प्रमुख अधिकृत (सीईओ) हुन् । उनको संस्थाले गत माघ अन्तिम साता सर्वसाधारणका लागि ५ लाख २२ हजार आईपीओ जारी गर्‍यो ।

सफल संस्थाको रुपमा चिनिने जाल्पा सामुदायिक लघुवित्तको सुरुवाती अवस्था बुझ्न भने ३ दशक अघि पुग्नु पर्छ । यो संस्था सामुदायिक संस्थाबाट सुरु भएर वित्तीय संस्था बनेको हो । यो संस्थालाई यहाँसम्म ल्याउन पूर्व शिक्षिका विमला योगीको विशेष भूमिका छ ।

२०४६ सालको राजनीतिक परिवर्तनपछिको परिवेश सम्झँदै उनी भन्छिन्, ‘अब हामीले पनि केही न केही नयाँ गर्नैपर्छ भन्ने सोच आयो अनि कलेज पढिरहेका दिदीबहिनी मिलेर नेपाल महिला सामुदायिक सेवा केन्द्र खोल्यौं ।’

दाङमा स्थापना भएको उक्त सामाजिक संस्थाको संस्थापक अध्यक्ष विमला योगी आफैं भइन् । संस्था दर्ता भने २०५० सालमा भयो । महिला हकअधिकारका विषयमा बहस चलाउने भनेर खुलेको संस्थाले महिला आत्मनिर्भरता, क्षमता लगायत विषयमा समेत काम सुरु गर्‍यो ।

माओवादीको बिद्रोहकालमा पनि संस्था सक्रिय रह्यो । सल्यान, प्यूठान, रोल्पा जिल्लाका गाउँगाउँमा पुगेर महिलाहरुलाई तालिम दियो । ‘त्यसरी गाउँगाउँका महिलाहरुको आवश्यकता बुझेर लघुवित्त कार्यक्रम सुरु गर्ने योजना बनायौं’ योगी भन्छिन् ।

सामुदायिक संस्था रहँदा सदस्यहरुबाट मासिक १० रुपैयाँ बचत गर्ने गरिएको थियो । त्यति बचतबाट उद्यमशीलताका लागि कसैलाई रकम दिन पुग्दैनथ्यो । सामाजिक संस्थाले व्यावसायिक कारोबार गर्न पनि मिल्दैनथ्यो । ‘हामीले केही न केही त गर्नै पर्ने थियो’, योगी भन्छिन्, ‘अनि लघुवित्त कारोबार गर्न स्वीकृतिका लागि राष्ट्र बैंक पुग्यौं ।’

त्यसरी संस्थाले २०६० सालबाट लघुवित्तको काम थाल्यो । १० रुपैयाँ मासिक बचतबाट सुरु भएको संस्थाले अहिले ४ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको छ । संस्थामा ५० प्रतिशत भन्दा धेरै अर्थात् २ अर्ब ३५ करोड रुपैयाँ बचत महिलाहरुको छ ।

महिलाहरुलाई आत्मनिर्भर बनाउन संस्थाले बाख्रा वितरण गर्दै ।

विभिन्न आरोहअवरोह पार गर्दै संस्था यहाँसम्म आइपुग्नुमा तिनै दिदीबहिनीको योगदान रहेको सीईओ योगी बताउँछिन् । ‘अहिले हामीले जारी गर्ने आईपीओको जग तिनै दिदीबहिनीले हिजो गरेको बचत हो,’ उनी भन्छिन्, ‘यो सफलता ती सबै महिलाको हो ।’

दाङको घोराहीमा केन्द्रीय कार्यालय राखेर सेवा प्रवाह गरिरहेको महिला सामुदायिक लघुवित्त र कास्कीको पोखरामा केन्द्रिय कार्यालय रहेको जाल्पा लघुवित्त गत कात्तिकमा मर्ज भएको थियो । मर्जर पछि संस्था झन् बलियो बनेको सीईओ योगी बताउँछिन् ।

संस्थाका करिब १ लाख सदस्यमध्ये ६१ प्रतिशतले ऋण लिएर उद्यम गरिरहेका छन् । २८ जिल्लामा संस्थाको सेवा पुगेको छ । लघुवित्तहरुले ऋण असुलीमा अव्यवहारिक निर्णय गर्ने गरेका समाचारहरु आउने गरेका छन् । आफूहरुले भने बचत र ऋण असुलीसँगै सदस्यहरुलाई उद्यमशील बनाउन विशेष काम गरिरहेको सीईओ योगी बताउँछिन् ।

‘ऋण असुलीमा लघुवित्तहरु क्रुर छन् भन्ने समाचारहरु आउने गरेका छन्’, उनले भनिन्, ‘हाम्रो चाही चाहना त्यस्तो नहोस् भन्ने हो ।’

कृषिको परम्परागत सीप र ज्ञानलाई परिमार्जन गर्दै आधुनिक बनाउने तालिम दिएपछि संस्थाका सदस्यहरु तरकारी, दूध र मासु उत्पादनमा सफल भएको उनले बताइन् । ‘सीमान्तकृत, गरिब, दलित भनेर हेपिएका महिलाहरु अहिले उद्यमशील बनेर आर्थिक–सामाजिक रुपमा बलियो बनेका छन्’, उनी भन्छिन् ।

सल्यानमा संस्थामा आबद्ध महिलाहरु सीप सिक्दै ।

उनका अनुसार, संस्थाका सदस्यहरुको उत्पादन बजार पुर्‍याउन नाफारहित अर्को कम्पनी दर्ता गरिएको छ । कोरोना महामारीमा सबैखाले उद्योग–व्यवसाय समस्याग्रस्त बन्दा आफ्नो संस्थाका उद्यमीहरुको कारोबार सजिलै चलेको योगीले बताइन् ।

महामारीको बेला हाम्रै संस्थाका सदस्यहरुले बनाएको ६० हजार वटा मास्क अफ्रिका पुगेको उनले बताइन् । ‘अर्को कुरा, हिजो औपचारिक शिक्षा लिन नपाएका हाम्रा सदस्यका छोराछोरी आज ब्याचलर, मास्टर्स तहमा छन्’, सीईओ योगी भन्छिन्, ‘२८ जना त हाम्रै संस्थामा शाखा प्रवन्धक तहमा जागिरे छन् । यो खुसी शेयर गर्न पाउँदा मलाई एकदमै गर्व लागिरहेको छ ।’

भिडियो र तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?